रातो च्याउ र गोल्डेन स्याउले फेरिँदै गुर्जाली | Khabarhub Khabarhub

रातो च्याउ र गोल्डेन स्याउले फेरिँदै गुर्जाली


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– म्याग्दीको सबैभन्दा दुर्गम गाउँका रुपमा चिनिएको धवलागिरि गाउँपालिका-१ मा पर्ने गुर्जा पछिल्लो समय पर्यटन र जडीबुटीमार्फत देशविदेशमा परिचित हुन थालेको छ । केही वर्षअघिसम्म ‘जीवित मानव सङ्ग्रहालय’ भनेर व्यङ्ग्य गरिने गुर्जा अहिले भने प्राकृतिक स्रोत, जडीबुटी अनि इटालियन गोल्डेन स्याउका कारण चर्चामा छ ।

यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवा र अन्य जडीबुटी मात्रै होइन गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेतीसमेत सुरु गरिएपछि अहिले गुर्जाको परिचय फेरिएको हो । आजभोलि देशभित्र र विदेशमा समेत गुर्जा गाउँलाई ‘हर्बल हब’ भन्न थालिएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए। उनका अनुसार गुर्जामा इटालियन जातको उच्च घनत्वको स्याउका बिरुवा काठमाडौँदेखि लगेर रोपिएको छ ।

कृषि ज्ञानकेन्द्र म्याग्दीको ५० प्रतिशत र धवलागिरि गाउँपालिकाको ७५ प्रतिशत अनुदान सहयोगमा गुर्जाका २५ किसानले  इटालियन जातको स्याउका आठ सय बिरुवा लगाएका हुन् । गुर्जामा सुरु गरिएको स्याउको व्यावसायिक खेती जिल्लाकै पहिलो हो । राम्रो फल नदिएपछि गुर्जावासीले पुरानो स्याउको बगैँचालाई मासेर विदेशबाट आयातित उच्च घनत्वको हाइब्रिड जातको स्याउ लगाएका हुन् । 

गुर्जा गाउँबाट ढोरपाटन, गुर्जा, पुथाचुरेन हिमालको बेस क्याम्पको एउटै पदमार्गबाट रुकुम निक्लने यार्सा पदमार्ग पर्दछ  । बेस क्याम्पबाटै डोल्पा, गुर्जाबाट धौलागिरि बेस क्याम्प पुग्न सकिने भएकाले ‘एडभेञ्चर ट्रेल हब’ का रुपमा पनि परिचित हुन थालेको वडाध्यक्ष छन्त्यालले जानकारी दिए।

गुर्जा गाउँ म्याग्दीका अल्पसङ्ख्यक छन्त्याल जातिको बसोबास रहेको गाउँ हो । गुर्जा, चुरेनपुथा हिमालको फेदीमा रहेको गुर्जा गाउँबाट सबैभन्दा नजिकको मानव बस्तीमा पुग्न कम्तीमा आठ घण्टा पैदलयात्रा गर्नुपर्ने हुन्छ । पर्यटक गुर्जा हुँदै ढोरपाटन, गुर्जा हिमाल, पुठा हिमाल र चुरेन हिमालका आधार शिविर क्षेत्रको भ्रमणमा जाने गर्दछन् । गुर्जा गाउँ पर्यटकलाई मन पर्ने गाउँमा पर्दछ । 

गुर्जा गाउँमा दुई सय ५८ घरपरिवारले बसोबास गर्दछन् । गुर्जा गाउँ छन्त्याल जीवन, सभ्यता र संस्कृति चिहाउन सकिने आँखीझ्याल पनि भएको म्याग्दीका पर्यटन अभियानकर्मी राजेश शाक्यले बताए। उनका अनुसार परम्परागत शैलीका घर, मौलिक कला, संस्कृति अनि सरल र मिजासिला अल्पसङ्ख्यक छन्त्याल समुदायको जीवनशैलीलाई बुझ्न र रमाउन गुजार्मा आन्तरिक तथा बाह्य पर्यटक जान थालेका छन् ।

गुर्जाबाट दलसिङ्गे खर्क, भुजुङ्गेखर्क, गुर्जा बेसक्याम, चुरेन बेसक्याम्प, पुथा बेसक्याम्प हुँदै रुकुमको टकसेरासम्मको पदमार्ग पर्दछ । यो रुटमा यार्सागुम्बा पाइने मुख्य क्षेत्र पर्ने भएकाले पदमार्गको नाम यार्सा ट्रेल राखिएको छ । गुर्जा गाउँ समुद्र सतहबाट तीन हजार दुई सय २० मिटर उचाइमा रहेको छ । गुर्जा गाउँ हिउँदका चार महिना बाक्लो हिउँले ढाकिन्छ । 

गुर्जागाउँ पुग्न म्याग्दीको लुलाङ, मुदी गाउँ र बागलुङको ढोरपाटन क्षेत्रबाट गरी जम्मा तीन वटा बाटो रहेका छन् । यी सबै बाटोमध्ये जुनबाट यात्रा गरे पनि जङ्गलको बाटो यात्रा गर्नुपर्दछ । गुर्जा गाउँ पुगेपछि पर्यटक ढोरपाटन पुग्ने गर्दछन् । ढोरपाटनमा सिकार आरक्ष रहेको छ । धौलागिरि हिमशृङ्खलाको सेरोफेरोमा यो आरक्षले प्रत्येक वर्ष हजारौँ पर्यटकलाई आकर्षण गराएको छ ।

जडीबुटीबाट मनग्ये आम्दानी हुन थालेपछि गुर्जाको बाँझो जमिनमा स्थानीयवासीले जडीबुटी खेती गर्न थालेका छन् । खाली तथा बाँझो रहेको सार्वजनिक जग्गामा एक सहकारीले अतिस जातको जडीबुटी लगाएको हो । गुर्जामा सञ्चालित हिमाली कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध किसानले अतिसको व्यावसायिक खेती सुरु गरेका हुन् । खाली तथा पाखो जमिनका रुपमा रहेको सार्वजनिक जग्गामा सामुदायिक वनसँगको सहमतिमा सहकारीमा आबद्ध किसानले जडीबुटीको खेती सुरु गरेका वडाध्यक्ष छन्त्यालले बताए । 

स्थानीय किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने र आयआर्जन बढाएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ सहकारी संस्थामार्फत पहिलो पटक २५ किसानले जडीबुटीको खेती थालेको वडाध्यक्ष छन्त्यालले जानकारी दिए । उनले सामुदायिक वन क्षेत्रको साढे दुई हेक्टर क्षेत्रफलको जमिनमा अतिस जातको जडीबुटीको बेर्ना लगाएको बताए । अतिसलाई मानिसको पेटभित्र पर्ने जुका मार्न तथा स्वास्थ्यवद्र्धक जडीबुटीका रूपमा मानिन्छ । 

बजारमा अतिस जडीबुटीको माग उच्च रहेकाले गुर्जामा यसको व्यावसायिक खेती थालिएको किसान समूहले जनाएको छ । समुद्री सतहदेखि दुई हजार सात सय मिटरको उचाइमा अवस्थित गुर्जामा बिसजरा, अमलवेद, पदमचाल, कुट्की, सतुवा, खिरौँला, पाखनवेद, बिख्मा, यार्सागुम्बा, पाँचऔँले, लौठेसल्ला, जटामसीलगायत बहुमूल्य जडीबुटी पाइने वडाध्यक्ष छन्त्यालले जानकारी दिए। खाली जग्गाको उपयोग गर्ने नीतिअनुसार गुर्जामा अतिसको बेर्ना उत्पादन गरेर खेती विस्तार गरिएको हो ।  

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ३ : ३९ बजे

राधाकृष्ण रथयात्रा मुलुकको गौरव : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको राधाकृष्ण रथयात्रा

लालीगुराँस बचत सहकारीका व्यवस्थापक पक्राउ

तानसेन– लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेल

व्यवस्थापन परीक्षणको कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्री न्यौपानेको निर्देशन

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सङ्घीय, प्रदेश

सूर्यदर्शनको बचत हिनामिना : रविसहितको मुद्दामा सकिएन सुनुवाइ, अर्को बिहीबार बाँकी बहस हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात जनाविरुद्ध दायर