प्रहरीका पीडा : कोठाभित्रै त्रिपालको सहारा « Khabarhub

प्रहरीका पीडा : कोठाभित्रै त्रिपालको सहारा


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बझाङ– गत हप्ता प्रहरी सहायक निरीक्षक मानबहादुर पालको टोली गस्तीमा सुवेडा पुग्यो । दिनभर परेको पानीले पालसहित अन्य दुई प्रहरी जवान निथ्रुक्क भिजे । पानी पर्दै थियो उहाँहरू राति ८ बजे मात्रै विमानस्थल प्रहरी चौकीमा पुगे । चौकीमा पुग्दा डिउटी सकेर आएकाहरू आ–आफ्नो कोठामा जानुभयो । कोठा भने बाहिरको भन्दा बढी भिजेको थियो । कोठाका भित्ताहरू पूरै भिजेर हिलाम्य भएका थिए । ओछ्यान र भुइँ पनि उस्तै । ‘बिहान गस्ती जाने बेलामा आकाश उज्यालै थियो’, प्रहरी सहायक निरीक्षक पालले भने, ‘दिउँसो यस्तो पानी पर्ला भन्ने सोचाइ नै भएन । कोठाभित्र त्रिपाल टाँग्न पनि बिर्सिएछु । साँझ त यस्तो हालत ।’

प्रहरी सहायक निरीक्षक पालको कोठामा मात्रै होइन, विमानस्थल सुरक्षाको जिम्मेवारीमा खटिएका सबै प्रहरी कर्मचारीको अवस्था त्यही छ । झरी पर्दा त्रिपाल नलगाउने हो भने कोठाभित्र बस्नै सकिन्न । ‘प्रचण्ड गर्मीमा पनि तातो जस्ता छानाले शरीरै जलाउने जसरी पोल्छ’, उनले भने , ‘बाध्यताले बस्नै पर्छ ।’

देवल विमानस्थलमा प्रहरी चौकी बसेको दुई दशकभन्दा बढी भइसक्यो । विमानस्थल बन्नुभन्दा अगाडिदेखि नै निर्माणाधीन विमानस्थलको सुरक्षाका लागि जस्ताको भवनमा प्रहरी चौकी बसेको थियो । त्यो भवन न अहिलेसम्म फेरियो न त त्यसको छानो नै । धुजाधुजा भइसकेको भवनमा अहिले पनि प्रहरी सहायक निरीक्षकको टोली त्यही ठाउँमा बसेर शान्ति सुरक्षा दिइरहेको छ ।

विमानस्थलको चौकी मात्रै होइन, अन्य ठाउँमा पनि प्रहरीका भवनहरू नहुँदा प्रहरी एकाइहरू बिचल्लीमा छन् । अहिले कतै भाडामा त कतै सामुदायिक भवनहरूमा राखिएका छन् । चौबिसे घण्टा डिउटी गरिरहनुपर्ने जिल्ला अस्पताल अगाडिको प्रहरी पोष्ट लामखुट्टेको घर जस्तै देखिन्छ । वल्लोपल्लो घर तथा अस्पतालको फोहोर जलाउने ठाउँ त्यतै भएको हुँदा लामखुट्टेले एकै ठाउँमा उभिन दिँदैन । डिउटीमा बसेका एक प्रहरी जवानले भने, ‘पोष्टभित्र बस्दा सिधै झुलभित्र छिनुपर्छ । बाहिर एकै ठाउँमा उभिए माहुरीको गोलोमा आएजस्तै लामखुट्टे आउँछन् ।’ 

उनले सडक छेउमा सवारी जाँजका लागि रोक्नुपर्ने हुँदा पनि बढी लामखुट्टे आउने गरेको बताए । ‘गाडी जाँच गर्दा पनि धुवाँ थुप्रिन्छ । दिनमा दर्जनौँ सवारी जाँच गर्दा अन्य ठाउँको भन्दा बढी लामखुट्टे बढ्न थालेका हुन्’, उनले भने । अस्पताल अगाडिको पोष्टमा चुहिने अवस्था पनि उस्तै छ । पुरानो भइसकेको जस्तापाताबाट रङ गइसकेको छ । ‘पानी पर्दा २० प्रतिशत जति भित्रै आउँछ,’ उनले भने, ‘डिउटी त गर्नुपर्‍यो ।’ 

छविसपाथिभेरा गाउँपालिकामा प्रहरी चौकी लामो समय विद्यालयको भवनमा थियो । शान्ति मावि चौघानपाटाले भवन दिएपछि चौकी बसेको हो । अहिले भने स्थानीयवासीले शान्ति सुरक्षाका लागि जमिन उपलब्ध गराएपछि बगडगाउँमा प्रहरी चौकीको भवन बनेको छ ।

बझाङ प्रहरी प्रमुख जागेश्वर भण्डारीका अनुसार अहिले जिल्लामा २९ वटा प्रहरी युनिट छन् भने नौ वटा अस्थायी प्रहरी पोष्ट रहेका छन् । तर, अहिलेसम्म चार ठाउँमा मात्रै प्रहरीका आफ्नै भवनहरू छन् । ‘जिल्ला प्रहरी कार्यालय, बुङ्गल नगरपालिका, तलकोटको मेलबिसौना र छविसपाथिभेराको बगडगाउँबाहेक अन्य ठाउँमा आफ्नै भवनहरू छैनन्’, उनले भने, ‘प्रहरी युनिट तथा अस्थायी प्रहरी पोष्टका लागि जमिन पनि खोजिरहेका छौँ । ‘उनका अनुसार प्रहरी चौकी बस्न कम्तिमा पाँच रोपनी जमिन चाहिन्छ ।

‘प्रहरीको आफ्नै भवनका लागि पाँच रोपनी जमिन चाहिन्छ । त्यो पनि नम्बरी, खुला ठाउँमा’, उनले भने, ‘हामीले सबै ठाउँमा जग्गाको खोजी गरिरहेका छौँ । जता भेटिन्छ, त्यो जमिन किन्छौँ र प्रहरीको भवन निर्माण गर्छौ ।’ उनले जिल्लामा अहिलेसम्म खोजेजस्तो जग्गा नपाएकाले प्रहरी चौकी निर्माणमा ढिलाइ भएको बताए ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ६ : ४७ बजे

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा

सुकुम्वासी बस्तीमा डोजरले भत्काएको मानवीय संवेदना

काठमाडौं- काठमाडौँको थापाथलीस्थित बागमती किनार लगायत खोला किनार छेउका सुकुम्वासी

पर्यटकीय गन्तव्य दोभान सडक सञ्जालमा जोडियो

म्याग्दी– यहाँको धवलागिरी गाउँपालिका–४ स्थित पर्यटकीयस्थल दोभान सडक सञ्जालमा जोडिएको

नेकपाको महाधिवेशन आगामी मङ्सिर ११-१५ गतेसम्म काठमाडौंमा हुने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना

धोबीखोला ‘करिडोर’का पक्की घर भत्काउन थालियो

काठमाडौं– काठमाडौँ महानगरपालिका–१० धोबीखोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका