काठमाडौं- अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । त्यहाँ दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन् । यो जनसङ्ख्या देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हो ।
करिब ९७ प्रतिशतभन्दा बढी अफगानहरू खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसंघले जनाएको छ । गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको मूल्य अकासिएको छ ।
अफगान अखबारको रिपोर्टले विश्व बैंकको प्रतिवेदनलाई उद्धृत गर्दै तालिबानले सत्ता कब्जा गरेपछि अफगान जनताको आम्दानी लगभग एक तिहाइले घटेको देखाएको छ ।
मार्च २०२२ मा अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले राजधानी काबुलमा ३ लाख ७६ हजार १ सय ३९ जना मानिसहरूलाई आर्थिक र खाद्य सहायता प्रदान गरेको देखाएको छ ।
विश्लेषकहरूले औँल्याएअनुसार धेरैजसो अफगानहरूका लागि पछिल्लो ईद उल–फित्र परिवारलाई यथेष्ट भोजनको व्यवस्था गर्नु सङ्घर्षपूर्ण रह्यो ।
तालिबानको इस्लामिक इमिरेट्स अफ अफगानिस्तान सरकारलाई अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट अलग गरिएको छ । अगस्टमा काबुलको पतन र अमेरिकी सैनिक फिर्ता भएपछि अफगानिस्तानको तालिबान सरकार अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट एक्लिएको छ ।
जसले गम्भीर आर्थिक सङ्कट, गरिबी र स्वास्थ्य सेवा लगायत आवश्यक सार्वजनिक सेवाहरूको पहुँच गुमाएको छ ।
प्रतिक्रिया