मुटुरोगीको सङ्ख्या बढेकोमा चितवनका चिकित्सक चिन्तित | Khabarhub Khabarhub

मुटुरोगीको सङ्ख्या बढेकोमा चितवनका चिकित्सक चिन्तित


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवन जिल्लामा रहेका ठूला अस्पतालका मुटुरोग विशेषज्ञले एउटै मञ्चबाट उच्च रक्तचाप, मधुमेह, तनाव, मदिरा, सुर्तीजन्य पदार्थ, मोटोपन जस्ता कारणले दिनानुदिन मुटुरोगीको सङ्ख्या बढ्दै गएको बताएका छन् ।

मुटुरोगको उपचार गर्ने चिकित्सकको संस्था ‘नेशनल हर्ट एण्ड लङ्ग सोसाईटी’ नेपाल र कान्तिपुर हेल्थले आज चितवनमा आयोजना गरेको चिकित्सक–पत्रकार अन्तक्रिया कार्यक्रममा उनीहरुले आम नागरिकमा रोगबाट बच्नका लागि आवश्यक जनचेतना जगाउन नसकिएकामा चिन्ता पनि व्यक्त गरेका छन् ।

कार्यक्रममा भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा मणिप्रसाद गौतमले मुटु रोग तनाव, मधुमेह, धूमपान, व्यायामको अभाव, मदिरा, सुर्तीजन्य पदार्थको बढी उपभोगका कारण हुने गरेको बताए । उनले भने, “नेपालमा २८ देखि ३० प्रतिशत धूमपान गर्दछन् त्योभन्दा बढी सुर्ती खाने गर्दछन् ।”

वर्ष दिनमा एक पटक ७२ दशमलव आठ प्रतिशत नेपालीले मदिरा सेवन गर्ने गरेको अध्ययनले देखाएको भन्दै उनले ४८ दशमलव आठ प्रतिशतले नियमित मदिरा सेवन गर्ने गरेको जानकारी दिए ।

पन्ध्र वर्षदेखि ६९ वर्ष उमेरसम्मका समूहमा सन् २०१९ मा गरिएको सर्वेक्षणले यो तथ्य दिएको भन्दै उनले समयमा नियन्त्रण गर्न नसकेमा भविष्यमा समस्या जटिल बन्दै जाने बताए । नौ दशमलव एक प्रतिशत नेपालीमा मधुमेह रहेको भन्दै उनले थप १० प्रतिशत मधुमेहको जोखिममा रहेको बताए ।

उनले भने, “मधुमेहका बिरामीलाई मुटु रोग हुने उच्च सम्भावना हुन्छ ।” विश्वका १७ प्रतिशत मधुमहका रोगी भारतमा रहेको चर्चा गर्दै नेपाल र भारतको खानपान र जीवनशैली एउटै खालको भएकाले नेपाल पनि उच्च जोखिममा रहेको डा गौतमले बताए ।

उच्च रक्तचाप मुटु रोगका लागि बलियो कारक बन्दै गएको उनको भनाइ छ । उनले भने, “वयस्कमा २४ दशमलव पाँच प्रतिशत उच्च रक्तचाप रहेको छ ।”

नेपालमा मोटोपन र मोटोपन नभए पनि पेट ठूलो हुने हुँदा यो मुटुरोगका लागि जोखिम हुने पनि चिकित्सकले जानकारी दिए । सो अवसरमा चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीले खानपान र जीवनशैलीमा आएको परिवर्तनले मुटुरोगको समस्या बढ्दै गएको बताए ।

समयमा उपचार गर्न सकेमा जीवन बचाउन सकिने उल्लेख गर्दै उनले भने, “विश्वस्तर र काठमाडौँमा रहेका मुटुरोगमा उपयोग हुने प्रविधि अहिले चितवनमा नै छ ।” काठमाडौँको गङ्गालाल हृदयरोग केन्द्रमा १० वर्ष अनुभव हासिल गरेर विगत १० वर्षदेखि चितवनमा उपचारमा सक्रिय डा रेग्मीले उपचारका सबै सुविधा भए पनि आम नागरिकलाई विश्वास दिलाउन अझै नसकिएको बताए ।

उनले भने, “काठमाडौँका सरकारी अस्पतालको शुल्क र यहाँका निजी अस्पतालको शुल्क एउटै छ, प्रविधि उही छ, तर मोफसलको मानसिकताले बिरामी यहाँ उपचार गराउन हिच्किचाउँछन् ।”

हृदयघात भएका बिरामीलाई ३० देखि ९० मिनेटभित्र भल्व खोल्नुपर्ने भन्दै उनले यहाँ आधा घण्टाभित्रमा नशा खोल्न सकिने बताए । मुटुको उपचारको सेवा राजधानी बाहिर सुरु गरेसँगै धेरैको जीवन बचेको छ । डा रेग्मीका अनुसार कृत्रिम मुटु प्रत्यारोपण जस्ता प्रविधि विकास भएको भए पनि नेपालमा त्यो आइसकेको छैन ।

चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारीले मृत्यु भएका चार जना नेपालीमध्ये एक जनाको मृत्युको कारक मुटुरोग हुने गरेको भन्दै खानामा चिल्लो र गुलियो वस्तु घटाउन आग्रह गरे ।

पछिल्लो समय प्रदूषण पनि मुटुरोगको कारण बन्ने गरेको चर्चा गर्दै डा लौडारीले भने, “हावा प्रदूषणले २५ देखि २७ प्रतिशत मुटुका रोग निम्ताउँछन् ।” प्रदूषणले मुटुदेखि क्यान्सरसम्मका रोग निम्त्याउने उनको भनाइ थियो ।

तनाव मुटुरोगको अर्को कारण रहेको भन्दै उनले तनाव व्यवस्थापनमा लाग्न सुझाव दिए । जनचेतना जागृत गराउन विश्वभर मुटु दिवस मनाउने गरेको भन्दै उनले सबै मिलेर जनचेतना जगाउनुपर्नेमा जोड दिए ।

नारायणी सामुदायिक अस्पतालका मुटुरोग विशेषज्ञ डा सुधीर रेग्मीले छाती दुख्नु, रिंगटा लाग्नु, बेहोस् हुनु जस्ता मुटुरोगका लक्षण भएको बताए । छाती दुख्यो भनेर आउनेको मोटोपन, तनाव, पेसा आदि बुझेर मुटुरोगको शङ्का लागेमा थप परीक्षण गरिने जनाउँदै उनले भने “मुटुरोगको शङ्का लागेमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ ।”

मुटुरोगको आशङ्कामा आउने बिरामीलाई गरिने उपचार पद्दतिका बारेमा बताउँदै उनले मुटु रोगको आशङ्का लागेमा हेलचेक्र्याइ गर्न नहुने बताए । मुटुरोग जन्मजात पनि हुने भन्दै उनले ४० वर्षपछि मुटुरोग हुने जोखिम बढ्दै जाने बताए । सरकारले मुटुरोगका बिरामीलाई गर्ने सहयोग अपुग भएको भन्दै उपचार निःशुल्क गर्नुपर्ने बताए । उनले भने, “कम्तीमा मुटु रोगको आकस्मिक बिरामीलाई चाहिने औषधि र उपकरण निःशुल्क गर्नुपर्छ ।”

कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ डा मनोज श्रेष्ठले वंशाणुगत बाहेक मुटुरोगबाट बच्न सकिने बताए । उनले नेपालमा खानपान मुख्य समस्या रहेको भन्दै रातो मासु, चिल्लोयुक्त खाना, तेलमा भुटेको तारेका तयारी खाना खान नहुने बताए ।

उनले भने “खानामा फलफुलु र तरकारीको मात्रा बढाउनु पर्छ ।” शारीरिक व्यायाम गर्न सुझाव दिँदै उनले हप्तामा पाँचदेखि छ दिन २० देखि ३० मिनेट हिँड्न सुझाव दिए । उनले भने, “दश मिनेट जति दौडिँदा मुटुलाई धेरै राम्रो हुन्छ ।” उचाइका आधारमा तौल हुनुपर्ने भन्दै उनले धूमपान र मध्यपानबाट बच्नुपर्ने बताए ।

जिल्लामा मुटुरोग उपचारका लागि अत्याधुनिक उपकरणसहितका क्याथल्याब सञ्चालनमा छन् । यससँगै मुटुको शल्यक्रिया गरेर यही उपचार हुँदै आएको छ । उपस्थित चिकित्सकले मोफसलमा रहेर मुटुको राम्रो उपचार गर्न सकेकोमा खुसी व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ७ : १२ बजे

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक

रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र

चाडपर्वमा बढी भाडा नलिने गण्डकीका व्यवसायीको प्रतिबद्धता

कास्की – गण्डकी प्रदेशमा क्रियाशील रहेका विभिन्न यातायात समितिहरुले दसैँ

हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ : पूर्वमन्त्री साउद

काठमाडौं – पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले

सन् २०२८ सम्म भारतको डिजिटल अर्थतन्त्र १ खर्ब डलरको हुने

काठमाडौं – सन् २०२८ सम्म भारतको डिजिटल अर्थतन्त्र १ खर्ब