‘रवि र बालेन पनि देउवा र ओलीकै पथमा छन्, देशले फेरि दु:ख पाउन सक्छ’ « Khabarhub

सन्दर्भ : जेन-जी आन्दोलन

‘रवि र बालेन पनि देउवा र ओलीकै पथमा छन्, देशले फेरि दु:ख पाउन सक्छ’

नवपुस्ताले अनुहारमात्रै होइन, जनजीविकामै फेरबदल चाहेका हुन्



नेपालका दिग्गज अर्थ-राजनीति विश्लेषक हरि रोका प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै पथमा अघि बढेको विश्लेषण सुनाउँछन्। उनी प्रधानमन्त्री वालेन्द्र र सभापति लामिछानेबीच स्पष्ट दृष्टिकोण र सिद्धान्त नभएकै कारण ६ महिना पुग्न लाग्दा पनि दुईतिहाइनजिकको शक्तिशाली सरकार अलमलिएको बताउँछन्। प्रधानमन्त्री शाह र अर्थमन्त्री स्वर्णिम डा. स्वर्णिम वाग्लेबीच मतान्तर हुँदा अर्थतन्त्रसहित धेरै कुरामा समस्या देखिएको उल्लेख गर्दै सरकारमा एकरूपता हुनुपर्ने सुझाउँछन्।

गत वर्ष भएको जेन-जी आन्दोलनको मर्म र भावनाअनुसार सरकार नचलेको बताउँदै रोक्का धेरै ठूलो माग नराखेकाले उनीहरूको आवाज दबाउने कोसिस गर्दा फेरि देशले क्षति भोग्नुपर्ने स्थिति आउन सक्ने विश्लेषण सुनाउँछन्। त्यसकारण त्यसतर्फ ध्यान दिएर भ्रम नपाली काम गर्न उनी रवि र वालेन्द्रलाई आग्रह गर्छन्। नयाँ सरकारसँग जनता खासै सन्तुष्ट नरहेको उल्लेख गर्दै उनी पुराना दललाई गाली गरेर मात्रै बलियो हुने विश्लेषण गर्नु दुःखद रहेको बताउँछन्। शिक्षा, स्वास्थ्य, कृषि लगायत क्षेत्रमा सुधारका लागि सरकारले स्पष्ट काम गर्न नसकेको उल्लेख गर्दै उनी नयाँ पुस्तालाई रोजगारी दिने विषयमा पनि सरकार चुकेको टिप्पणी गर्छन्।

अनुहार फेरिएर मात्रै देशको विकास नहुने बताउँदै उनी जनताले सत्तामा रहेका व्यक्तिको प्रवृत्ति पनि फेर्न चाहेको तर्क गर्छन्। जनताले आफ्नो जनजीविकाका मुद्दा सम्बोधनका लागि नयाँ पार्टीलाई मतदान गरेको विश्लेषण सुनाउँछन्। नयाँ पुस्ताले गरेको दुई दिने आन्दोलन एक वर्ष पुगेको अवसरमा अर्थ-राजनीतिक विश्लेषकले वर्तमान सरकारलाई कसरी हेरिरहेका छन्, देशको आर्थिक अवस्था कस्तो छ ? अबको राजनीति कसरी अघि बढ्ला ? आदि विषयमा केन्द्रित रहेर खबरहबले गरेको कुराकानी गरेको छ।

जेन-जी आन्दोलनको एक वर्षलाई कसरी विश्लेषण गर्नुभएको छ?

मैले बुझेको चाहिँ सरकार र सत्ता परिवर्तन भयो। अरू केही कुरामा फरकपन देखिन सकेको छैन। नयाँ कुरा केही परिवर्तन भएको छैन। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अगाडि सारेका धेरै कुरा पनि प्रक्रियामा गएकै छैनन्।

बरु सुशीला कार्की नेतृत्वले गरेको कामलाई हामीले प्रशंसा गर्नैपर्छ, किनभने उहाँको मुख्य म्यान्डेट प्रतिनिधिसभाको निर्वाचन गराउने थियो। उहाँले शान्तिपूर्ण निर्वाचन गराउनुभयो। सत्ता परिवर्तन भयो, अहिलेसम्म धेरै कुरा परिवर्तन हुनुपर्ने हो, त्यो भएको देखिँदैन।

एक वर्षमा खास के-के हुनुपर्ने थियो ?

