वर्षासँगै आत्तिन्छन् कोसीपीडित | Khabarhub Khabarhub

वर्षासँगै आत्तिन्छन् कोसीपीडित


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- उदयपुरको बेलका नगरपालिका–९ स्थित सप्तकोसी नदीको पश्चिम भाग कटान भएपछि उदयपुरकै भाटे पुल क्षेत्र डुबानमा परेको छ । सप्तकोसी नदीले त्यस क्षेत्रमा लगभग दुई सय मिटर कटान गरी बस्तीतर्फ पसेको पानीका कारण त्यस क्षेत्रका मानिस अहिलेसम्म घर फर्कन सकेका छैनन् । डुबानमा परेका मानिसलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा राखेका छन् ।

सुरक्षित स्थानबाट दिनहुँ भाटेपुल नजिकै आएर पीडित आफ्नो घर डुबेको देख्दा रोएर फर्किने गरेका छन् । कोसी नदीको पानीले अहिले डुबान गरेको त्यस क्षेत्रमा विसं २०४५ अघि कोसी नदीको मूलधार बग्ने गरेको स्थानीयवासी बताउँछन् । कोसी नदीले धार परिवर्तन गरेपछि कोसी नदी पूर्वतर्फ मूलधार भएर बगिरहेको छ । कोसी नदीले पूर्वतर्फ धार परिवर्तन गरेपछि त्यस क्षेत्रमा हजारौँ बिघा जग्गा बगरमा परिणत भयो । बिस्तारै सो जग्गामा मानिसले घर बनाएर बस्न थाले ।

कोसीले मूलधार परिवर्तन गर्दा बराह क्षेत्र नगरपालिका–२ कोसी पश्चिम क्षेत्र श्रीलङ्का टापु निर्माण भयो । त्यहाँ अहिले पनि मानिस बसोबास गरिरहेका छन् । कुनै समयमा कोसी बग्ने ठाउँ अहिले मानिसका लागि जीविकोपार्जनको थलो बनेको छ । मानिसले सो क्षेत्रलाई फाँडेर खेतीपाती गर्दै आएका छन् । श्रीलङ्का टापु जान सरकारले चार वर्षअघि ८५ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण गरेको छ । झोलुङ्गे पुलले टापुमा बस्ने मानिसका लागि आवतजावत गर्न निकै सुविधा पुगेको छ ।

कोसी नदीले धार परिवर्तन गरेर बनेको सो क्षेत्रमा बस्ने मानिसले जग्गा उपभोग गरिरहेको भए पनि उनीहरूसँग जग्गाको धनीपूर्जा छैन । धान, मकै, तरकारीजस्ता बाली उत्पादन गर्ने किसानले राम्रै आम्दानी गर्दछन् । श्रीलङ्का टापुमा खेती गर्ने रामउदगार महतोका अनुसार अहिले पनि एकले भोगचलन गरेको जग्गा अरू मानिसलाई बिक्री गर्दा एक बिघाको रु चार लाखसम्म तिर्छन् ।

उनले निकै गरिबी अवस्थामा यहाँ आएर खेती सुरु गरेको उल्लेख गर्दै भने, “साइकलबाट सुरु गरेको यात्रा अहिले मसँग ट्र्याक्टर छन् । खेतीपाती गर्छु ।” परिवारलाई पाल्न र राम्रै आम्दानी गर्न सकेकोमा महतोले खुसी व्यक्त गरे।

बेलका–२ सिर्जना टोल अहिले पनि जलमग्न छ । पाँच सय घरधुरी रहेको सो क्षेत्रमा नेपाली सेनाका दुई वटा बोट र सशस्त्र प्रहरीका एक वटा बोटले पानी जलमग्न भएको क्षेत्रमा प्रवेश गरी घरभित्रका सामान सुरक्षित ठाउँमा लैजाने क्रम जारी रहेको छ ।

सिर्जना टोलकी विमला कटुवालले भनिन्, “मेरो घर चुर्लुम्म डुबेको छ, मैले पालेको कुखुरा, सुङ्गुरको अवस्था थाहा छैन । घर मात्र देखिन्छ, यहाँ भाटेपुलनिर घर चियाएर हेर्छु र फर्किन्छु ।” उनले घर छोड्नु पर्दाको पीडा अत्यन्त कष्टकर भएको बताइन् । “तर के गर्नु अर्को उपाय पनि छैन, अहिलेसम्म कुनै राहत पाएको छैन”, उनले भनिन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका उद्धार टोली दिनरात काम गरिरहेको उनले बताइन्।

यस्तै पीडा पवित्रा राईको पनि छ ।उनले भनिन्, “कोसीमा पानी घटबढले हाम्रो पीडा पनि त्यस्तै हुँदो रहेछ, कहिले घर फर्कन पाइएला भन्ने चिन्तामा छु ।” ।

प्रदेश नं १ प्रदेश प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले कोसी नदीले प्रभावित गरेको क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका तीन सय जना राहत र उद्धारमा खटिएको भन्दै आवश्यक परेमा थप जनशक्ति परिचालन गर्ने जानकारी दिए। उनले अहिलेसम्म त्यस क्षेत्रमा कुनै पनि मानवीय क्षति नभएको बताए। उनका अनुसार उद्धार टोलीको ध्यान त्यस क्षेत्रमा केन्द्रित छ, कुनै पनि अप्रिय घटना हुन नदिन सबै शक्ति लगाउने र जनतालाई उद्धार एवं मद्दत गरिने छ ।

बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले कोसीको पानीबाट डुबानमा परेका मानिसलाई सेती खोला मावि, कोसी जनता मावि, सागपत्रे र खसी बाख्रा सेवा केन्द्रमा राखिएको जानकारी दिए। उनले ती स्थानमा दुई सय ५३ जनालाई दिनरात मेस सञ्चालन गरेर खाना र बासको व्यवस्था गरेको बताए।

उनले भने, “यस क्षेत्रका करिब सात हजार मानिस आफन्तकोमा आश्रय लिएर बसेका छन्, अत्यन्त सतर्कता अपनाएका छौँ, जनतालाई थप पीडा हुन नदिन दिनरात काम गरिरहेका छौँ ।” उनले उद्धार एवं राहतमा लाग्ने सङ्घ संस्थालाई धन्यवाद दिँदै कोसीको पानी वर्षामा निर्भर रहने भएकाले वर्षासँगै यस क्षेत्रका जनताको हाम्रो मन चिसो हुने बताए।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ७ : ४० बजे

पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

गण्डकी – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका

ब्रेन क्यान्सरसँग हारे विवेक, सिर्जनाले गुमाइन् जीवनसाथी

काठमाडौं- ब्रेन क्यान्सरसँग संघर्ष गरिरहेका बर्दियाका विवेक पंगेनीको मृत्यु भएको छ

रविको फोटो सार्वजनिक गर्नेलाई साइबर अपराधमा कारबाही गरिने

पोखरा- सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा गत कात्तिक ३ गतेदेखि

पूर्वपरराष्ट्रमन्त्री एनपी साउद मोरक्को प्रस्थान

काठमाडौं– पूर्वपरराष्ट्रमन्त्री एनपी साउद मोरक्को प्रस्थान गरेका छन् । सोसलिस्ट

हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु

एजेन्सी – भियतनामको राजधानी हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११