ईरानले सीरियाका बशरलाई दिएको पौने नील स्वाहा | Khabarhub Khabarhub

लेनदेन

ईरानले सीरियाका बशरलाई दिएको पौने नील स्वाहा


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सन् १९७९ को इस्लामिक क्रान्तिपछि ईरानमाथि पश्चिमा मुलुकले त निशाना साँधिरहेका छन् नै, छिमेकी मुलुकहरूसँग पनि तेहरानको दुश्मनी बढिरहेको छ ।

इस्लामिक क्रान्तिको दोस्रो वर्ष सन् १९८० मै ईरानमाथि इराकले हमला गरिदियो । सो युद्ध सन् १९८८ सम्म चल्यो । साउदी अरबसँग पनि ईरानको सम्बन्ध तिक्ततापूर्ण रह्यो । दुबै देशबीच हालसम्म विश्वासको वातावरण बन्न सकेको छैन ।

इस्लामिक क्रान्तिपछि ईरानले पनि सीरिया, यमन, लेबनान, प्यालेस्टाइन र इराकमा हतियारधारी समूह विस्तार गर्‍यो । सोही समूहको बलमा उसले मध्यपूर्वमा शक्ति आर्जन गरिरह्यो ।

ईरानको सोही बल यतिखेर कमजोर हुँदैछ । पछिल्लो कडी सीरियामा ईरान समर्थित बशर अल–असदको शासन अन्त्य भएको छ । बशर अल–असद सत्ताच्यूत हुँदा ईरानलाई ठूलो झट्का लागेको छ ।

सीरियामा असदको सत्ता जोगाउन ईरानले निकै धेरै लगानी गरेको थियो । ईरानले सीरियामा गरेको सो लगानी अब के होला त ? यो प्रश्नको एकीन जवाफ तत्कालै कसैले दिनसक्ने अवस्था छैन ।

ईरानभित्र यस्तो आवाज उठिरहेको छ । यो प्रश्न ईरानका सर्वोच्च नेता अयातोल्लाह अली खोमनीको नीतिमाथि नै ठूलो सवाल हो । ईरानमा यतिखेर मानिसहरूले १४ वर्षदेखि सीरियालाई दिएको कर्जा अब के हुन्छ भनी प्रश्न गरिरहेका छन् ।

सीरियाबाट भागेका तानाशाह राष्ट्रपति बशर अल-असद र ईरानका सर्वोच्च नेता अयातोल्लाह अली खोमेनाई । तस्बिर स्रोतः गेट्टी इमेज ।

ईरानका पत्रकार र कट्टरपन्थी मामिलाका टिप्पणीकार मोहम्मद मोहाजेरीले गत साता एक्समा एक पोष्ट लेखे । ‘बशर अल–असदले ९५ प्रतिशत मत ल्याएर पछिल्लो चुनाव जिते । तर, जब तीन वर्षपछि उनी सत्ता छाडेर जान बाध्य भए – उनको रक्षा गर्न सीरियाका एक जना पनि आम जनता अघि सरेनन्,’ सो पोष्टमा लेखिएको थियो । तर पछि उनले कुनै स्पष्टीकरण नदिइ सो पोष्ट डिलिट गरे ।

सिरियाको सत्ता यतिखेर जुन विद्रोही समूहले कब्जा गरेको छ –ईरानप्रति सो समूहको रुझान बशर अल–असदको जस्तो हुने छैन ।

यो पनि –

को हुन्‌ सिरियामा असदलाई अत्याइरहेका विद्रोही कमान्डर अल-जुलानी ?

असदलाई ईरान र रूसले सघाइरहेका थिए । विद्रोही गुटको लडाइँ पनि बशरसहित यी देशसँग पनि थियो । विद्रोहीले सत्ता कब्जा गरेपछि ईरान र रूस दुबैले सिरियाको नयाँ सत्तासँग सम्बन्ध राम्रो बनाउनेतर्फ प्रयास गरिरहेका छन् ।

सीरिया छाडेर बशर जसै रूस पुगे, ईरानले निकै तौलिएको प्रतिक्रिया दियो । ईरानले भनेको थियो, ‘सीरिया यतिखेर इतिहासको सबैभन्दा कठिन मोडमा खडा छ, यस्तो अवस्थामा सबै सीरियाली नागरिकको सुरक्षा बाहिरी देशभन्दा महत्वपूर्ण हुन्छ । सीरियाको नयाँ सरकारसँग पनि साझा हितको आधारमा द्विपक्षीय सम्बन्धले निरन्तरता पाउने विश्वास छ ।’

ईरानले बशर अल–असदलाई कति कर्जा दिएको थियो भन्नेबारे कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन । तर, ईरानका मानिसहरूले दमास्कसको तानाशाहलाई जोगाउन तेहरानको तानाशाही सत्ताले दिएको कर्जाको साँवाब्याज फिर्ताबारे प्रश्न गरिरहेका छन् ।

ईरानका पूर्वसांसद् बहराम पर्सेईले डिसेम्बर ७ मा बताएअनुसार ईरानले बशर अल–असदलाई ३० अर्ब अमेरिकी डलरभन्दा बढी ऋण दिएको थियो । तर, बशरलाई तेहरानले दिएको वास्तविक कर्जा बहरामले अनुमान गरेभन्दा निकै रहेको बताइन्छ ।

सीरियाका विपक्षी सूत्रहरूका अनुसार सन् २०११ देखि हालसम्म बशरको सत्ता जोगाउन ईरानले कम्तिमा ५० अर्ब अमेरिकी डलर खर्च गरिसकेको छ । यो रकम नेपाली रुपैयाँमा ६७ अर्ब अर्थात्‌ झण्डै पौने नील हुन आउँछ । १०० खर्बमा एक नील हुन्छ ।

विद्रोहीहरूले सिरिया कब्जा गरेपछि आक्रमणमा परेको दमास्कसस्थित ईरानी दूतावास । तस्बिर स्रोतः गेट्टी इमेज ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि बिहीबार एक भिडियोमार्फत ईरानका नागरिकलाई सम्बोधन गर्दै बशर अल–असदको सत्ता जोगाउन ईरानले ३० अर्ब डलर खर्चिएको बताए ।

नेतन्याहूले भने –

‘ईरानका नागरिकले यतिखेर के महसुस गरिरहेका छन् भन्नेबारे म बुझ्न सक्छु । ईरानको अत्याचारी सरकारले सीरियामा बशर अल–असदलाई बचाउन ३० अर्ब डलर खर्च गर्‍यो । जो व्यक्तिमाथि यति धेरै रकम खर्च गरिएको थियो, ऊ (असद) ११ दिनको लडाइँमै ध्वस्त भयो । ईरानको सरकारले गाजामा हमासलाई समर्थन गर्न पनि अर्बौं डर खर्च गर्‍यो । तर, हमासको कम्मर भाँचिइसकेको छ । तपाईंहरूको सरकारले लेबनानमाा हिज्जबुल्लाहलाई जोगाउन पनि २० अर्ब डलर खर्च गर्‍यो । तर केही साताको लडाइँमै हिज्बुल्लाह सखाप भयो । तपाईंहरूको पैसा तपाईंकै सरकारले चोरिरहेको छ र बर्बाद गरिरहेको छ । सो पैसाले ईरानमा सडक, स्कूल र विकासका अन्य काम हुन सक्थ्यो ।’

बशर अल–असदको शासनमा ईरान र सीरियाबीच निकट व्यापारिक सम्बन्ध पनि थियो । ईरानले सीरियामा ऊर्जाका साथै अन्य सामग्री पठाउने गरेको थियो । ईरानले सीरियामा लगानी पनि गरेको थियो । त्यसबाहेक धार्मिक पर्यटनका माध्यमबाट पनि दुई देशबीच आर्थिक लेनदेन फस्टाइरहेको थियो ।

ईरानको पैसा अब के हुन्छ ?

कमोडिटी इन्टिलिजेन्स फर्म केपलरको तथ्याङ्कअनुसार पछिल्ला केही वर्षमा ईरानले सीरियालाई प्रतिदिन ७० देखि ८० हजार ब्यारेल कच्चा तेल दिइरहेको थियो ।

औषतमा प्रतिदिन ६० हजार ब्यारेल मान्दा र प्रतिब्यारेल तेलको अनुमानित मूल्य ५० डलर राख्दा प्रतिवर्ष सीरियामा ईरानबाट एक अर्ब डलर बराबरको त कच्चा तेलमात्रै पुगेको देखिन्छ ।

अर्थात्, २०११ देखि २०२४ सम्म ईरानले सीरियालाई १४ अर्ब डलर बराबरको कच्चा तेल दियो । कच्चा तेलमात्र होइन, ईरानले असदको शासन जोगाउन हतियार, औद्योगिक उत्पादन, सवारीसाधन र औषधी पनि दिएको थियो ।

तर, सीरियाले ईरानलाई यी सामानको भुक्तानी दिए/नदिएबारे हालसम्म स्पष्ट जानकारी छैन । ईरानले सीरियाबाटै लेबनानको हिज्जबुल्लाह लडाकु समूहलाई पनि आवश्यक बन्दोबस्तीका सामान पठाउने गरेको थियो ।

डिसेम्बर पहिलो साता विद्रोही गुटले बशर अल–असदको सेनालाई विभिन्न शहरमा हराउन थालेका समाचार आउँदा पनि ईरानले सीरियातर्फ कच्चा तेल पठाइरहेको थियो ।

डिसेम्बर ८ मा ट्याङ्कर ट्रयाकर्सले लेखेको थियो, ‘बशर अल–सदको शासन अन्त्य हुन लागेको खबर सुनेर ईरानी स्वेजमेक्स ट्यांकर गल्फ अफ स्वेजबाट फर्कियो । ईरानी जहाज सीरियामा सात लाख ५० हजार ब्यारेल कच्चा तेल पुर्‍याउन अघि बढिरहेको थियो ।’

ईरानको सैन्य र सुरक्षा बजेटमा सीरिया महत्वपूर्ण मामिला हो । ईरानले सीरियामा पूर्वाधार र उद्योगमा पनि लगानी गरेको छ । ईरानबाट निकै धेरै मानिसहरू दमास्कसमा शिया मुस्लिमहरूको तीर्थस्थलमा जाने गर्थे । ती मध्ये सय्यिदाह जैनब तीर्थस्थल सबैभन्दा महत्वपूर्ण हो ।

बशर अल–असद सत्तामा रहेकै बेला ईरानले सीरियासँग स्वतन्त्र व्यापारको योजना पनि बनाइरहेको थियो । ईरानको संसद्ले सो योजनालाई अघि बढाउन एउटा विधेयक पनि पारित गरेको थियो ।

गृहयुद्धपछि सीरियामा शुरु हुने नवनिर्माणको कामबाट आफूलाई फाइदा हुने ईरानी अधिकारीहरूको आकलन थियो । त्यस निम्ति ईरानले विभिन्न ओहदाका अधिकारीहरूलाई सीरिया पठाएको थियो ।

के हो वास्तविक तथ्याङ्क ?

ईरानको संसदीय सुरक्षा र विदेश नीति आयोगका सदस्य यागुब रेजाजदेहका अनुसार १० हजार भन्दा बढी ईरानी सीरियामा थिए । सीरियालाई ईरानले दिएको कर्जाको भविष्यबारे सोध्दा उनले भने, ‘३० अर्ब डलर कर्जाबारे म सँग कुनै ठोस सूचना छैन, सम्भवतः यो सही आंकडा होइन ।’

ईरानको सरकारले यस्ता मामिलामा पारदर्शीता कायम गर्ने गर्दैन । सोहीकारण वास्तविक सूचना बाहिर आउँदैन । कर्जा लिएको सीरियाका शासक असद देश छाडेर भागेपछि र उक्त देश विद्रोहीको कब्जामा पुगेपछि ईरानका नागरिकले सरकारसँग स्पष्टीकरण मागिरहेका छन् ।

