खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई घर जलेर नष्ट भएको छ । गएराति करिब नौँ बजे मङ्गलटारका स्थानीयवासी कृष्णकुमार राईको घरमा जडान गरिएको विद्युत् फल्ट हुँदा उनका दुईवटा घर जलेर नष्ट भएको हो ।
वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अधिराज्यमा रहेका कृष्णकुमारका श्रीमती तारा र कान्छा छोरामात्र बस्दै आएको उक्त घरमा गएराति आगलागी भएको स्थानीयले बताएका छन् ।
जस्तापाताको छाना तथा ढुङ्गा-माटोले बनेको दुईतले घरमा विद्युत्को फल्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
जनप्रतिनिधि, स्थानीयवासी र प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिएको जेठा छोरा रम्बोहाङ राईले जानकारी दिए । आगलागीबाट कृष्णकुमारको दुईवटा घर तथा घरभित्र रहेको नगद २० हजार, लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, महत्वपूर्ण कागजातलगायत जलेर नष्ट भएको जनाइएको छ ।
आगलागीका घटनाको यकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।














प्रतिक्रिया