ज्यान लिने चालकलाई उम्काउन नक्कलीलाई मुद्दा ! « Khabarhub

ज्यान लिने चालकलाई उम्काउन नक्कलीलाई मुद्दा !


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा नक्कली अभियुक्त खडा गरी मुद्दा प्रक्रिया अघि बढाएपछि प्रहरी विवादमा फस्यो। सोही कारण केही प्रहरीविरुद्ध फौजदारी मुद्दा नै दायर भयो। तर, त्यो घटनापछि पनि प्रहरी अनुसन्धानमा जालझेल रोकिएको छैन। सवारी दुर्घटनामा प्रहरीले नक्कली अभियुक्त खडा गरेर वास्तविक दोषीलाई जोगाउँदै आएको खुलेको नयाँ पत्रिकामा खबर छ।

सवारी ज्यान मुद्दामै जालझेल गरेको आरोपमा इलाका प्रहरी कार्यालय गैंडाकोटका इन्स्पेक्टर लोकराज जिसी अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा छन्। १० लाख रुपैयाँ घुस लिएर नक्कली चालक खडा गरी मुद्दा चलाएको पुष्टि भएपछि अख्तियारले उनलाई २१ जेठमा पक्राउ गरेको हो।

११ वैशाखमा गैंडाकोटमा भएको दुर्घटनामा उनले वास्तविक दोषीलाई उन्मुक्ति दिएका हुन्। चितवनका व्यवसायी बोधराज पाण्डेले चलाएको जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको थियो भने अर्को एक गम्भीर घाइते भएका थिए। चालक पाण्डेलाई जोगाउन त्यतिवेला किसुन चौधरीले गाडी चलाएको नक्कली मुचुल्का बनाएर मुद्दा चलाइएको थियो। यसबापत जिसीले १० लाख घुस लिएको उजुरी अख्तियारमा परेको थियो।

‘प्रारम्भिक अनुसन्धानमै नक्कली चालक खडा गरेको पुष्टि भएपछि पक्राउ गरेका हौँ,’ अख्तियारका एक अधिकारी भन्छन्, ‘यसमा अन्य प्रहरीको समेत संलग्नता खोजी गरिरहेका छौँ।’ स्रोतका अनुसार जिल्लाका तत्कालीन एसपी रमेश थापाको समेत मिलेमतोमा त्यसरी नक्कली चालक खडा गरी मुद्दा चलाइएको आधार भेटिएको छ।

इन्स्पेक्टरसँगै व्यवसायी पाण्डे र नक्कली चालक चौधरीलाई समेत अख्तियारले नियन्त्रणमा लिएको छ। अन्य प्रहरीको संलग्नताबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। दुर्घटनाको मुचुल्कादेखि अभियोजनसम्मको चलखेलमा धेरै प्रहरी संलग्न रहेको स्रोत बताउँछ। दुर्घटनाकै दिन इलाका प्रहरी कार्यालयले चालक बोधराज पाण्डेलाई पक्राउ गरिएको रिपोर्टिङ बेलुका जिल्ला प्रहरी कार्यालय नवलपरासी(पूर्व)मा गरेको थियो। तर, तीन सातापछि भने किसुन चौधरीविरुद्ध मुद्दा दायर भएको थियो।

५९० रोपनी जग्गा व्यक्तिको नाममा : मालपोत कर्मचारीसहित १६ जनाविरुद्ध मुद्दा दायर शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । जुम्लाको गुठीचौर गाउँपालिका–४ बाउलीगाउँस्थित ५९० रोपनी सरकारी जग्गा आफन्तको नाममा पास गराउने मालपोत कर्मचारीसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाका तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेलगायत विरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले मालपोत अधिकृत न्यौपाने, मालपोत कार्यालय चाबहिलका नासु विजय शर्मा र राष्ट्रिय पशु अनुसन्धान प्रतिष्ठान खुमलटारका पूर्वनिर्देशक यमुनाकुमार श्रेष्ठ, स्थानीय शिक्षक मनीषचन्द्र न्यौपाने, स्थानीय किसान हरिहर न्यौपानेलाई पक्राउ गरी मुद्दा दायर गरेको हो।

सरकारी कर्मचारीलाई अनुचित प्रभावमा पारी गैरकानुनी तरिकाबाट उक्त जग्गा आ–आफ्नो नाममा दर्ता गर्ने कार्यमा प्रत्यक्ष संलग्न तथा आफ्नो नाममा जग्गा दर्ता गर्ने हरिहर न्यौपाने, मनीषचन्द्र न्यौपाने, मायालाल न्यौपाने, विष्णु न्यौपाने, विष्णुऋषि न्यौपाने, विष्णुलाल न्यौपाने, पार्वती न्यौपाने, नवऋषि न्यौपाने, धनप्रसाद न्यौपाने, देवेन्द्रप्रसाद उपाध्याय, जानकीदत्त देवकोटा, गोमा न्यौपाने, केशवराज न्यौपाने, कविदत्त न्यौपानेविरुद्ध समेत आयोगले मुद्दा दायर गरेको छ। उनीहरूमध्ये गोमा गोविन्दकी श्रीमती र पार्वती छोरी हुन्। न्यौपानेले ७० रोपनी जग्गा श्रीमती गोमा र ६८ रोपनी जग्गा छोरी पार्वतीको नाममा दर्ता गराएका थिए। अनुसन्धान सुरु भएपछि उनीहरू फरार भएका थिए।

त्यस्तै पत्रिकाले डेंगु परीक्षणमा मेडिकल कलेजको ठगीमा अर्को समाचार छापेको छ । तराईंका जिल्लामा डेंगु परीक्षण गर्ने क्रममा मेडिकल कलेजहरूले बिरामीसँग मनपरी शुल्क असुल गरेको पाइएको छ। सरकारले एक सय रुपैयाँमा खरिद गरेको टेस्ट किटलाई निजी स्वास्थ्य संस्थाले चार सय रुपैयाँमा बेच्दै आएका छन्।

तर, प्रकोपको फाइदा उठाउँदै मेडिकल कलेजहरूले डेंगु किटलाई २४ सय रुपैयाँसम्म लिएको पाइएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने निजी क्लिनिक र अस्पतालहरूले डेंगु किटलाई १३ हजार रुपैयाँसम्म लिने गरेको जनाएको छ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ७ : १२ बजे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्: आकस्मिक परिस्थितिका लागि कदम चाल्न तयार छौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इजरायल र अमेरिकाद्वारा इरानमाथि आक्रमणपछि मध्यपूर्व

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत अवलम्बन गरिने करका

मतदातालाई प्रधानमन्त्रीको अपिल : काम छोडेर भए पनि भोट हाल्न जानूस् (सम्बोधनको पूर्णपाठ)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा

इजरायल–इरान द्वन्द्व मध्यपूर्वभर फैलियो

एजेन्सी– इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने करका