ईरानका सुधारवादी पत्रकार अब्बास अब्दीले फारसी दैनिक हम-मिहानमा यसबारे एक सम्पादकीय नै लेखेका छन् । सो सम्पादकीयमा अब्दी लेख्छन्, ‘सीरियामा ईरान कहाँनेर चुक्यो र ईरानले सीरियामा कति खर्च गरेको थियो भन्नेबारे सबैभन्दा पहिले स्पष्ट र पारदर्शी हिसाबले जवाफ दिनुपर्छ । यी सवालका जवाफ दिन एक विश्वसनीय र स्वतन्त्र विशेषज्ञको कमिटी बनाउनुपर्छ । यदी यसो गरिँदैन भविष्यमा पनि सोही प्रकारका गल्ती दोहोरिनेछ ।’

दमास्कस कब्जा गर्न गत शनिबार अघि बढिरहेका विद्रोही एचटीएएस लडाकुहरू ।

ईरानको राष्ट्रिय सुरक्षा र विदेश नीतिमाथि संसदीय आयोगका पूर्वअध्यक्ष हश्मतोल्लाह फलाहत्पिशाह पनि उस्तै तर्क राख्छन् । सीरियाली युद्ध ईरानका नागरिकहरूको युद्ध नभएको र सो युद्धमा खर्च गरेको अर्बौं डलरबारे ईरानी सरकारले स्पष्टीकरण नदिएको उनको भनाइ छ । उप्रान्त सरकारले ईरानीको ज्यान र सम्पत्ति जुवामा लगाउन नहुने बताउँदै उनले सीरियाका भगौडा तानाशाह बशर अल–असदको सरकारलाई ईरानले करिब ३० अर्ब अमेरिकी डलर ऋण दिएको दाबी गरे ।

दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयमा पश्चिम एशिया अध्ययन केन्द्रका प्राध्यापक रहेका आफताब कमाल पासाले सीरियामा ईरानले गरेको ऋण असुली मुस्किल रहेको बताए । दमास्कसमा बशर अल–असदलाई जोगाउन अर्बौं डलर खर्च गरेको ईरान अब पनि त्यसो गरिरहनुपर्ने जिम्मेवारीबाट मुक्त भएको प्राध्यापक कमालको भनाइ छ ।

‘अबका दिनमा त्यस्तो रकम ईरानले आफैँलाई बलियो बनाउन खर्च गर्न सक्छ । लेबनानको हिज्जबुल्लाह र सीरियाको बशर अल–असदमाथि अर्बौं डलर गर्नुपर्ने अवस्थाबाट ईरानले मुक्ति पाएको छ । अहिलेलाई सीरियामा बशर जोगाउन खोज्दा ईरानलाई नोक्सानी भएको देखिन्छ । बशर रहिरहेको भए थप रकम सीरिया पठाउनुपर्थ्यो । तर, बशर नै नरहेपछि सीरियाको साटो सो बराबर रकम ईरानमै खर्च गर्ने बाटो खुलेको छ ।’ बीबीसी हिन्दीबाट

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ७ : ०१ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (आइतबार) बस्दैछ ।

मदन भण्डारी फाउण्डेशन एमालेमा गुट निर्माणको ‘प्लेटफर्म’

काठमाडौं– जननेता मदन भण्डारीका विचारको व्याख्या गर्ने माध्यमका रूपमा स्थापित

होमस्टेले गाउँमै बस्न सिकाउँदै

तनहुँ– घरधन्दा, मेलापात, बालबालिकाको हेरचाहमा मात्र व्यस्त हुने महिलाको दैनिकी

विद्यालयको आम्दानी बढाउन बुद्धचित्तको बिरुवा लगाइँदै

रामेछाप– विद्यालयको आन्तरिक स्रोत वृद्धि गर्न रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली

एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट