अस्मिताको सङ्घर्ष : बालुवा बोक्नेदेखि मेसिन चलाउनेसम्म | Khabarhub Khabarhub

अस्मिताको सङ्घर्ष : बालुवा बोक्नेदेखि मेसिन चलाउनेसम्म


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – सैतीस वर्षीया अस्मिता आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्धार अगाडि ‘कटन क्यान्डी’ बेच्दै गरेको भेटिन्छिन् । अस्मिताको जीवनमा उमेरको मात्र सङ्ख्या बढेको छैन, सहज जीवनयापनका लागि गरेका सङ्घर्षको चाङ पनि थपिँदो छ । विसं २०४२ मा म्याग्दीको राखु भगवतीमा जन्मिनुभएकी अस्मिताको म्याग्दीकै मङ्गला गाउँपालिका–३ बराङ्जाका गणेश विकसँग विवाह भयो ।

विवाहलगत्तै विसं २०६३ मा सुनौलो भविष्यको सपना देखेर गरेर खानका लागि बागलुङ बजार छिरेका विक दम्पतीको सङ्घर्षका दिन सुरु भए । सुरुआती दिनमा अस्मिताले बागलुङ बजारको हल्लनचोकमा तरकारी बेच्छिन् । उनका जेठा छोरा यतिबेला रुद्रेपिपल माध्यमिक विद्यालयमा कक्षा १० र कान्छा छोरा कक्षा ५ मा पढ्छन्।

विद्यालय जान नपाएकी अस्मितालाई छोराहरूले धेरै पढुन् भन्ने चाहना छ । छोरालाई पढाउनकै लागि उनले कालिका मन्दिर प्रवेशद्धारमा फूल–प्रसाद पनि बेच्छिन् । सोचेजस्तो आम्दानी नभएपछि अस्मिताले कालीगण्डकी नदीबाट बालुवा निकाल्ने काम गरिन्। अस्मिताका श्रीमान् गणेश वैदेशिक रोजगारीका लागि साउदीसमेत पुगे ।

विदेशमै बिरामी परेर दुःख पाएपछि छ वर्ष अघि गणेश स्वदेश फर्के । धन कमाउन विदेशिएको श्रीमान् बिरामी परेर फर्किएपछि छोरालाई पढाउन र दुई छाक खुवाउन समस्या हुने देखेर अस्मिताले रु ५० हजार ऋण लिएर कटन क्यान्डी बनाउने मेसिन किनिन् ।

छ वर्षयता सोही मेसिन अस्मिताको सुख, दुःखको साथी बनेको छ । बिरामी निको भएपछि घर निर्माणको काम सुरु गरेका गणेशले डेढ वर्षदेखि आफ्नै अटोरिक्सा चलाउन सुरु गरे । छोराहरूको भविष्य उज्ज्वल बनाउने अठोटसहित अगाडि बढेका विक दम्पतीले एक जनाको कमाईले घर खर्च चलाउने र अर्काको कमाइले अटोको किस्ता तिर्ने गर्छन् । केही रकम सहकारीमा बचत गर्ने गर्छन् ।

“कुनै कुनै दिन एउटा क्यान्डी बिक्री हुँदैन, कहिलेकाहीँ चार–पाँच हजार पनि हुन्छ, कमाएर सम्पत्ति जोड्ने रहर छैन, छोराले दुःख नपाउन्, धेरै पढुन् भन्ने चाहना छ”, अस्मिता भन्छिन् । अप्ठ्यारोमा पनि आँट, साहस र परिवारको मायाले हरेक चुनौतीसँग लड्न सहज भएको उनको भनाइ छ । सुरुका दिनमा निकै दुःख पाएको सुनाउने अस्मिताले अहिले दैनिकीमा थोरै परिवर्तन आएको बताइन् । सङ्घर्षलाई निरन्तरता दिए सफलता मिल्ने उनी बताउँछिन् ।

“खुसी जीवन जिउन श्रीमान्–श्रीमती एकअर्काको मुख ताकेर हुँदैन, परिवारमा सकेको काम सबैले गर्नुपर्छ, हामीजस्तो सामान्य परिवारका मान्छेले अवसर पाउन गाह्रो नै हुन्छ र पनि अवसर आफैँ खोजेर लागे सफलता मिल्छजस्तो लाग्छ, हामीलाई दुःखले सङ्घर्ष सिकायो ।”

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  १२ : ०६ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित