काठमाडौँ : देशमा नयाँ सरकार बनाउन कसरत भइरहँदा एकातर्फ राजनीतिक दलहरू बिच सरकारको साँचो कसले समाउने भनेर रस्साकस्सी चलिरहेको छ । अर्को तर्फ राष्ट्रपतिबाट प्रधानमन्त्रीको लागि दाबी पेश गर्न ७ दिनको समयसीमासहित आह्वान भएको छ । पुस १० गते साँझ, ५ बजे समय तोकेरै दलहरूलाई उम्मेदवार छनोट गरेर ल्याउनको लागि राष्ट्रपति कार्यालयले आग्रह गरेको हो । यस्तो अवस्थामा गठबन्धनले अहिलेसम्म प्रधानमन्त्री यो भनेर भन्न सकिरहेको छैन । प्रमुख घटक कांग्रेस र माओवादीबीच बेमेल भइरहेको छ । यसै विषयमा आधारित भएर वरिष्ठ पत्रकार किशोर नेपालसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंशः
निर्वाचनमा गठबन्धनले सोचेको जस्तो बहुमत ल्याउन सकेन, एमाले दोस्रो स्थानमा रहेको छ, यो निर्वाचनले कस्तो राजनीतिक सन्देश दियो ?
यो निर्वाचन एउटा औपचारिकता थियो । ५ वर्ष सकिएपछि अर्को निर्वाचन गर्नु पर्ने बाध्यता थियो । अघिल्लो ५ वर्षको संसद्मा पटक पटक संसद् विघटन, पटक पटक राष्ट्रपतिको हस्तक्षेप, एमाले र माओवादी बिचको झगडाले गर्दा एउटा अनिश्चयको वातावरणको कारणले भयो ।
यसमा जनताले हारेर राजनीतिक दलले जितेको हो ?
जनताले कहिले पनि हार्दैनन्, नेताहरूले विगतमा हामीले के गलत गर्यौँ त भनेर सोच्नु पर्यो ।
मूलधारका राजनीतिक दलहरूले जसरी मत पाउनु पर्ने थियो त्यो मत अर्को नयाँ दलको उदयलाई हामीले कसरी लिने ?
नयाँ दलहरूले काम गर्ने दिन आउँदै छ । ती पनि यही वातावरणबाट आएका हुन् कसैलाई पनि गाली गर्ने ठाउँ छैन । आजको दिनमा सबै दलहरूले आधारभूत रूपले हामी यही गछौँ भनेर आएका छैनन् । उही पुरानो घोषणा पत्र लिएर आए त्यसमा जनताले सोचे अनुसारको फल पाउन सकेनन् । उनीहरूले त्यस्तो काम गरेनन् जुन जनताको आवश्यकता पुरा भयो । त्यस कारण जनताले नयाँ दलहरूको उदयलाई स्वीकारे । जनतासामु जाँदा शरणार्थी जस्तो भएर जानु पर्यो मालिक हुँ भनेर हुन्छ त ।
राजनीतिमा दलहरू सत्ताको पछि लागेका हुन् त ?
गठबन्धन भनेको कुनै अपराध हैन गठबन्धन मत मिल्ने सँग हुनु पर्दछ । कांग्रेस र माओवादीको गठबन्धन शान्तिका पक्षमा मिलेर काम गर्नु पर्ने थियो त दुवै मिलेन । विकासका आधारहरू बन्नु पर्ने थियो । युवा पलायन हुन पर्दैनथ्यो ।
यो नहुनुमा कसको दायित्व पुगेन त ?
राज्य बनाउन दुई दल मिलेर हुँदैन । सबै दलहरू मिल्नु पर्यो । यहाँ कम्युनिस्ट कम्युनिस्टहरू त मिल्न सकेनन् । अहिले प्रचण्डले कांग्रेस साग समीकरण बनाउनु भएको छ त्यसलाई निर्णयमा पुर्याउने त उहाँहरूको काम नै हो ।
राष्ट्रपति प्रधानमन्त्रीको लागि ७ दिनको समय दिएर राजनीतिक दलबाट प्रधानमन्त्री को भन्ने खालको सूचना जारी भयो, त्यसमा प्रधानमन्त्री पहिला की संसद्को शपथ पहिला हुनु पर्ने के हो ?
हुनु पर्ने पहिला नयाँ संसद्हरू आफ्नो ठाउँमा बसेर मात्र राष्ट्रपति चयन हुनु पर्ने हो । राष्ट्रपतिलाई विधि मिच्ने बानी परेको छ । निर्वाचन आयोगले परिणाम घोषण गरेर दिने बित्तिकै समय दिनु पर्दैन । पहिला संसद् गठन भए पछि पो सरकार बन्छ त । सबै निर्वाचित प्रतिनिधिलाई राष्ट्रपतिले बधाई दिनु पर्याे, आह्वान गर्नु पर्यो । ज्येष्ठ सांसदले शपथ ग्रहण गर्नु पर्याे । अनि मात्र सरकार बनाउने कुरा हुन्छ ।
यसले अब कस्तो असर पर्ला ?
राष्ट्रपतिको प्रतिष्ठा गुम्दै गएको छ । राष्ट्रपति स्वेच्छाचारी बनेको देखियो । मैले जे गरे पनि हुन्छ भन्ने छ । त्यसैले अब राष्ट्रपति चुन्दा देश भक्तलाई चिन्नु पर्दछ । अहिले निहित स्वार्थ पुरा गर्न आफ्नो मान्छे राष्ट्रपति लागि ल्याएको छन् । देउवा, प्रचण्ड, ओली जो प्रधानमन्त्री बने पनि देशले केही पाउँदैन, बाह्य शक्तिबाट उनीहरू परिचालित छन् ।
अहिले सरकार बनाउन पनि निहित स्वार्थबाट खोजेको छ ?
हो, । को मन्त्री बन्छ र कसलाई मन्त्री बनाउने भनेर दलका नेताहरूले मात्र गर्दैनन् । किनभने हिजो चुनावमा धेरै पैसा खर्च भएको छ । त्यो खर्च असुल्न भए पनि बाह्य शक्तिबाट नै गर्ने छन् । यसै गर्दै गए भने सबै पुराना नेता फलाटिनका कपडा जस्तै हुन्छन् ।
राजनीति जसले कुरा गर्न जान्यो, त्यसले गर्न सक्ने हो ?
आजको राजनीति त्यही हो । अब गणतन्त्र आउँछ तर राम्रो आउँछ । राजनीति भनेको नै निराशा नै निराशा बिचका आशा हो । आज नभए भोलि त राम्रो होला भन्ने छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जसरी भए पनि प्रधानमन्त्री बन्छु भनेर कसरत गरिरहनु भएको छ, एकातर्फ परिवर्तन र अर्को तर्फ त्यो परिवर्तनमा क्षयीकरण यसले लाने बाटो के हो त ?
उहाँले नेतृत्व गर्न पाउँछु भन्न पाउनु हुन्छ । उहाँलाई दिने नदिने समितिले भन्ला । यहाँ विकेन्द्रीकरणबाट विकास हुन्छ भन्ने कुरा बिर्सिए हुन्छ किनभने विविध जात, भाषा, संस्कृति, शिक्षा भएको देशमा विकेन्द्रीकरण गरे सबै ल्याउँछु भन्न छ राजाले नै ल्याई हाल्थे नि । यो बेला भनेको जनताले बोल्ने हो । विकास खोज्ने हो । सङ्घीयतालाई बलियो बनाउनु पर्दछ । अब नयाँ मान्छे चाहियो जसमा नैतिकता, नयाँ ज्ञान हुनु पर्याे ।
अहिलेको नयाँ सरकारकाको नेतृत्वको सम्भावना कसको छ ?
जसले दिए पनि हुन्छ । मेरो लागि प्रचण्ड, देउवा, माधव नेपाल, गगन थापा, शेखर कोइराला यी सबै मलाई एउटै लाग्छ । कुनै फरक छन् अनुहार फरक छ बिचार एउटै हो यिनीहरूबाट देशको कुनै विकास होला जस्तो मलाई लाग्दैन ।
(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)
प्रतिक्रिया