कर्मचारीको मिलेमतोमा १६ गैरनेपालीलाई नागरिकता | Khabarhub Khabarhub

कर्मचारीको मिलेमतोमा १६ गैरनेपालीलाई नागरिकता


५ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारीले आर्थिक प्रलोभनमा परी १६ जना गैरनेपालीलाई नेपाली नागरिकता दिएको पाइएको राजधानी दैनिकमा खबर छ । गैरकानुनी रूपमा नागरिकता दिएको पाइएपछि गृह मन्त्रालयले सो कार्यालयका प्रशासकीय अधिकृतसहित तीन कर्मचारीलाई निलम्बन गरी छानबिन थालेको छ ।

निलम्बनमा पर्नेमा प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेगराज निरौला र खरिदार तेजिन्द्र न्यौपाने छन् । उनीहरुले सेटिङमा गैरनेपालीलाई नागरिकता दिएको पाइएको हो ।

गैरनेपालीलाई नागरिकता दिन सिफारिस गर्ने भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष शनिलाल राजवंशीमाथि समेत छानबिन थालिएको छ । प्रशासन स्रोतका अनुसार २०७३ सालदेखि २०७६ सालको हालसम्म १६ जना गैरनेपालीलाई नागरिकता दिइएको पाइएको छ ।

१६ जना गैरनेपालीलाई नागरिकता दिँदा खरिदार तेजेन्द्रले सनाखत गराएका छन् भने नायब सुब्बा निरौलाले टिप्पणी पेस गराएका छन् । त्यसपछि अधिकृत ढुंगेलले नागरिकता जारी गरेका छन् ।

यसरी विभिन्न समयमा १६ जनाको नागरिकता जारी गर्दा नौ जनाको बाबु एउटै कायम गरिएको छ । गृह मन्त्रालयले नक्कली नागरिकता जारी गर्ने कर्मचारीलाई निलम्बन गर्दै कर्मचारी र नागरिकताबारे थप छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई जिम्मेवारी दिएको छ ।

गुठी विधेयकविरुद्ध शक्ति प्रदर्शन, फिर्ता होइन, खारेजीकै माग शीर्षकमा पत्रिकामा अर्को समाचार प्रकाशित छ । विवादित ‘गुठी विधेयक’ को विरोध गर्दै आएका काठमाडौं उपत्यकाका नेवार समुदाय र अभियन्ताको आह्वानमा बुधबार राजधानीमा विशाल खबरदारी सभा सम्पन्न भएको छ ।

चर्को दबाबपछि सरकारले गुठी विधेयक फिर्ता लिएको भोलिपल्ट पूर्वनिर्धारित कार्यक्रमअनुसार विशाल खबरदारी सभा गरिएको हो । माइतीघर मण्डलामा आयोजना गरिएको खबरदारी सभामा दोस्रो जनआन्दोलनको झल्को दिने गरी मानव सागर ओर्लिएको थियो । काठमाडौं उपत्यकाका चोक चोक र गल्ली गल्लीबाट स्वतःर्स्फूत रूपमा खबरदारी सभामा स्थानीय सहभागी भएका थिए ।

राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको आयोजनामा सभा आयोजना गरिएको हो । सुरुमा विरोध सभा आह्वान गरिएकोमा सरकारले तत्कालका लागि गुठी विधेयक फिर्ता लिएको घोषणा गरेपछि खबरदारी सभाका रुपमा परिणत गरिएको थियो । सभालाई सम्बोधन गर्दै समितिका संयोजक गणपतिलाल श्रेष्ठले सरकारकै हठका कारण आन्दोलन गर्नुपरेको बताए ।

जनताले पहिचानका लागि लड्ने समय आएको बताउँदै उनले गुठी सञ्चालन गरेर जात्रा, पर्व र परम्परालाई जीवन्तता दिने गुठियारलाई हटाएर सरकारले धर्म, संस्कृति र परम्परा मास्न खोजेको आरोप लगाए । उनले भने, ‘गुठियार सम्पदा हुन्, सरकारले बालुवाटारको जग्गा बेच्यो, अब गुठीमा आँखा लगाएको छ । यो तीन करोड नेपालीको मुद्दा हो, नेवार समुदाय मात्रको होइन ।’

त्यस्तै पत्रिकाले ३८ सय केजी सुन तस्करी प्रकरण : मुख्य न्यायाधीशसहित पाँच न्यायाधीशलाई सफाइ शीर्षकमा समाचार छापेको छ । ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दामा मुछिएका आठ न्यायाधीशमध्ये पाँच न्यायाधीशले सफाइ पाएका छन् । तीन न्यायाधीशलाई भने न्यायपरिषद् ऐनविपरीतका कार्यमा संलग्न भएको भन्दै स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।

परिषद्ले मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित पाँच न्यायाधीशलाई सफाइ दिएको हो । परिषदले मुख्य न्यायाधीश भुर्तेल, न्यायधीशहरू सारंगा सुवेदी, जनक पाण्डे, उमेशराज पौडेल र नागेन्द्र लाभ कर्णको उजुरी तामेलीमा राख्ने निर्णय गरेको हो । परिषद् स्रोतका अनुसार संलग्नता पुष्टि हुन नसकेपछि उजुरी तामेलीमा राखिएको हो । न्यायाधीश पौडेल र कर्णले यसअघि नै अवकाश पाइसकेका छन् ।

मंगलबारदेखि बसेको परिषद् बैठकले छानबिन समितिले गरेको प्रतिवेदनका आधारमा ती न्यायाधीशको विषयमा निर्णय गर्ने तयारी गरेको छ । न्यायाधीश छानबिनका लागि न्यायपरिषद्ले गत २५ चैतमा सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको अध्यक्षतामा न्यायाधीश मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठ सदस्य रहेको समिति गठन गरेको थियो । चालिसे समितिले अघिल्लो साता प्रधानन्यायाधीशसमक्ष प्रतिवेदन बुझाएको थियो ।

प्रकाशित मिति : ५ असार २०७६, बिहीबार  ७ : ११ बजे

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

म्याग्दी–  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२

शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा : प्रचण्ड

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा, ८० प्रतिशत काम सम्पन्न

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका प्रस्थान

तनहुँमा परीक्षणका रूपमा स्ट्रबेरीखेती

दमौली – ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ ।