खोटाङको मझुवागढीस्थित कालिका भगवती मन्दिर परिसरमा भजनगृह निर्माण | Khabarhub Khabarhub

खोटाङको मझुवागढीस्थित कालिका भगवती मन्दिर परिसरमा भजनगृह निर्माण


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धार्मिक तथा पर्यटकीयस्थल खोटाङको मझुवागढीस्थित कालिका भगवती मन्दिर परिसरमा धर्मशाला निर्माण थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा पर्ने उक्त चारतले धर्मशालामा २० कोठा र एउटा सभाकक्ष बनाइने छ ।

विसं २०७४ चैत१५ गतेदेखि २३ गतेसम्म सञ्चालन गरिएको महापुराणबाट सङ्कलन भएको ६० लाख रुपैयाँमध्ये खर्च गरेर बाँकी रहेको ४२ लाख रुपैयाँ बैंकमा जम्मा गरिएकोे र सोको ब्याजसहित ५६ लाख रुपैयाँको लागतमा धर्मशालाको निर्माण थालिएको भवन निर्माण उपभोक्ता समितिले जनाएको छ । धर्मशाला बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले शिलान्यास गरेका थिए ।

धर्मशालाका लागि अपुग बजेट नगरपालिका र प्रदेश तथा सङ्घीय सरकारबाट जुटाइने मझुवागढी कालिका भगवती मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष पदमप्रसाद आचार्यले बताए । नियमित भजनकीर्तनका साथै भगवतीको दर्शन र स्थानीय ऐतिहासिक तथा पर्यटकीयस्थल घुमफिर गर्ने आगन्तुकको विश्रामका लागि धर्मशाला निर्माण सुरु गरिएको हो । मझुवागढीमा बात्तल मुहान भएको मझुवा कालिका खानेपानी योजनाको काम भइरहेको छ । पानीका लागि सहरी विकास मन्त्रालयबाट २०७२ सालमा विनियोजित एक करोड ४४ लाख रुपैयाँमा खानेपानी योजनाको काम अघि बढाइएको हो ।

खानेपानी आयोजनाको काम आगामी असार मसान्तसम्ममा पूरा हुने उक्त समितिले जनाएको छ । पर्यटन प्रवर्द्धनको काम भइरहेको किरातको ऐतिहासिकस्थल मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।

मझुवागढीलाई फूलैफूलको पहाड बनाउने अभियान थालिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवा रोपेर फूलैफूलको पहाड बनाउने अभियान थालिएको हो ।

उक्त अभियानको पहिलो दिन जाकाराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, सल्ला, जाइ, कपुर, पुवाले मसला, असारे फूल, दाँते ओखर, लालीगुराँस लगायत ५०० बिरुवा रोपिएको थियो । मझुवागढीलाई फूलैफूलको पहाड बनाउन गुरुयोजना तयार पारेर साझा सपना पूरा गरिने मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङको भनाइ छ ।

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई फूलैफूलको पहाड बनाउने योजना छ । मझुवागढी, कालिका भगवती मन्दिर आसपासका खाली जग्गा र सो स्थानमा पुग्ने पदमार्ग आसपासमा बहुवर्षे फूलका बिरुवा रोपेर आकर्षक गन्तव्यस्थल बनाउने महत्वकाङ्क्षी योजना बनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ हाटडाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि पुगिने मझुवागढीमा विसं १८०४ सालसम्म राजा रणवीर हाङले राज्य गरेका थिए ।

चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, पिकनिक वनभोज खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा सांगीतिक कार्यक्रम गर्नेलगायत व्यक्ति तथा समूह पुग्ने गरेका छन् । मझुवागढीको उत्तरी दिशामा बारुद ढुङ्गा र हतियार निर्माण गर्ने भट्टी छ । गढीको पूर्वमा फुलपातिडाँडा, राँगा आहल र दमाहा ढुङ्गा छ ।

त्यस्तै गढीकोबीच भागमा मौली छ । रणवीर राजाका रैतीहरुले दसैँ मान्न ल्याएका राँगा बोका राख्ने ठाउँलाई मौली भनिन्थ्यो । मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ । त्यसको केहीमाथि राजाको दरबार र कोट गार्ड सुरक्षाकर्मी बस्ने ठाउँ छ ।

गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ छ । मझुवागढीको केही तल भगवती मन्दिर छ । उक्त मन्दिरमा अहिले पनि दैनिकजसो बाख्राको पाठी बलि दिने चलन छ ।

मझुवागढीमा हरेक वर्षको उँभौली र उँधौली चाड अर्थात् वैशाखे र मङ्सिरे पूर्णिमाको दिन पूजा गर्दै साकेला नाच्ने गरिन्छ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा साकेला नाचका साथै रामनवमी, बालाचर्तुदशी, शिवरात्रि, हरितालिका तिजलगायत चाडपर्वमा ठूलो मेलासमेत लाग्ने गर्दछ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ३ : ०९ बजे

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि