आज चैत १० २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च २४, २०२३ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार छन्:
नेता राहुल गान्धीको लोकसभा सदस्यता रद्द
भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीको लोकसभा सदस्यता रद्द भएको छ ।
चार वर्ष पुरानो मुद्दामा गुजरातको एक जिल्ला अदालतले दुई वर्षको जेल सजायको फैसला गरेसँगै शुक्रबार गान्धीको लोकसभा सदस्यको पद खारेज गरिएको हो । लोकसभा सचिवालयले एक सूचना जारी गर्दै गान्धीको लोभसभा सदस्यता रद्द भएको जानकारी दिएको हो ।
यसअघि बिहीबार सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानी अभियोगमा फैसला सुनाउँदै गान्धीलाई दुई वर्षको जेल सजाय तोकेको थियो ।
उनको सदस्यता बिहीबारदेखि नै लागू हुनेगरी रद्द भएको लोकसभा सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ ।
निवृत्तिभरण सुधारसम्बन्धी योजनाको विरोधमा फ्रान्समा प्रदर्शन जारी, बेलायती राजाको भ्रमण रद्द
राष्ट्रपति इम्यानुल म्याक्रोँले अघि सारेको निवृत्तिभरण सुधारसम्बन्धी योजनाको विरोधमा फ्रान्समा जारी प्रदर्शन अझ चर्कने सङ्केत देखिएको छ ।
अलोकप्रिय पेन्सन सुधारविरुद्ध बिहीबार देशभर भएका विरोध प्रदर्शनमा दश लाखभन्दा बढी सहभागी भएका थिए ।
राष्ट्रपतिले म्याक्रोँले अघि सारेको सेवानिवृत्तिको उमेरप्रति फ्रान्सेली जनता क्रुद्ध भएका छन् । उनले ‘रिटायर’ हुने विद्यमान ६२ वर्षको उमेर हदलाई बढाएर ६४ पुर्याउने विधेयक प्रस्ताव गरेका छन् ।
भारी मतले सदनले अनुमोदन गरेको उक्त विधेयक संसदीय समितिमा विचाराधीन छ । उक्त समितिले अन्तिम मस्यौदा तयार गरेर पुनः सदनमा प्रस्तुत हुनेछ ।
यसैबीच, बिहीबारको राष्ट्रव्यापी विरोधप्रदर्शनका क्रममा चार सय ५७ जना पक्राउ परेका तथा चार ४१ जना घाइते भएका गृहमन्त्री गेराल्ड डर्मानिनले बताएका छन् । राजधानी पेरिसमा ठूलो प्रदर्शन भएको तथा धेरै स्थानमा टायर बालेर विरोध गरिएको थियो ।
यसैबीच, अलोकप्रिय पेन्सन सुधारलाई लिएर केही दिनयता जारी अशान्तिका कारण बेलायत राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमण स्थगित भएको बकिङ्घम प्यालेसले शुक्रबार जनाएको छ ।
शाही अधिकारीहरूले चार्ल्स र महारानी क्यामिला ‘फ्रान्स भ्रमण गर्ने अवसरको निकै प्रतीक्षामा रहेको’ बताएका छन् ।
बेलायतका राजा चार्ल्स तृतीयको आगामी साता हुने फ्रान्सको राजकीय भ्रमणलाई परिवर्तन गर्ने कुनै योजना नरहेको यसअघि बिहीबार बेलायत सरकारले जनाएको थियो । त्यस्तै, फ्रान्सका कूटनीतिक अधिकारीहरूले म्याक्रोँविरोधी प्रदर्शनकारी र दङ्गा प्रहरीबीच झडप भइरहेका बेला यो भ्रमण पछि सार्नुपर्ने बताएका थिए ।
महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बरमा निधन भएपछि राजा चार्ल्स र उनकी पत्नी क्यामिला आइतबारदेखि बुधबारसम्म फ्रान्स र त्यसपछि जर्मनीमा जाने कार्यक्रम तय भएको थियो ।
सिरियामा रहेको आधार शिविरमा ड्रोन आक्रमण, जवाफमा अमेरिकी हवाई आक्रमण
उत्तरपूर्वी सिरियास्थित अमेरिकी आधार शिविरमा बिहीबार भएको ड्रोन आक्रमणमा एक जना अमेरिकी ठेकेदारसहित पाँच जना अमेरिकी सेनाका सदस्य घाइते भएका छन् । आक्रमणमा अर्का एक जना ठेकेदार पनि घाइते भएका अमेरिकी रक्षा मन्त्रालयले बिहीबार राति बताएको छ ।
इस्लामिक स्टेटका चरमपन्थीविरुद्धको कारबाहीका निम्ति गठबन्धन सेनासँग सहकार्य गरिरहेको अमेरिकी सेनाका सदस्यलाई आवश्यक राशनपानीलगायत अन्य सरसामान आपूर्ति गर्ने ठेकेदार आक्रमणमा मारिएको उक्त मन्त्रालयले एक विज्ञप्ति निकालेर बताएको हो । अमेरिकी गुप्तचर अधिकारीले उक्त आक्रमण इरानमा निर्मित ड्रोनबाट भएको बताएका छन् ।
यसैबीच सिरियाको हस्काह समीप अवस्थित गठबन्धन सेनाको शिविरमा भएको आक्रमणमको प्रतिकारमा अमेरिकी सेनाले हवाई आक्रमण गरेको छ । रक्षामन्त्री लोयड अस्टिनले राष्ट्रपति जो बाइडेनको निर्देशनमा इरानको इस्लामिक रिभोलुस्नरी गार्डस् कर्प्ससँग सम्बद्ध समूहले प्रयोग गर्दै आएको स्थानमा हवाई हमला गरिएको बताएका छन् ।
उत्तरपूर्वी सिरियाको हस्काह समीप अवस्थित गठबन्धन सेनाको शिविरमा बिहीबार भएको ड्रोन आक्रमणको प्रतिकारमा अमेरिकी सेनाले गरेको हवाई हमलामा इरान समर्थक आठ जना लडाकु मारिएका छन् ।
युद्ध अनुगमन गर्ने संस्था सिरियन अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले पूर्वी सिरियाको देइर एजोर शहरका रहेको हतियार भण्डार केन्द्रलाई लक्ष्य गरेर भएको हवाई हमलामा इरान समर्थक छ लडाकु तथा मायादिनको मरुभूमि र अल–बुकमाल नजिक भएको अर्को हमलामा दुई जना मारिएका बताएका छन् ।
यसैबीच, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले राष्ट्रपति जो बाइडेनको निर्देशनमा इरानको इस्लामिक रिभोलुस्नरी गार्डस् कर्प्स सँग सम्बद्ध समूहले प्रयोग गर्दै आएको स्थानमा हवाई हमला गरिएको बताएका छन् ।
श्रीलङ्कामा स्थानीय परिषद्को निर्वाचन अनिश्चितकालका लागि स्थगित
श्रीलङ्काको निर्वाचन आयोगले स्थानीय परिषद्को निर्वाचन अनिश्चितकालका लागि स्थगन गरिएको घोषणा गरेको छ । आयोगका सदस्यहरूको बैठकपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै निर्वाचन आयुक्त समन श्री रत्नायकेले निर्वाचन कहिले गर्ने भन्ने विषयमा आयोगबीच सहमति हुन नसकेको बताए ।
आयोगले चाँडै नै राजनीतिक दलका प्रतिनिधिसँग कुरा गर्ने र त्यसपछि उनीहरूका वकिलसँग भावी कार्ययोजनाका बारेमा परामर्श गर्ने उनले बताए ।
स्थानीय परिषद्को निर्वाचन सुरुमा मार्च ९ का लागि तय गरिएको थियो तर ट्रेजरीले रकम उपलब्ध नगराएपछि अप्रिल २५ का लागि सारिएको थियो । श्रीलङ्कामा स्थानीय निकायको निर्वाचन चार वर्षमा एकपटक हुने संवैधानिक व्यवस्था छ ।
ट्रम्पलाई पक्राउ गरिएका तथा पुटिनलाई कारागारमा हालिएका झूठा तस्बिरले सामाजिक सञ्जाल भरिए
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरिएका तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कारागारमा हालिएका झूठा तस्बिरले सामाजिक सञ्जाल भरिएका छन् ।
केही दिनदेखि सञ्जालमा छापछापति भएका ती तस्बिर कृत्रिम बुद्धिमत्ता उपकरण अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ औजार प्रयोग गरेर बनाइएका हुन् । पूर्वराष्ट्रपति ट्रम्प स्वयंले यो साताको प्रारम्भमा आफू पक्राउ पर्नसक्ने बताएपछि उनलाई सुरक्षाकर्मीले घेरेर नियन्त्रणमा लिएका तस्बिरले सामाजिक सञ्जाल भरिएका हुन् ।
नेदरल्याण्डस्को हेगस्थित अन्तरराष्ट्रिय फौजदारी अदालतले युक्रेन युद्धमा मानवताविरुद्ध अपराधमा दोषी ठहर गर्दै राष्ट्रपति पुटिनलाई पक्राउ गर्न पूर्जी जारी गरेपछि उनलाई कारागारमा हालिएका अवास्तविक तस्बिर र भिडियो सामाजिक सञ्जालमा ‘अपलोड’ गरिएका हुन् ।
नक्कली तस्बिर, भिडियो र गलत सूचना प्रवाहले समाजमा नकारात्मक प्रवृत्तिलाई प्रश्रय दिने गलत सूचनासम्बन्धी जानकारहरूले बताएका छन् । काल्पनिक विषयले तथ्यलाई दबाउनु असामाजिक कार्य भएको उनीहरूले टिप्पणी गरेका छन् ।
मिथ्या समाचार र तस्बिरले सङ्कटका बेला थप आपत निम्त्याउने तथा निन्दनीयताको स्तर बढाउने सियाटलस्थित वासिङ्टन विश्वविद्यालयका प्राध्यापक जेभिन वेस्ट बताउँछन् ।
मिथ्या तस्बिर र समाचारले दर्शक तथा पाठकको ध्यान ती सामग्रीमा नै केन्द्रित गर्ने र त्यसले वास्तविकता छोपिने उनको तर्क छ । उनका अनुसार यस्ता गतिविधिले प्रणालीप्रतिको विश्वास गुम्नेछ । उपकरण प्रयोग गरेर बनाइएका तस्बिर यथार्थवादी भए पनि दर्शकले आफ्नो विवेक गुमाउन नहुने उनले बताए ।
प्रतिक्रिया