बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


२४ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन्। पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन्। बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन् :

१. गठबन्धनको शीर्ष नेतृत्वको बैठक बस्दै
सत्ता गठबन्धनको शीर्ष नेतृत्वको बैठक आज पनि बस्ने भएको छ। बैठकमा सिट बाँडफाँडबारे कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ। कार्यदलको प्रतिवेदनको अध्ययन पछि शीर्ष नेतृत्वले थप छलफल गरेर सिटको भागबण्डाको संख्यालाई अन्तिम रूप दिने बताइएको छ। कार्यदलले हिजो शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनमा सिट संख्या भने तोकिएको छैन। दिउँसो ३ बजेपछि हुने छलफलमा मिल्न बाँकी ३२ सिटका विषयमा सहमति जुटाउने प्रयास हुने नेताहरुले बताएका छन्।

२. एक पटकका लागि १४ हजार शिक्षकलाई स्थायी गर्न माग
उच्च माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा ११ र १२ मा पढाउने १४ हजार शिक्षकलाई स्थायी गर्न माग गरेको छ। हिस्टुन) ले ती शिक्षकहरुलाई एक पटकका लागि उमेर हद नलाग्ने गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन माग गरेको हो। सरकारले सङ्घीय शिक्षा ऐन ल्याउन लागेका सन्दर्भमा उनीहरूले राज्यले उक्त तहमा हालसम्म पर्याप्त दरबन्दी नदिई तथा स्थायी नगराई वर्षौँदेखि कार्यरत शिक्षकलाई विभेद र पक्षपातपूर्ण व्यवहार गरेको युनियनले गरेको जनाएको छ।

३. लोकसेवाले परिमार्जन गर्‍यो लिखित परीक्षाको अंकभार
लोकसेवा आयोगले खुला प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम र अंकभार परिमार्जन गरेको छ। आयोगले चालू आव २०७९-८० देखि हुने विज्ञापनमा लागू हुने गरी अप्राविधिकतर्फ शाखा अधिकृत, नायब सुब्बा र खरिदार वा सोसरहको प्रतियोगितात्मक लिखित परीक्षाको पाठ्यक्रम र अंकभारमा संशोधन गरेको हो। अब यी पदका पहिलो पत्रमा प्राप्त अंकको ५० प्रतिशत मात्र दोस्रो पत्रमा जोडिने भएको छ। लिखित परीक्षाको पहिलो पत्रमा कुनै उम्मेदवारले ६० अंक ल्याएमा यसको ५० प्रतिशत अंक मात्रै दोस्रो पत्रमा जोडिने लोकसेवाका प्रवक्ता तोयनारायण ज्ञवालीले जानकारी दिए।

४.  बिपीको १०९औँ जन्मजयन्ती मनाइँदै
नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएका पहिलो नवनिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो।

५. इन्द्रजात्रा पर्व मनाइँदै
देवता इन्द्रको पूजाआराधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो उठाएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।

६. सन्दीप लामिछाने केही दिनमा नेपाल आउने
जबरजस्ती करणीको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन्। सन्दीपले आज सामाजिक सञ्जाल फेसबुकबाट आफू निर्दोष रहेको बताएका हुन्। सन्दीपले आफू निर्दोष रहेको बताउँदै आधारहीन आरोपको सामना गर्न तयार रहेको बताएका छन्। वेस्ट इन्डिजमा रहेका सन्दीपले आफू केही दिनमा नेपाल फर्कने समेत बताएका छन्। उनले फर्कने मिति भने उल्लेख गरेका छैनन्।

७. चितवनमा दाना उद्योगमा आगलागी
पूर्वी चितवनको एक दाना उद्योगमा आगलागी भएको छ। राप्ती नगरपालिका–३ झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा गएराति आगलागी भएको हो। कुखुराको दाना राखिएको गोदाममा विद्युत् ‘सट’ भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। उद्योगका सञ्चालक किरणभूषण ओलील आगलागीबाट करिब एक करोड ५० लाख रुपैयाँको क्षति भएको बताए।

८. सर्पले डसेर दाङमा एक बालिकाको मृत्यु
सर्पले डसेर दाङमा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर गाउँपालिका-५ महतिनिखोला निवासी ११ वर्षीया सानुमाया विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार पौडेलले जानकारी दिए। गए राति घरमै सुतिरहेका बेला उनलाई देब्रे हातको औलामा सर्पले डसेको थियो।

९.बेलायती महारानी एलिजाबेथको निधन
बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन भएको छ। स्कटल्यान्डस्थित बालमोरल दरबारमा हिजो उनको निधन भएको हो। सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्राध्यक्ष हुन्। महारानी एलिजावेथको निधन लगत्तै राजकुमार चाल्र्स बेलायतको राजा बनेका छन्। दश दिनजतिको राष्ट्रिय शोक र श्रद्धाञ्जली कार्यक्रमपछि एलिजावेथको अन्तिम संस्कार गरिने बीबीसीले जनाएको छ। राजा बनेका चाल्र्सको औपचारिक गद्दी आरोहण कार्यक्रम भने शनिबार गरिने जनाइएको छ।

१०. महिला साफ : श्रीलंका र भुटान खेल्दै
नेपालमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा आज एक खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका ५ : ३० बजे सुरु हुने खेलमा श्रीलंका र भुटानबीच प्रतिस्पर्धा हुनेछ। समूह ’बी’ मा रहेको श्रीलंकाको यो पहिलो खेल हो। भुटानलाई हराएर श्रीलंका सुखद सुरुआतको योजनामा हुनेछ। भुटानको यो दोस्रो खेल हो। भुटान पहिलो जितको खोजीमा रहेको छ। पहिलो खेलमा भुटानलाई नेपालले ४–० ले हराएको थियो।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १० : ०२ बजे

केहीबेरमै जलमग्न काठमाडौंको चन्द्रमानसिंह मार्ग (तस्बिरहरू)  

काठमाडौं– काठमाडौं महानगरपालिका २५ नं वडाअन्तर्गत बाङ्गेमूढा थाहिथि चन्द्रमानसिंह मार्ग

गृहमन्त्रीले फेरि दोहोर्‍याए : ‘भिजिट भिसामा राजनीतिक प्रतिशोध साँधियो, मविरुद्ध षड्यतन्त्र गरियो’

काठमाडौं- गृहमन्त्री रमेश लेखकले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसा

कांग्रेसले भन्यो- ‘कुलिङ पिरियड’ व्यवस्थामा भएको छेडखानी क्षम्य हुँदैन

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा

समाज रूपान्तरणमा महिला र पुरुष कलाकर्मीको भूमिका बराबरी छ : उपसभामुख राना

काठमाडौं– उपसभामुख इन्दिरा रानाले नेपालको सामाजिक रूपान्तरणमा महिला र पुरुष

हवाई यात्रुलाई तर्साइरहेको अमेरिकी बोइङ ७८७ ड्रिमलाइनर !

एजेन्सी – भारतको अहमदाबादमा गएको जेठ २९ गते एयर इन्डियाको