काठमाडौं– आज दिनभर एसपीपीमा आबद्ध नहुने नेपालको निर्णय, नागरिकता विधेयक पारित गर्न सरकार प्रयत्नशील, न्यायाधीश राजकुमार कोइराला निलम्बन लगायतका समाचार चर्चामा रहे । यी हुन् आजका शीर्ष समाचारहरुः
नेपालले अमेरिकालाई स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणका अनुसार एसपीपीमा आबद्ध नहुने भनी मन्त्रिपरिषदले गरेको निर्णय परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई पठाइएको हो । रक्षामन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट राष्ट्रिय सभामा जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले एसपीपी अघि नबढाउन सरकारले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिए ।
मन्त्रिपरिषद्को असार ६ गतेको बैठकले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको थियो ।
नागकिरता विधेयक सदनबाट पारित गराउन सरकार प्रयत्नशील छः खाँड
गृहमन्त्री खाणले नागकिरता विधेयक छिटो सदनबाट पारित गराउन सरकार प्रयत्नसशिल रहेको बताएका छन्।
विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाणले विधेयक अघि बढाउने सन्दर्भमा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग छलफल भइरहेको र यसलाई छिटो सदनबाट पारित गराउन सरकार प्रयत्नसशिल रहेको बताएका हुन् ।
उनलेहाल नागरिकता प्राप्त गर्न नसकेका युवाका बारेमा केही सिफारिसपत्र तयार पारेर उनीहरूलाई नागकिरले प्राप्त गर्ने सवै अधिकार प्रदान गर्न लागिएको पनि बताए ।
गृहमन्त्री खाणले डडेलधुराकी जमरानीया आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत अस्मिता धामीको मृत्युको घटनामा अनुसन्धान जारी रहेको सदनलाई जानकारी दिए ।
यस्तै निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीको लामो समयदेखि खोजी कार्य भइरहेको र प्रहरीले बहुआयामिक ढङ्गले अनुसन्धान गरिरहेको उनले बताए ।
साथै उनले विपद् व्यवस्थापनसम्बन्धी आवश्यक तयारी गरिएको र पूर्व तयारी, उद्धार, राहत तथा पुनःस्थापनका लागि सवै निकायलाई तयारी अवस्थामा राखिएको जानकारी दिए ।
मन्त्री खाणले संसद्, कूटनीतिक नियोग, प्रधानमन्त्री, राष्ट्रपतिको कार्यालयसहति संवेदनशील निकाय रहेकाले कुनै झन्झट नहोस् भनेर सङ्घीय सरकारले नै सुरक्षा लिनुपर्ने आवश्यकता रहेको बताए ।
समानुपातिकतर्फ कैदीबन्दीको मतदाता नावामली संकलन गर्न अन्तरिम आदेश जारी
सर्वोच्च अदालतले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ कैदीबन्दीको मतदाता नामावाली सङ्कलन तथा अध्यावधिक गर्न अन्तरिम आदेश गरेको छ ।
न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले शुक्रबार सरकारको नाममा सो अन्तरिम आदेश गरेको हो ।
२०६४ साल र २०७० साल पहिलो र दोस्रो संविधानसभा सदस्य निर्वाचनमा सरकारी सरकारी कार्यालय, स्थानीय निकाय वा नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी, सैनिक वा प्रहरी ब्यारेकमा रहेका व्यक्ति वा तत्कालीन अवस्थामा अस्थायी शिविरमा रहेका माओवादी सेनाका लडाकु, कारागारमा रहेका कैदी वा थुनुवाको नाम अस्थायी मतदाता नामावलीमा समावेश गरिएको र मतदान अधिकार दिएको आदेशमा जानकारी गराइएको छ ।
न्यायाधीश राजकुमार कोइराला निलम्बनमा
घुस लेनदेन वार्तामा संलग्न भएका आरोपमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बनमा परेका छन् ।
न्यायाधीश कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको भनिएको टेलिफोन संवादको घटनामा तथ्य छानबिनका लागि न्याय परिषद्ले समिति गठन गरेको थियो । छानबिन समितिको गठनसम्बन्धी सूचना आज राजपत्रमा प्रकाशित भएसँगै न्यायाधीश कोइराला निलम्बनमा परेका हुन् ।
परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिलाई जाँचबुझ शुरु गरेको ४५ दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) को नियुक्तिको रिट आज पनि हेर्दाहेर्दैमा
प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह नियुक्ति विरुद्धको रिट आज पनि हेर्दा हेर्दैमा राखिएको छ ।
सर्वोच्चमा सुनुवाइ भइरहेको सो मुद्धाको सुनुवाई असार १९ सम्मका लागि सारिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासले सो मुद्द हेर्दाहेर्दैमा राखेर अर्को सुनुवाइ १९ असारमा तोकेको छ ।
सरकारले आफूभन्दा कनिष्ठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई प्रहरी महानिरीक्षक नियुक्त गरेको भन्दै अर्का एआईजी पोखरेलले गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
साउन २० गतेसम्ममा पोखरेलको पक्षमा आदेश नआए उनले अवकाश पाउनेछन् ।
राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित
राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित भएको छ । राष्ट्रिय सभाको आज बसेको बैठकले विनियोजन विधेयक बहुमतले पारित गरेको हो ।
प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो । असार २ गते प्रतिनिधिसभाले विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको थियो ।
प्रतिनिधिसभाबाट पारित भएर गएको विनियोजन विधेयकलाई राष्ट्रिय सभाको बैठकले पनि बहुमतले पारित गरेको हो ।
विनियोजन विधेयक पारित हुँदा प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले भने बैठक बहिष्कार गरेका थिए ।
नयाँ बजेटप्रति आफू जिम्मेवार रहेको अर्थमन्त्री जनार्दन शर्माको भनाइ
अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेटप्रति आफू जिम्मेवार रहेको र वर्तमान सरकारले यसको पूर्ण अपनत्व लिने बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा आगामी बजेटमाथि सांसदहरुले राखेका प्रश्नको जवाफ दिने क्रममा एमाले सांसदहरुले बैठक बहिष्कार गरेपछि मन्त्री शर्माले देश र जनताको हितका लागि बजेट ल्याउँदा कोही कसैले विरोध जनाउन नपर्ने बताए ।
बैठकमा अर्थमन्त्रीलाई जवाफ दिन रोष्टममा बोलाउनेबित्तिकै एमालेका सांसदहरुले बैठक बहिस्कार गरेका थिए । एमाले सांसदको बहिस्कारकै बीचमा अर्थमन्त्री शर्माले जवाफ दिएका थिए ।
अर्थमन्त्री शर्माले स्रोत तथा साधन, पुुँजीको एकीकृत परिचालनबाट मात्रै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने बताए ।
उनले उत्पादनमा आधारित अर्थतन्त्रको विकास, रोजगारी सिर्जना र गरिबी निवारण, कृषि क्षेत्रको उत्पादन वृद्धि, बाँझो उपभोगविहीन जमिनको पूर्णरुपमा प्रयोग, मल बीउ, तालिम उपलब्ध गराउने र उत्पादित वस्तु सरकारले खरिद गर्ने व्यवस्था गरिएको बताए ।
बजेटमा आयात प्रतिस्थापन गर्न निर्यात बढाउने लक्ष्यका साथ प्रोत्साहनको नीति अगाडि सारिएको उल्लेख गर्दै उनले उद्यमशीलताको विकास, ग्रामीण अर्थतन्त्रको विकासका लागि उद्यमशीलताको विकासमा जोड दिइएको बताए ।
सैन्य सम्झौता सम्बन्धी प्रस्ताव रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगायोः नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सैन्य सम्झौता सम्बन्धी प्रस्ताव रोकेर गठबन्धनले मुलुकलाई दुर्घटनाबाट जोगाएको बताएका छन् ।
काठमाडौंमा पार्टीको केन्द्रीय परिषद् बैठक आज उद्घाटन गर्दै अध्यक्ष नेपालले गठबन्धन दलले लिएको अडानका कारण एसपीपीमा नेपालको संलग्नता नरहने घोषणा सरकारले गरेको र मुलुक दुर्घटनाबाट जोगिएको बताएका हुन् ।
उनलेकेपी ओलीमा राष्ट्रको भन्दा पनि व्यक्तिवादी प्रवृति हावी भएका कारण मुलुक पटक–पटक समस्यामा परेको तर्क गरे ।
अध्यक्ष नेपालले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि अरुमाथि भरोषा नगरि सवै क्षेत्रमा तयारीमा जुट्न निर्देशन दिए ।
अबको निर्वाचनमा सबै स्थानमा उम्मेदवारी दिने पनि उनले बताए । साथै उनलेछोटो समयमा नै पार्टी अधिकांश निर्वाचन क्षेत्रमा बलियो अवस्थामा पुगेको भन्दै थप संगठन विस्तारमा ध्यान दिनुपर्ने जिकिर गरे ।
बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । बैठक मंगलबारसम्म चल्ने समाजवादीले जनाएको छ ।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोरोनाले पर्यटन क्षेत्रमा परेको प्रभावका विषयमा भएका अध्ययन प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने बताएका छन् ।
सिंहदरबारमा आज पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले कोरोनाले पर्यटन क्षेत्रमा परेको प्रभावबारे विभिन्न अध्ययन गरी तयार पारिएका प्रतिवेदनहरुलाई कार्ययोजनाकै ढंगले लैजाने भन्दै सो सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन् ।
त्यस्तै उनले हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग निर्माणका लागि अघि बढाउने निर्णयमा पनि हस्ताक्षर गरे ।
मन्त्री श्रेष्ठले कोरोनाले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको र त्यसको असर अर्थतन्त्रलाई पनि प्रभावित बनाएकाले मन्त्रालयले आवश्यक कार्यक्रम तर्जुमा गर्ने बताए ।
पर्यटन क्षेत्रलाई चलायमान बनाउने कामलाई उच्च प्राथमिकता दिने उनको भनाइ छ ।
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले पदभार ग्रहण गरेका छन् ।
आज बिहान राष्ट्रपति कार्यालय शितल निवासमा सपथग्रहण गरेपछि मन्त्रालयमा पुगेर मन्त्री खापुङले पदभार ग्रहण गरेका हुन् ।
सो क्रममा उनलाई निर्वतमान स्वास्थ्यमन्त्री विरोध खतिवडा र कर्मचारीहरुले मन्त्रालयमा स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै मन्त्री खापुङले आगामी दिनमा जनताको सर्वसुलभ सेवालाई प्रभावकारी बनाउन ध्यान केन्द्रीत गर्ने बताए ।
उनले कोरोनाकालमा निकै समस्या भएको र महामारीबाट सहजता ल्याउन सफल भएको धारणा राखे ।
मन्त्री खापुङले आगामी दिनमा बिकट स्थानमा सानातिना रोगको उपचार नपाउने अवस्थाको अन्त्य गरिने धारणा राखे ।
यस्तै नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले पदभार ग्रहण गरेका छन् । पद तथा गोपनियताको सपथ लिएपछि मन्त्री चौधरीले आज सिंहदरबारमा पदभार ग्रहण गरेका छन् ।
सो क्रममा उनले शहरी ऐनलाई अघि बढाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए ।
पदभारपछि मन्त्री चौधरीले क्षमताअनुसार काम गरेर देखाउने प्रतिवद्धता जनाए । उनले आफूले सबैसँग मिलेर काम गर्ने भन्दै पाँच महिनाको अवधिमा नजिता देखिने गरि काम गर्ने पनि बताए ।
परराष्ट्रमन्त्री डा नारायण खड्काले के भने ?
परराष्ट्रमन्त्री डा नारायण खड्काले विभिन्न देशको भ्रमण तथा मित्रराष्ट्रका सरकार प्रमुखको नेपाल भ्रमणले मित्रराष्ट्रसँगको सम्बन्ध थप प्रगाढ भएको दावी गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री खड्काले द्विपक्षीय भ्रमणको आदानप्रदानले सम्बन्ध थप विस्तारित भएको तथा नेपालको सार्वभौमसत्ता, अखण्डतामा कुनै पनि आँच आउन नदिइएको समेत बताए ।
उनले सीमा क्षेत्रमा निर्माण गरिएका भौतिक पूर्वाधारका कारण नेपाली भूमि डुबानमा पर्ने अवस्थाको अन्त्यका लागि समेत सरकारले स्पष्ट दृष्टिकोणका साथ भारत सरकारलाई आग्रह गरेको जानकारी दिए ।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले प्रयास गरिरहेको उनको भनाइ छ ।
मन्त्री खड्काले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै अघि बढेको उल्लेख गरे ।
एसपीपी खारेज गराउनेमा आफ्नो भूमिका रहेको प्रचण्डको दाबी
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपामा केपी ओलीको प्रवृतिविरुद्ध १९ पृष्ठको दस्तावेज ल्याउनुपरेको बताएका छन् ।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले १९ पृष्ठको दस्तावेजले कम्युनिष्टलाई खतम बनाएको ओलीले टिप्पणी गर्ने गरेको बताए ।
ओलीका कारण नै नेकपामा विवाद उत्पन्न भएको र १९ पृष्ठको दस्तावेज ल्याउन बाध्य भएको बताए । उनले १९ पृष्ठको दस्तावेज आफ्नो मात्रै नभई झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमको पनि भएको तर्क गरे ।
त्यस्तै प्रचण्डले एमसीसीको पहिलो दस्तावेज आफूले लेखेको र अध्ययन गर्न झलनाथको नेतृत्वमा आयोग बनाउने प्रस्ताव पनि आफूले गरेको बताए ।
उनले एमसीसीलाई पार लगाउन १२ बुँदेको सहारा लिएको स्वीकार गरे । प्रचण्डले ओली नेतृत्वको सरकारले नै एसपीपी ल्याएको र एसपीपीलाई खारेज गराउनेमा नेतृत्वदायी भूमिका पनि गठबन्धनले खेलेको जिकिर गरे ।
उनले शोधान्तर घाटाको सुरुवात तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको र त्यसमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडा रहेको आरोप लगाए ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले एमसीसी सम्झौता पारित हुँदा नेपालमा अमेरिकी सेना आउँछ भन्ने भ्रम फैलाइएको तर्क गरे ।
उनले नेपालमा अमेरिकी सेना आयो भने चारपाटा मुडियोस् भन्नेहरु कहाँ छन् भन्दै प्रश्न समेत गरे ।
एमसीसीका अंग मध्ये नै एसपीपी एउटा भएको भन्दै उनले तत्कालीन अवस्थामा नेकपामा एमसीसीको दस्तावेज ल्याउन माग गर्दा कुनै नेताहरुले दिन नमानेको जिकिर गरे ।
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालका राजनीतिक दलहरुमा समाजवादी चरित्र भएको बताए । उनले मुलुकमा संविधानकै कारण राजनीतिक स्थायीतत्वको जग बस्न थालेको धारणा राखे ।
खानेपानी प्रदूषित भएपछि फैलियो हैजा
काठमाडौं उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ ।
प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको बताए ।
महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको थियो ।
धारापानी, जार, टु्यूवेल, बोरिङको पानी परीक्षण गर्दा प्रदूषित पाइएको डा चुमनलालको भनाइ छ। उनका अनुसार वागबजारको खानेपानी प्रदूषित रहेको छ । यस्तै सानेपामा परीक्षणका क्रममा ६२ प्रतिशत प्रदूषित भेटिएको उनले जानकारी दिए ।
निर्माण व्यवसायीलाई कारवाहीको तयारी
सडक डिभिजन कार्यालय काठमाडौँले पटक–पटक म्याद थप गर्दा पनि पेप्सीकोला–मूलपानी–ब्रह्मखेल चार किमी सडक कालोपत्र नसकिएपछि निर्माण व्यवसायीलाई कारबाहीको तयारी गरेको छ ।
डिभिजनले आव २०७३/०७४ मा चार किमी सडक निर्माणका लागि रु १९ करोडको लागतमा ठेक्का गरेको थियो ।
पहिलोपटक १८ महिना समय दिए पनि भण्डार/थोडुङ/वर्ल्डवाइड/महालक्ष्मी जेभीले काम नगरेपछि पटकपटक स्पष्टीकरण सोधिएको डिभिजनका इञ्जिनीयर तुलाकान्त चौधरीले जानकारी दिए ।
ठेक्काको पाँच वर्षमा निर्माण कम्पनीले एक हजार ८०० मिटर सडक मात्र कालोपत्र गरेको छ । दुई हजार २०० मिटर सडकमा अझै भएको छैन ।
डिभिजनले तीन पटकसम्म सडक निर्माणको समय थप गरेको छ। निर्माण व्यवसायीलाई पटक–पटक काम गर्नका लागि पत्राचार गरिएको डिभिजन कार्यालयले जनाएको छ।
रोहिंग्या शरणार्थीहरूले गरे प्रदर्शन
११ बुँदे मागसहित काठमाडौंमा रहेका रोहिंग्या शरणार्थीहरूले प्रदर्शन गरेका छन् ।
शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चआयोगको नेपाल कार्यालयबाहिर उनीहरूले आज प्रदर्शन गरेका हुन् ।
संयुक्त राष्ट्रसंघको सन् १९४८ को मानव अधिकारसम्बन्धी घोषणाले प्रत्याभूत गरेको मौलिक अधिकारको सुनिश्चित हुनुपर्ने उनीहरूको माग छ ।
शरणार्थी बालबालिकालाई निजी विद्यालयमा शिक्षाको व्यवस्था गर्नुपर्ने, कामका लागि कानुनी अनुमति दिनुपर्नेलगायतका माग आफूहरूले राखेको कपनमा बस्दै आएका शरणार्थी जाफर मियाँले बताएका छन् ।
त्यस्तै उनीहरूले नेपाल सरकारसँग पनि आफूहरूलाई शरणार्थीका रूपमा स्वीकार्न माग गरेका छन् ।
आधारभूत आवश्यकताको व्यवस्थापन गर्न नसके भुटानी शरणार्थीको झैं तेस्रो देशमा आफूहरूलाई पुनःस्थापना गरिनुपर्ने पनि उनीहरूको माग छ । घर फर्किन चाहनेहरूलाई तत्कार वातावरण बनाइदिन पनि उनीहरूले उच्च आयोगसँग माग गरेका छन् ।
आफूहरूले शान्तिपूर्ण प्रदर्शन गरे पनि प्रहरीले हस्तक्षेप गरेको उनीहरूले गुनासो गरेका छन् । सरकारी सेनाले रोहिंग्याको घर जलाएको, ठूलो संख्यामा सो समुदायका युवाहरूको हत्या गरेको, बलात्कार गरेको लगायतका आरोप लाग्दै आएका छन् ।।
हतियारसहित तीन जना पक्राउ
प्रहरीले धनुषाबाट हतियारसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जनकपुरधामबाट भारततर्फ जाँदै गरेको कारमा सवार उनीहरुलाई विदेह नगरपालिका–१ महिनाथपुरबाट हतियारसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मुजफ्फरपुर ७ साहेबगञ्ज निवासी २९ वर्षीय राहुल रञ्जन, २० वर्षीय उज्जवल कुमार र २६ वर्षीय सञ्जय कुमार छन् ।
उनीहरुको साथबाट मेड इन यूएसए लेखिएको ७ दशमलव ६२ एमएमको एक राउण्ड गोली लोड भएको पेस्तोल बरामद भएको सशस्त्र प्रहरी निरीक्षक दिलेन्द्र खत्रीले जानकारी दिए ।
विषादी सेवनबाट बालिकाको मृत्यु
सल्यानमा मकैमा छर्नका लागि प्रयोग हुन किटनाशक विषादी सेवन गर्दा एक बालिकाको मृत्यु भएको छ ।
शारदा नगरपालिका ९ मेलटाकुरा घर भएकी पार्वती बोहराकी छोरी ३ वर्षीया बिमला बोहराले खेल्ने क्रममा सो विषादी सेवन गर्दा मृत्यु भएको हो ।
विषादी सेवनपछि बेहोस भएकी बालिका बोहरालाई आमा पार्वतीले उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याएको र उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
केही दिनअघि मात्र आमा पार्वतीले मकैमा छर्न किटनासक विषादी किनेर ल्याएकी थिइन् ।
नेपालमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ३ सय ३७ पीसीआर परिक्षणका क्रममा ३६ जना र १ हजार २१ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै थप २० संक्रमित निको भएका छन् हाल नेपालमा २ सय ८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि
चितवनको माडी नगरपालिका–६ स्याउलीबासमा छोराको खुर्पा प्रहारबाट आमाको मृत्यु भएको छ ।
स्याउलीबास निवासी अन्दाजी ३६ बर्षका अर्जुन तामाङले खुर्पा प्रहार गर्दा आफ्नै आमा अन्दाजी ५५ बर्षकी मायादेवी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शवलाई मुचुल्का गरेर भरतपुर पठाउने तयारी गरिएको छ ।
सेयर बजार परिसूचक घट्यो
सेयर बजार परिसुचक नेप्से आज भने घटेको छ । नेप्से आज २३ दशमलव ८५ अंकले घटेर १ हजार ९ सय ३३ दशमलव १३ विन्दुमा पुगेको हो ।
आज २२९ कम्पनीको ५६ लाख ४१ हजार ५ सय ४० कित्ता शेयर कुल २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९ सय ४८ रुपैँयामा कारोबार भएको छ ।
आज सीवाईसी लघुवित्त र न्यादी हाइड्रोको मूल्य करिब १० प्रतिशत बढ्ेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य ९ प्रतिशत बढेको छ ।
उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, नबिल बैंक र एसियन लाइफ इन्स्योरेन्स कम्पनी क्रमश अगाडि रहेका छन् ।
साल्ट ट्रेडिङको युरिया मल वीरगन्ज आइपुग्यो
युरिया मलको हाहाकार रहेको बेला साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको मल वीरगन्ज आइपुगेको छ ।
वीरगन्ज प्रादेशिक कार्यालयको गोदाममा शुक्रबारदेखि भारतको रक्सौलस्थित रेल्वे स्टेसनबाट ढुवानी गरी युरिया मल भित्रिन थालेको हो ।
शुक्रबारदेखि गोदाममा मल भित्रिन थालेको र हालसम्म १२ हजार ५ सय बोरा मल भित्रिइसकेको कार्यालय प्रमुख अमोज लामिछानेले बताए ।
साल्ट ट्रेडिङले ग्लोबल टेन्डरबाट खरिद गरेको २२ हजार मेट्री टनन युरिया मलमध्ये वीरगन्ज प्रादेशिक कार्यालयले पाउने ५ हजार मेट्रिक टन मल रक्सौल हुँदै आइरहेको उनले बताए ।
जी सेभेनले ६ सय अर्ब डलर लगानी गर्ने
जी सेभेनमा आबद्ध देशले चीनको बढ्दो प्रभाव रोक्न अति कम विकसित र विकासशील देशमा ६ सय अर्ब डलर लगानी गर्ने भएका छन् ।
जर्मनीमा भइरहेको जी सेभेनका प्रमुखहरूको बैठकले चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत आफ्नो प्रभुत्व बढाइरहेको निष्कर्ष निकाल्दै ६ सय अर्ब डलरको कोष बनाएर खर्च गर्ने निर्णय गरेका बीबीसीले जनाएको छ ।
यो रकम पार्टनरशिप फर ग्लोबल इन्फ्रास्ट्रक्चर एन्ड इन्भेस्टमेन्ट (पीजीआईआई) मार्फत खर्च हुनेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो योजनाले कैयौँ देशले प्रतिफल प्राप्त गर्ने बताएका छन् ।
यो कोषबाट मध्यम र न्यून आय भएका देशमा सहायता र ऋण लगानी गरेर लोकतान्त्रिक पद्धितमा आधारित पूर्वाधारको निर्माण अघि बढाइने नेताहरूले बताएका खबरमा उल्लेख छ ।
क्यानडा प्रस्थान गर्ने क्रिकेट टोलीको बिदाइ
नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता र त्यसको तयारीका लागि क्यानडा भ्रमणमा निस्कने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको विदाइ गरेको छ ।
स्कटल्यान्डमा हुने त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको तयारी गर्न नेपाली टिम भोलि क्यानडा जाँदैछ ।
भोलि क्यानडा प्रस्थान गर्ने नेपाली टिमलाई आज आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले विदाइ गरे ।
क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि सन्दिप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोली यसअघि नै घोषणा गरिसकेको छ ।
नेपालले लिग २ अन्तर्गत १७ असारदेखि स्कटल्यान्डमै घरेलु टिमसहित नामिबियासम्मिलित त्रिदेशीय शृंखला खेल्नेछ ।
स्कटल्यान्ड भ्रमणअघि ४ जुलाई र ५ जुलाई ५ मा क्यानडाविरुद्ध दुई एकदिवसीय क्रिकेट खेल्ने तालिका छ ।
प्रतिक्रिया