जेन-जीको आन्दोलन र सत्तामा भएका व्यक्तिको कुरा कहीँ-कतै मिलेको देखिँदैन। उहाँहरूले भ्रष्टाचारमुक्त मुलुक भन्नुभएको थियो। सेन्सरसिपविहीन सूचना प्रणाली भन्नुभएको थियो। जनजीविकाका मुद्दामा डेलिभरी, सुशासन लगायत कुरा गर्नुभएको थियो। सत्ता परिवर्तनको खेल चाहिँ बन्द भएको देखिन्छ। तर अरू विषयहरू बिल्कुल परिवर्तन हुन सकेका छैनन्।

संविधान संशोधनको कुरा गर्नुभएको थियो, त्यो पनि भएको छैन। सुशासनका लागि चाहिने आधारभूत कुराहरू पनि भएका छैनन्। मान्छेहरूलाई नयाँ किसिमका कामहरू गराउने इकोनोमिक पोलिसीहरू पनि आएको छैन। त्यसो गर्दाखेरि साह्रै धेरै कुरा भएकै छैन। सरकारमै धेरै कन्फ्युजन हुनाले पनि धेरै कुरा अगाडि बढ्न सकेका छैनन्।

कस्तो किसिमको अलमल देखिन्छ सरकारमा ?

उहाँहरूले सरकारमा बसिसकेपछि के गर्ने भन्ने कुरा नै पहिलो कुरा निक्र्योल गरिसक्नुभएको छैन। उहाँहरूले के गर्ने भन्ने कुरा पहिला पत्ता लगाउनुपर्‍यो। उहाँहरू बहुसङ्ख्यक जनताका लागि काम गर्ने हो कि थोरै एलिट क्लासका लागि काम गर्ने हो, त्यसको मुख्य निक्र्योल गर्नुपर्छ।

दोस्रो कुरा ?

आफूले के गर्ने भन्ने छुट्याइसकेपछि कार्यक्रम तयार पार्नुपर्छ। आम मासका लागि गर्ने काम र थोरै एलिटहरूका लागि गर्ने काम फरक कुरा हुन्। यो चाहिँ राजनीतिक अर्थशास्त्रको भाषामा कुराकानी गर्दाखेरि राजनीति पनि हो र अर्थशास्त्र पनि हो। यो कुरा उहाँहरूले छुट्याउन सक्नुभएको छैन।

उहाँहरू कसका लागि काम गर्ने र कसरी काम गर्ने भन्ने कुरा छुट्याउनुपर्‍यो। उहाँहरूले संस्थाहरू कसरी तयार पार्ने र संस्थाहरूलाई संस्थागत गर्नका लागि कसरी काम गर्ने भन्ने कुरा छुट्याउनुपर्छ।

प्रधानमन्त्री र अर्थमन्त्रीबीच पनि मतान्तर देखिन्छ नि ?

प्रधानमन्त्री र अर्थमन्त्री स्वर्णिम वाग्लेको बीचमा विकासलाई लिएर थप छलफल भएको छैन। उहाँहरूका बीचमा नै फरक-फरक कुरा आइरहेका छन्। उहाँहरूका बीचमा अलगभाव देखिन्छ। प्रधानमन्त्री राज्य र पुँजीवादको पक्षधर जस्तो देखिनुहुन्छ। तर उहाँसँग कुनै संस्थाहरू पनि छैनन्। ती कुराहरूलाई संस्थागत गर्नका लागि उहाँले टिम गठन पनि गर्नुभएको छैन। उहाँसँग स्पष्ट भिजन र नीति देखिँदैन।

त्यस्तै, अर्थमन्त्री चाहिँ पहिलाकै कुरा र आर्थिक नीतिलाई निरन्तरता दिन चाहनुहुन्छ। किनभने उहाँले त्यो भन्दै आउनुभएको, गर्दै आउनुभएको बजार अर्थतन्त्रको, नवउदारवादी अर्थतन्त्रको कुरा गर्नुभएको छ। उहाँहरूले पहिला प्रधानमन्त्रीले भनेको कुरा ठीक कि अर्थमन्त्रीले भनेको कुरा ठीक भन्ने छुट्याउन सक्नुपर्‍यो। त्यसमा पनि नैतिकता हुन्छ।

सत्ता परिवर्तनको खेल भइरहोस् र देशले थप भार बोक्नुपर्ने पक्षमा हामी छैनौँ। २३ गतेको घटनाले गर्दा धेरै अप्ठ्यारो आइपर्‍यो। धेरै ठूलो नयाँ पुस्ताको मागहरू थिएनन्। यही परिवर्तनका लागि उहाँहरूले ठूलो आन्दोलन गर्नुभएको पनि होइन।

उहाँले शिक्षाको, बिजुलीको, स्वास्थ्यको कर लगाउनुभयो। उहाँले त्यो बजेट भाषणमा गर्नुभयो। त्यो बजेट भाषण कानुन बनेर एक वर्षका लागि लागू हुन्छ। तर अहिले प्रधानमन्त्रीले आएर होइन, ‘यसलाई हामी क्यान्सिल गर्छौं’ भनेर भनिदिनुभयो। त्यो नियमसँग छ कि छैन? कानुन सम्भव छ कि छैन भन्ने कुरा हेरिएन। पार्लामेन्टमा यो कुरा पास गराउनुपर्ने कि नपर्ने? यो कुरा उहाँ, प्रधानमन्त्रीले भन्न पनि सक्नुहुन्न।

एउटै क्याबिनेटमा बसेकाले दुईथरी कुरा गर्दा एउटा सरकारले दुईवटा ढुङ्गामा खुट्टा हाल्नु हो। यो त डुब्ने कुरा नै हुन्छ। त्यो हुनाले गर्दा यो कुरा उहाँहरूले छुट्याउनुपर्‍यो। अब औद्योगीकरण गर्ने भन्नुहुन्छ, त्यसपछि कृषिको कुरा पनि गर्नुहुन्छ। हामी यस्तो सुविधा दिन्छौँ, उस्तो सुविधा दिन्छौँ भन्नुहुन्छ। तर उहाँहरूलाई सुविधा केमा दिने? कसरी दिने भन्ने कुराको टुङ्गो छैन।

अहिलेको योजना इन्फ्रास्ट्रक्चर विस्तार, पूर्वाधारहरू निर्माण गरिने हुनुपर्‍थ्यो । तर भदौ १० गते भोटेकोशीमा बाढी गयो, पहिरो गयो, सारा कुरा अस्तव्यस्त छ। सयौँ नगारिक बेपत्ता भएका छन्। यस्तो अवस्थामा अर्थतन्त्रलाई कसरी माथि उठाउने भन्ने कुरा छैन। खाली कचौरा थापेर मात्रै राष्ट्रको हित हुँदैन। कचौरा थाप्ने अनि कसरी विकास गर्ने भन्ने कुराको त ज्ञान पनि हुनुपर्‍यो।

पोहोर साल, परार सालदेखि त हामीकहाँ सालिन्दा नै बाढी आइरहेको छ नि। त्यही रसुवाको ल्हेन्दे खोलाको २०८२ असार २४ गते बाढी आएकै हो। त्यसबेला पनि थुप्रै मान्छेले ज्यान गुमाएकै हो। धनजनको क्षति भएर मानवीय क्षति हुँदै चिनियाँ र नेपाली पनि मरेकै हुन्। त्यसको पुनर्विकास गर्ने कसरी ? उही बाटो बनाएर उस्तै खालको संरचना बनाएर ? वा वैकल्पिक बाटो बनाउने र वैकल्पिक अर्थतन्त्र निर्माण गर्ने? यस्तो कुराहरू गर्नका लागि त तपाईंसँग नीति हुनुपर्‍यो, कार्यक्रम हुनुपर्‍यो। रिसर्च हुनुपर्‍यो।

यी जम्मै कुराहरू गर्नका लागि त उहाँहरूसँग केही पनि छैन। सबैभन्दा पहिला उहाँहरूले आफ्नो कुरा, उहाँहरू कता जाने भन्ने विषयमा टुङ्गो गर्नु जरुरी छ। उहाँहरू जनपक्षीय अर्थतन्त्र निर्माण गर्ने कि थोरै मान्छेहरूका लागि ठेक्कापट्टा आदि इत्यादि सबै कुरा तयार पारेर पैसा कमाउने भन्ने खालको कुरा गर्ने? यो विगतदेखि हुँदै आएको कुरा हो। यस्तै कुरा गर्नको लागि नयाँ कुरा र परिवर्तन भएको त होइन होला। थुप्रो मान्छेले ज्यान दिएको त होइन होला। ७५-७६ जना मान्छे पुरिए, मारिए। ती मारिएका मान्छेहरूले सत्तामा गएर पिङ मच्चाउन त बलिदान दिएको होइन।

हजुरको विश्लेषण चाहिँ अहिले रास्वपामा प्रधानमन्त्री वालेन्द्र पक्ष र रवि पक्षबीच मतभेद देखिएको हो?

