पाथीभरा क्षेत्रमा गुराँस फुल्न सुरु | Khabarhub Khabarhub

पाथीभरा क्षेत्रमा गुराँस फुल्न सुरु


५ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङको पाथीभरा क्षेत्रमा गुराँस फुल्न सुरु भएको छ । पहाडी जिल्लाको बेँसी क्षेत्रहरूमा माघको दोस्रो सातादेखि नै  गुराँस फुल्न थालेको हो  ।  

समुद्र सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित सुकेटार विमानस्थल वरपर गुराँस फुलेको भेट्न सकिन्छ । पहाडी क्षेत्रमा गुराँस फुल्न सुरु भएसँगै वनजङ्गल राताम्य हुने गर्दछ । स्थानीय व्यवसायी गुराँस फुलेसँगै पर्यटन व्यवसाय फस्टाउने आशमा हुन्छन् । 

त्यस्तै आशमा छन्, पाथीभरादेवी नजिकै होटल सञ्चालन गरेका युवराज खड्का । गुराँसको सिजनमा उनले मनग्य आम्दानी गर्दै आएका छन् । गुराँस ढकमक्क फुल्न थालेपछि व्यापार धेरै हुने गरेको उनले बताए । ‘पर्यटक यहाँ गुराँससँग रमाउन गाडी नै ल्याएर आउँछन् । हामीलाई उनीहरूको सेवा गर्न भ्याइनभ्याइ हुन्छ’, उनले भने । यहाँ नयाँ वर्षको दिन पर्यटकको धेरै घुइँचो लाग्छ । उनले भने, ‘गुराँसको महिमाले यहाँ पर्यटकको सङ्ख्या बढेपछि होटल सुरु गर्‍यौँ । डाँडाभरि फुल्ने गुराँस हेरिरहूँ लाग्छ, यी निकै मनमोहक देखिन्छन् ।’

पर्यटकीय क्षेत्रमा गुराँसमा झुम्मिनेहरू धेरै भेटिन्छन् । हिमाली र पहाडी भेगमा ढकमक्क गुराँस फुलेको हुन्छ । माघदेखि जेठसम्म गुराँस फुल्छ । गुराँसलाई बिम्ब बनाएर धेरै गीत, गजल र कविता लेखिएका छन् । सामाजिक सञ्जालमा गुराँस छेउ उभिएको, हत्केलामा गुराँस राखिएको, कानमा सिउरिएका तस्बिरहरू देखा पर्न थालेको छ । गुराँस बगैँचामा रमाउने र पदयात्रा गर्नेहरू धेरै भेटिन्छन् । तस्बिरमा देखेकाहरू प्रत्यक्ष रूपमा गुराँस देख्दा धेरै रमाउँछन् । गुराँसका पात, बोक्रा र फूल मानिस तथा घरपालुवा जनावरका लागि औषधिका रूपमा प्रयोग गरिन्छ । अचार, सर्वत र रक्सी बनाउन पनि यो झनै उपयोगी हुन्छ ।

फागुनको दोस्रो सातादेखि पाथीभरा मन्दिर जाने पदमार्गको दायाँबायाँ विभिन्न प्रकारका लालीगुँरासको फूलले सजिने गर्दछ । निकै लामो समय गाडीभित्र गुम्सिएर उकुसमुकुस यात्रापछि गाडीबाट ओर्लिने बित्तिकै मनमोहक राष्ट्रिय फूल लालीगुराँस फूलको स्वागतले तीर्थयात्रीमा एक प्रकारको ऊर्जा प्राप्त हुने गर्दछ । 

लालीगुराँसले पाथीभरा क्षेत्रका वनपाखा रङ्गीन हुने गर्दछ । यस क्षेत्रमा लालीगुराँस माघदेखि नै फुल्न थालेको छ । मौसम परिवर्तनको असरका कारण यस वर्ष चाँडै गुराँस फुल्न थालेको स्थानीयवासीको भनाइ छ । लालीगुराँस फुलेपछि पाथीभरा दर्शनका लागि आउने तीर्थयात्री सबैको मन लोभ्याउने गर्दछ । पाथीभरा जाने पदमार्गमा ढकमक्क गुराँस फुल्न थालेपछि तीर्थयात्रीको सङ्ख्या बढ्दै जाने गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । ढकमक्क फुलेको लालीगुराँस देख्दा सबैको मन लोभ्याउने र आनन्द लिन तथा पाथीभरा देवीको दर्शन गर्न एकै पटक मिल्ने भएकाले अहिले तीर्थयात्रीको सङ्ख्या बढ्दै गएको हो । 

प्राकृतिक सुन्दरतासँगै विभिन्न प्रजातिका गुराँस फुल्ने याम सुरु भएकाले पाथीभराको दर्शनसँगै गुराँस फुलेको मनोरम दृश्यको अवलोकन गर्न सकिने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये पाथीभरा क्षेत्रमा मात्र २६ प्रजातिका पाइने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । विश्वमा दुर्लभ वन्यजन्तु रेडपान्डाको बासस्थान पाथीभरा क्षेत्रमा  पर्दछ । कालो भालु, मृग, घोरल साथै नेपालमा मात्र पाइने काँडेभ्याकुर, कालिज, नेपालको राष्ट्रिय पन्छी डाँफेलगायत वन्यजन्तु तथा पन्छी पाइने गर्दछन् । 

पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा पाथीभरा क्षेत्रमा गुराँस उद्यान क्षेत्रको घोषणसमेत गरिएकाले गुराँसको संरक्षण गर्ने काम भइरहेको छ । यस क्षेत्रमा सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन् । 

यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पनि पाइन्छन् । यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङ जस्ता प्रजातिसमेत रहेका छन्  ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ३ : ४६ बजे

विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्छः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा

प्रचण्ड भन्छन् : देशलाई योगदान गर्नेलाई अझै राम्रो गर्न प्रेरित गरौँ

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

गाजामा सर्वसाधारणको मृत्युको एससिओद्वारा ‘कडा निन्दा’

थ्यानचिन – चीन, भारत, रुस र इरानसहितका साङ्घाई कोअपरेसन अर्गनाइजेसन

एमालेमा एकछत्र पकड बनाउने ओलीको योजना, भण्डारी पक्षले फरक दस्तावेज ल्याउने

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले विधान महाधिवेशनको तयारी तीव्र पारेको

सुदूरपश्चिमका सडकमा पहिरो पन्छाइ यातायात सञ्चालन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा अवरुद्ध सडकका पहिरो पन्छाइ यातायात सञ्चालन गरिएको