विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

आज असोज १२ २०७९, अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २८, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

इरानमा प्रदर्शन जारी : ७६ जनाको मृत्यु

हिरासतमा रहेकी एक युवतीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । विरोध प्रदर्शन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीको आक्रमणमा उनीहरुको मृत्यु भएको नर्वेस्थित मानव अधिकार समूह इरान ह्युमन राइट्स ९आइएचआर० ले जनाएको छ ।

मारिनेमा ६ महिला र ४ बालबालिका समेत रहेको बीबीसीले जनाएको छ । हालसम्म राजधानी तेहरानबाट उत्तरमा पर्ने गिलान र मजान्दरान प्रान्तमा मात्रै ३५ जनाको मृत्यु भएको र पश्चिमी अजरबैजान, केर्मानशाह, एलाम र कुर्दिस्तान प्रान्तमा अरु २४ जनाको मृत्यु भएको आईएचआरलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

यद्यपि सरकारी सञ्चार माध्यमहरुले प्रदर्शनमा ४१ जनाको मात्र मृत्यु भएको दाबी गरेका छन् । यसका लागि प्रदर्शनकारीहरु नै जिम्मेवार रहेको इरानको सरकारले आरोप लगाएको छ ।

आचरणसम्बन्धी प्रहरीले पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर १२ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीले सयौँ प्रदर्शनकारीलाई पक्राउ गरेको जनाइएको छ ।

पक्राउ पर्नेमा २० जना पत्रकार पनि रहेको बीबीसीले जनाएको छ । हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया महसा अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो ।

उत्तर पश्चिमी सेकाज सहरबाट राजधानी तेहरान भ्रमण गर्न आएकी उनलाई खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

सरकारले अचानक लकडाउन घोषणा गरेसँगै चीनको सेन्जेनमा प्रदर्शन

केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औद्योगिक केन्द्र सेन्जेन सहरमा सरकारले अचानक लकडाउन घोषणा गरेपछि सर्वसाधरणले विरोध प्रदर्शन गरेका छन् । दुर्लभ मानिएको उक्त प्रदर्शनमा दर्जनौँ मानिस सहभागी भएको भिडियो फुटेज सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले उक्त भिडियो फुटेजको सत्यता पुष्टि गरेको सिंगापुरमा आधारित च्यानल न्यूज एसियाले जनाएको छ । एएफपीका अनुसार यस प्रदर्शन सेन्जेन सहरको फुटियान जिल्लास्थित शेवेई क्षेत्रमा स्थानीयले प्रदर्शन गरेका हुन् ।

१ करोड ८० लाखभन्दा बढी मानिसहरूको बसोबास रहेको उक्त सहरमा मंगलबार मात्र १० जनामा संक्रमण भएको जनाइएको थियो । कोभिड शून्य नीति लिएको चीनमा अधिकारीहरूले अझै पनि तीन जिल्लाका बासिन्दाहरूलाई घरमै बस्न आदेश दिएका छन् ।

ट्वीटर जस्तै चीनको सामाजिक सञ्जाल वेबोमा पोस्ट गरिएको भिडियोमा दर्जनौँ मानिसले ‘कोभिड लकडाउन हटाऊ’ भन्दै सरकारविरुद्ध नाराबाजी गरेको देख्न सकिन्छ । एउटा क्लिपमा एउटी महिलाले ‘प्रहरीले मानिसहरूलाई कुटिरहेको छ ।’ भनेर चिच्याएको सुन्न सकिन्छ ।

शून्य कोभिड नीति चीनमा अलोकप्रिय बन्दै गएको टिप्पणी गरिन्छ । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन सुरु हुन थोरै समयमात्रै बाँकी रहेको अवस्थामा चिनियाँ राष्ट्रपति सी जिन्पिङसामु मुलुकमा जारी कोभिडविरुद्धको अभियानलाई उचित व्यवस्थापन गर्न दबाब बढ्दै गएको बताइएको छ ।

क्युबामा आँधीको प्रकोप

क्यारेबियन सागरमा अवस्थित टापु मुलुक क्युबामा आँधीपछि १० लाख मानिस विद्युतविहीन भएका छन् । इयान नाम दिइएको आँधीका कारण एक जनाको मृत्युको भएको छ भने भवन तथा भौतिक संरचनामा ठूलो क्षति भएको बीबीसीले जनाएको छ ।

क्युबाली अधिकारीहरूले मुलुकको ६ वटा क्षेत्रमा आपतकाल घोषणा गरेका छन् । मौसम पूर्वानुमान गर्ने निकायहरूले आँधी प्रभावित क्षेत्रमा अचानक बाढी पहिरो आउनसक्ने चेतावनी दिएका छन् ।

आँधीबाट भएको क्षतिको अवलोकन गर्न क्युबाका राष्ट्रपति मिगुएल डियाज कनालले आँधी प्रभावित क्षेत्रको भ्रमण गरेको जनाइएको छ ।

यस आँधी १९५ किलोमिटर प्रतिघण्टा (१२० माइल प्रतिघण्टा) को गतिमा अहिले अमेरिकाको फ्लोरिडा राज्यतर्फ बढिरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

करिब एक शताब्दीमा पहिलो पटक फ्लोरिडाका केही क्षेत्रले तीव्र गतिमा आएको आँधीको सामना गर्न लागेको मौसमविद्हरुले जनाएका छन् । मंगलबार रातिसम्म आँधी मेक्सिकोको दक्षिण–पूर्वी खाडीबाट अझ बलियो हुँदै अघि बढेको थियो ।

फ्लोरिडाका गर्भनर रोन डिसान्टिसले आपतकाल घोषणा गरेका छन् । उनले प्रभावित क्षेत्रमा उद्दारको प्रयासका लागि ५ हजार राष्ट्रिय गार्डलाई परिचान हुन आदेश दिएका छन् ।

विश्वव्यापी आर्थिक मन्दी आउनसक्ने डब्लूटीओको चेतावनी

विश्व व्यापार संगठन (डब्लूटीओ) ले विश्वव्यापी मन्दी आउनसक्ने संकेत दिएको छ । विभिन्न संकटका कारण देश विश्वको अर्थतन्त्र विश्वव्यापी मन्दीतर्फ अघि बढिरहेको डब्लूटीओकी महानिर्देशक न्गोजी ओकोन्जो इबेआलाले चेतावनी दिएकी हुन् ।

आर्थिक वृद्धिलाई पुनःजीवित पार्न क्रान्तिकारी नीतिका लागि उनले आह्वान गरेकी छिन् । युक्रेनमा जारी युद्ध, खाद्यान्नको बढ्दो मूल्य, उर्जाको मूल्यमा आएको उतारचढाव र कोभिड महामारीको परिणामले विश्व आर्थिक मन्दीको अवस्था सृजना गरेको जनाइएको छ ।

‘अब हामीले आगामी दिनमा मन्दी जस्तो देखिने मौसमको सामना गर्नुपर्नेछ’, उनले जेनेभामा एक कार्यक्रम उद्घाटनका क्रममा भनिन्, ‘मलाई लाग्छ विश्वव्यापी मन्दी, हामी विस्तारै अगाडि बढ्दै गरेको पनि त्यतै तिर हो भन्ने मलाई लाग्छ । तर, रिकभरीको लागि पनि हामीले सोच्न सुरु गर्नुुपर्छ । हामीले आर्थिक वृद्धि पुन जगाउनुपर्छ ।’

उनले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष दुबैले विश्वव्यापी वृद्धि प्रक्षेपणलाई घटाएको उल्लेख गरिन् । अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार उनले व्यापारिक तथ्याङ्क सूचकहरू पनि ‘धेरै राम्रो नदेखिएको’ बताइन् ।

नाइजेरियाको पूर्व अर्थ र विदेशमन्त्री समेत रहेकी इबेआलालो केन्द्रीय बैंकहरु कठिन ठाउँमा रहेको बताउँदै अगाडिको मार्गमा थोरै मात्र विकल्प रहेको बताइन् ।

युगान्डामा इबोलाको प्रकोप

अफ्रिकी देश युगान्डामा ३६ जनामा इबोला भाइरस संक्रमणका घटना देखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

गत साता प्रकोप फैलिएको घोषणा गरेयता ३६ जनामध्ये १८ जनामा संक्रमण पुष्टि भएको र बाँकी १८ जनामा संभावित संक्रमण देखिएको डब्लूएचओको भनाइ छ । मध्य युगान्डाका तीन जिल्लाहरुमा मृत्यु भएका २३ जनामध्ये पाँच जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

युगान्डामा देखिएको इबोलाको प्रकोपका लागि सुडान प्रजातिको भाइरस जिम्मेवार रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

डब्ल्यूएचओले युगान्डामा सन् २०१२ पछि पहिलो पटक इबोलाको प्रकोप देखिएको बताएको छ ।

यसैबीच आफूहरूलाई सुरक्षित मेडिकल सामग्री उपलब्ध नगराएको भन्दै मुबेन्डे जिल्लामा रहेको अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

आफूहरुलाई सुरक्षित किट उपलब्ध नगराएको भन्दै ३४ चिकित्सकहरुले अस्पतालमा काम गर्न अस्वीकार गरेको बीबीसीले जनाएको छ ।

चिनियाँ विशेषतासहितको समाजवादमा राष्ट्रपति सीको जोड

चिनियाँ राष्ट्रपति सी जिन्पिङले चिनियाँ विशेषतासहितको समाजवादको नयाँ विजयतर्फ दृढ सङ्कल्पका साथ अगाडि बढ्न साझा प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले विगत एक दशकमा पार्टी र देशले हासिल गरेका उत्कृष्ट उपलब्धिहरूको प्रदर्शनीको भ्रमण गर्दै उक्त टिप्पणी गरेका हुन् ।

दलाई लामाको पुनर्जन्मबारे चीन सरकारले भ्रम फैलाएको तिब्बती प्रशासनको आरोप

निर्वासनमा रहेको तिब्बत सरकारले १४ औँ दलाई लामाको पुनर्जन्मबारे चीनले भ्रम फैलाइरहेको आरोप लगाएको छ ।

केन्द्रीय तिब्बती प्रशासन (सीटीए) ले विज्ञप्ति जारी गर्दै दलाई लामाको पुनर्जन्मबारे चीनले भ्रम फैलाइरहेको आरोप लगाएको हो ।

सीटीएले सार्वजनिक गरेको विज्ञप्तिमा सन् २००७ यता तिब्बती बौद्ध धर्ममा पुनर्जन्मबारे नयाँ नीति अघि सारेर चीनले दलाई लामाको पुनर्जन्मलाई आफ्नो राजनीतिक स्वार्थसँग जोडेको आरोप लगाएको छ ।

यस्तै, सीटीएले चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरुले तिब्बती बौद्ध धर्ममा पुनर्जन्म प्रक्रियाबारे भ्रामक प्रचार गरेको समेत आरोप लगाएको छ ।

दलाई लामाले आफू ११३ वर्षसम्म बाँचिरहने बताएको अवस्थामा तिब्बती परम्पराअनुसार पुनर्जन्ममा विश्वास नराख्ने कुनै पनि पक्षले यसबारे हस्तक्षेप गर्न नहुने सीटीएले जनाएको छ ।

‘लामा÷टुल्कुहरुको पुनर्जन्म तिब्बती बौद्ध परम्पराको मौलिक पद्धती हो ।’ विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि विगत र भविष्यको जीवनप्रति विश्वास रहेको हुनु जरुरी छ ।’

यसबाहेक सीटीएले आफ्नो पुनर्जन्म र उत्तराधिकारीबारे दलाई लामाको व्यक्तिगत निर्णय नै सर्वोपरी हुने समेत जनाएको छ ।

तालिबानले बन्दीहरुको हत्या गरेको राष्ट्रसंघको आरोप

अफगानिस्तानमा तैनाथ संयुक्त राष्ट्रसंघीय नियोगले तालिबानका लडाकुले मुलुकको पञ्जशीर प्रान्तमा बन्दीहरुको हत्या गरेको आरोप लगाएको छ ।

अफगानिस्तानमा तैनाथ संयुक्त राष्ट्रसंघको नियोग (युनामा) ले तालिबानका लडाकुले बन्दीहरुको हत्या गरेको सूचना ‘विश्वसनीय’ रहेको जनाएको हो ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय सहायता मिसन (युनामा) ले विज्ञप्ति जारी गर्दै मुलुकको पञ्जशीरमा तालिबान लडाकुले बन्दीहरुको हत्या गरेको सूचना विश्वसनीय भएको जनाएको हो ।

उक्त प्रान्तमा नेशनल रेजिस्टेन्स फ्रन्ट एनआरएफ नामक समूहले तालिबानविरुद्ध सशस्त्र अभियान सञ्चालन गर्दै आएको छ ।

अफगानिस्तानबाट प्रकाशित हुने खामाप्रेसका अनुसार केही समयअघि तालिबानका लडाकुले एनआरएफका संदिग्ध लडाकुलाई गोली हानेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

युनामाले घटनाबारे निष्पक्ष छानबिन गर्न र घटनामा संलग्नलाई कारवाही गर्न समेत तालिबानसमक्ष माग गरेको छ ।

इन्डोनेसियामा पहिरो ६ जनाको मृत्यु

इन्डोनेसियामा पहिरोमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । परम्परागत सुन खानीमा गएको पहिरोमा परी अरु तीन जना हराइरहेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

देशको दक्षिणी कालिमान्तान प्रान्तमा भएको घटनामा परी हराइरहेकाहरूको खोजी भइरहेको समाचारमा जनाइएको छ । खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, स्थानीय बासिन्दा, स्वयम्सेवक लगायत परिचालित छन् ।

मृत्यु भएका र डराईरहेका सबै जना खानीका मजदुर नै रहेको खोजी तथा उद्धार कार्यमा खटिएकाहरूलाई बताएका छन् ।

“अहिलेसम्म छ ओटा शव भेटिएको छ, अरु तीन जना अझै पनि हराइरहेका छन्, हराइरहेकाहरूको खोजी कार्य भइरहेको छ,” स्थानीय एक अधिकारीले सिन्ह्वासँग टेलिफोनमा भने ।

घटनास्थल निकै दुर्गम क्षेत्रमा पर्ने भएकाले थप विवरण आउन बाँकी नै रहेको पनि ती सरकारी अधिकारीले जानकारी दिएका छन् ।

पाकिस्तानमा फेरि अहमदिया मुसलमानको चिहान भत्काइयो

पाकिस्तानमा फेरि अल्पसङ्ख्यक अहमदिया समुदायका मानिसहरुको चिहान भत्काइएको पाइएको छ ।

हालैमात्र पाकिस्तानको लाहोर सहरबाट १५० किलोमिटर टाढा रहेको फैसलावादमा अज्ञात व्यक्तिहरुले अहमदियाहरुको १६ वटा चिहान भत्काएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

अहमदिया समुदायका प्रवक्ता अमिर महमुदले ७५ वर्षमा पहिलो पटक सो क्षेत्रमा अहमदियाहरुको चिहान भत्काइएको बताए । उनका अनुसार सो क्षेत्रमा उग्रवादी इस्लामिक धर्मगुरुहरुले हालैमात्र अहमदियाविरुद्ध उत्तेजक प्रवचन दिएका थिए ।

यसअघि पनि पाकिस्तानका विभिन्न स्थानहरुमा अहमदिया समुदायको चिहान भत्काइएको समाचार सार्वजनिक हुँदै आएका छन् ।

इस्लाम धर्म मान्ने भएपनि पाकिस्तानले अहमदियाहरुलाई मुसलमानको सूचीमा नराख्ने गरेको बताइन्छ ।

अल अरबिया पोस्टका अनुसार पाकिस्तानी अपराध संहिताको २९८ धारामा अहमदियाहरुका लागि आफूलाई मुसलमान भन्न र आफ्नो आस्थाको प्रचार गर्न प्रतिबन्ध लगाइएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ८ : ०० बजे

गङ्गा दशहरा पर्व विशेष : गोसाइँकुण्डमा चलहपहल सुरु

रसुवा–  गङ्गा दशहरा पर्वको पावन अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरू लैजाने

‘सनअफ सरदार’ का भिलेन मुकुल देवको बिमार राखियो गोप्य ! को थिए उनी ?

काठमाडौं – चर्चित भारतीय कलाकार मुकुल देवको ५४ वर्षको उमेर

एमाले सचिवालय बैठकपछि जुटे दुई दलका शीर्ष नेता, गृहमन्त्री लेखक पनि सहभागी

काठमाडौं- च्यासलमा नेकपा एमालेको सचिवालय बैठक सकिएलगत्तै बालुवाटारमा दुई सत्तारुढ

चार सयबढी पर्यटकले अवलोकन गरे बाँके निकुञ्ज

नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्जमा चार सयभन्दा बढी आन्तरिक तथा