उहाँहरूबीच के मतभेद छ भन्ने कुरा सतहमा आएको छैन। प्रधानमन्त्रीलाई रविजीले भेट्नुहुन्छ। अनि ‘हाम्रा बीचमा फरक छैन, प्रधानमन्त्रीले जे गरिराख्नुभएको छ, राम्रो गरिराख्नुभएको छ, असल गरिराख्नुभएको छ’ भनेर आउनुहुन्छ। उहाँका पक्षधर मन्त्रीहरू पनि क्याबिनेटमा बसेर काम गरिराखेकै छन्। अर्थमन्त्रीले पनि काम गरिराख्नुभएको छ, अरू मन्त्रीले पनि काम गरिराख्नुभएको छ।

उहाँहरूका बीचमा अन्तर्विरोध छ भनेर अरू सांसदहरूले बाहिर देखाउने, बाहिर कुरा गर्ने, तर सभापति आफूले चाहिँ ‘गरेका राम्रा कुरामा सरकारलाई सपोर्ट गरेको हो, सल्लाह गरेकै हो’ भन्ने। नभएको काममा एकअर्कालाई दोष लगाउने र भएको काममा चाहिँ दुवैले जस लिने भन्ने कुराले त खासै फरक पर्दैन नि।

कि कहाँनेर अन्तर्विरोध हो, त्यो कुरा त स्पष्ट आउनुपर्छ। प्रधानमन्त्रीले गरेको राम्रो काममा राष्ट्रिय स्वतन्त्र पार्टीले जस लिने अनि नराम्रो काममा चाहिँ ‘होइन’ भन्ने किसिमको दैचिउरे कुरा गर्नुभएन। खासमा लाइन के हो, त्यसलाई क्लियर गरिदिनुपर्छ।

उहाँहरूबीच सबै समन्वय नै भएको देखिन्छ होइन त ?

उहाँ पार्टी सभापति हुनुहुन्छ। उहाँले नचाहँदा ‘उहाँ प्रधानमन्त्री हुनुहुँदैन’ भनेर भन्ने हो भने त्यहीअनुसारको गतिविधि लिएर आउनुपर्‍यो। होइन भने बालेनले गरेको कमजोरी, बालेनले गरेका जुन दुःख-अप्ठ्याराहरू छन्, त्यो अप्ठ्यारो या उसले गरेका कामको असफलताको जिम्मेवारी पनि पार्टी सभापतिले लिनुपर्छ। कि पार्टी सभापतिले ‘प्रधानमन्त्री, तिमीले काम गर्न सकेनौँ, अर्को व्यक्ति पठाऊँ’ भनेर आँट लिन सक्नुपर्‍यो। होइन भने प्रधानमन्त्रीका गल्तीको जवाफदेही पनि सभापति हुनुपर्छ, पार्टी हुनुपर्छ। यदि पार्टी प्रधानमन्त्रीको विषयमा अर्को बाटोतिर लाग्नुपर्‍यो नि।

जेन-जी आन्दोलनका माग र न्याय यही सरकारबाट हुने सम्भावना छ कि छैन?

उहाँहरूका दुई-तीनवटा माग थिए। ती माग पूरा हुने कुरा त अहिलेसम्म केही पनि भएन। तर हामी अपेक्षा चाहिँ राखिराखेका छौँ, किनभने अपेक्षा राखेर सरकार त्यो दिशामा लागोस् भन्ने हाम्रो सुझाव छ। सत्ता परिवर्तनको खेल भइरहोस् र देशले थप भार बोक्नुपर्ने पक्षमा हामी छैनौँ। २३ गतेको घटनाले गर्दा धेरै अप्ठ्यारो आइपर्‍यो। धेरै ठूलो नयाँ पुस्ताको मागहरू थिएनन्। यही परिवर्तनका लागि उहाँहरूले ठूलो आन्दोलन गर्नुभएको पनि होइन।

देउवा र ओलीको फट्याइँका कारण नयाँ पुस्ता सडकमा निस्किएर यत्रो आन्दोलन र आक्रोश पोख्न पुगे। अब रवि र बालेनका कारण देशले थप क्षति बेहोर्नुपर्ने स्थिति नआओस्। त्यसैका लागि हामी निरन्तर सुझाव दिइरहेका छौँ। हाम्रै कुरा मान्नुपर्छ अथवा हामीले भनेको सबै कुरा सुन्नुपर्छ भन्ने हाम्रो कुरा होइन। तर हिजो देउवा र ओलीका कारण जसरी मनन गर्नुपर्छ। रवि र बालेनसँग पनि स्पष्ट भिजन र नीति रहेनछ भन्ने कुरा चाहिँ अहिले नयाँ पुस्ता र हामी सबैले विश्लेषण गरिसकेका छौँ।

अब हामी सामान्य मान्छेले हेर्दा शिक्षामा सजिलो भएको छ त? गाडीको भाडा घटेको छ? ग्यासको भाडा घटेको छ? कोठाभाडा घटेको छ ? करको दायरा कहाँसम्म पुग्यो ? नुन, मट्टीतेल, ग्यास, खाद्यान्न लगायतका वस्तुहरू समयमै पाएका छन् जनताले? मल समयमै पाएका छन् किसानले?

त्यसकारण जुन सरकार आए पनि ‘कानै चिरेको’ भन्ने तरिकाको व्याख्या हुने गरी काम नहोस्। ठ्याक्कै तपाईंलाई भन्नुपर्दा अहिले देउवा र ओलीले जुन किसिमको गल्ती गरेका थिए, अहिले रवि र बालेनले पनि त्यही किसिमको गल्ती गर्दैछन्। कृपया सुध्रिनुहोस् उहाँहरू। उहाँहरूभन्दा फरक यो सरकार देखिएन। होइन, अघिल्लो सरकारभन्दा त हामी नयाँ अनुहार भएकै कारण पनि असल र सक्षम छौँ भन्ने भ्रम चाहिँ अहिलेको सरकारले पाल्नु भएन।

देउवा र ओलीकै दिशामा हुनुहुन्छ र रवि-बालेन?

यही गर्छु भन्ने भिजन नयाँ पुस्तासँग पनि थिएन। तर उहाँहरूले गभर्मेन्टमा देखिएको असन्तुष्टि पोख्दाखेरि गभर्मेन्टले दबाउन खोजेका कारण आन्दोलनले उग्र रूप लियो। अहिले उहाँहरूलाई महसुस भएको छ कि रवि र बालेनमा पनि कुनै भिजन, नीति र जनअपेक्षाअनुकूल काम रहेनछ। त्यसकारण उहाँहरूको असन्तुष्टिलाई सुझाव मानेर सरकारले काम गर्नुपर्छ।

ओली र देउवाभन्दा फरक अहिलेको सरकार केही पनि देखिँदैन। देउवा र ओलीको मात्रै कुरा होइन, पुराना दलका कुकर्म गर्ने नेताभन्दा अहिलेको सरकार पनि फरक देखिएन भन्ने विश्लेषण त उहाँहरूले नै गरिरहनुभएको छ।

यो गर्दा चाहिँ फरक हुन्छ है भन्ने कुराहरू केही छन् ?

अब हामी सामान्य मान्छेले हेर्दा शिक्षामा सजिलो भएको छ त? गाडीको भाडा घटेको छ? ग्यासको भाडा घटेको छ? कोठाभाडा घटेको छ ? करको दायरा कहाँसम्म पुग्यो ? नुन, मट्टीतेल, ग्यास, खाद्यान्न लगायतका वस्तुहरू समयमै पाएका छन् जनताले? मल समयमै पाएका छन् किसानले? स्वास्थ्यको सहज र सुविधाजनक पहुँच पुगेको छ? स्वास्थ्य बीमा लगायतका कार्यक्रमहरू प्रभावकारी रूपमा चलेका छन्?

हिजो जस्तो थियो, अवस्था उस्तै हुँदैछ। यी कुराहरूमा सुधार ल्याउनुपर्‍यो। बरु मान्छे मात्रै फेरिए, अवस्था फेरिएन। नयाँ पुस्ताले मान्छे मात्रै फेर्न आन्दोलन गरेका होइनन्। उहाँहरूले जनताको जनजीविका फेरियोस् र सबै जनता सन्तुष्ट होऊन् र आवश्यकता न्यूनतम् पूरा होस् भन्ने किसिमले आन्दोलन गरेका हुन्। अनुहार फेर्न र नयाँ आएका अनुहारले अझ जनतालाई भार बढाउँदै लैजान सत्ता फेरिएको होइन।

उसै भए अब के गर्नुपर्छ?

उहाँहरूले सबैभन्दा पहिला आफूलाई सुधार्नुपर्छ। ‘पुरानाले केही गरेनन् र हामी आएका जनताले हामीलाई पठाएका हुन्’ भन्ने घमण्ड गर्नुभएन। पुरानाले नगरेका कारण ‘हामी यो गर्छौं, जनतालाई सुविधा दिन्छौँ’ भन्ने तर्फ लाग्नुपर्‍यो। पुराना दललाई गाली गरेर मात्रै नेपालको विकास त हुँदैन नि। ‘हामी यो नीति, यो कार्यक्रम र यो गन्तव्य लिएर स्पष्ट रूपमा जनताको जनजीविका सुधार्न लाग्छौँ’ भन्ने दिशामा जानुपर्‍यो। सबैलाई आफ्नो विश्वासमा लिन सक्नुपर्‍यो।

सबै राजनीतिक दलको अस्तित्वलाई स्वीकार गर्दै कुकर्म गर्नेलाई कारबाही गर्नुपर्‍यो। सबै पुराना राजनीतिक दलका नेताहरू चाहिँ बेइमान हुन्, झुट हुन्, यिनीहरूलाई ठोक्नैपर्छ, सक्नैपर्छ भन्ने लाइनमा लाग्नुभएन। कसैले सुझाव दिँदा ‘हिजो तैँले यसो गरेको थिइस्, आज मैले यसो गर्न किन नपाउने?’ भन्ने तरिकाले चल्नुभएन। सुझावलाई सही रूपमा लिएर काम गर्नुपर्‍यो। पुराना दलका सबै नेतालाई एउटै डालोमा लगाएर ‘अँ, पख्लास त’ भन्ने हिसाबले जानुभएन।

जसले जहाँ-जहाँ गल्ती गरेको छ, त्यसलाई कानुनी दायरामा ल्याउनुपर्‍यो। अरूलाई एउटै डालोमा लगाएर आक्षेप मात्रै लगाउँदै हिँड्नुभएन। कसका लागि राजनीति गरेको हो र किन राजनीति गरेको हो भन्ने कुरालाई मुख्य ध्येयमा राखेर नयाँ पुस्ताले दिएको म्यान्डेट र जोश-जाँगरलाई कन्ट्रोल गर्नुपर्‍यो। हाम्रा केही मन्त्रीहरूले आफ्नो जोश-जाँगर कन्ट्रोल नगर्ने र मनपरी बोल्ने प्रवृत्तिका कारण पनि अझ धेरै समस्या उत्पन्न हुँदैछ।

सत्ता सधैँका लागि होइन, सत्ता एकचोटिका लागि सुवर्ण अवसर हो। ‘मैले यो बेला काम गरेर देखाउनुपर्छ’ भन्नेतर्फ उहाँहरू लाग्नुपर्छ। यी कुराहरू उहाँहरूले अहिलेसम्म गर्नुभएको छैन। झोँक्किएर कसैले केही भन्दैमा त्यसलाई जाइ लाग्ने अनि अनेक किसिमका व्यक्तिहरू परिचालन गरेर दुःख दिने काममा लाग्नुभएन।

नेपालमा युवाले गरी खाने किसिमको वातावरण सिर्जना गर्नुपर्‍यो। उहाँहरूले हिजो नेपालमा युवाले उद्योग गर्ने वातावरण बनाउँछौँ भन्नुभएको थियो। खोई, कहाँ बनाउनुभयो? के गर्दै हुनुहुन्छ? सानादेखि ठूलासम्मको व्यवसाय गर्ने वातावरण युवालाई उहाँहरूले बनाइदिनुपर्छ। जनताले नयाँ पार्टीलाई विश्वास गरेर मत दिएको हो। त्यो विश्वासलाई अविश्वासमा परिणत गर्नुभएन।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ७ : ३४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार