दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार « Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार


४ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : 8 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दिनभर आज स्मार्टले नवीकरणका लागि दिएको निवेदन खारेज, राष्ट्रियसभा बैठकबाट शोक प्रस्ताव पारित, मिटरब्याज पीडित र प्रहरीबीच झडप, रवि लामिछानेको सवारी चालक तीन तलाको घरबाट खसेको अवस्थामा फेला, थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्युलगायत समाचारले प्रमुख स्थान पाए ।

स्मार्टले नवीकरणका लागि दिएको निवेदन खारेज

स्मार्ट टेलिकम प्रालिको आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स खारेज भएको छ । लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन नदिएपछि दूरसञ्चार ऐनअनुसार लाइसेन्स स्वतः खारेज भएको हो ।

सम्पत्ति व्यवस्थापन नियमावली २०७९ अनुसार सरकारले व्यवस्थापन गर्ने भएको छ।

प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार प्राधिकरणले बनाएको सञ्चालक समितिमार्फत स्मार्ट टेलिकम सञ्चालन हुने छ।

स्मार्ट टेलिकमले लाइेन्स नवीकरणका लागि प्राधिकरणमा निवेदन दिएको थियो। लाइरेन्स र फ्रिक्वेन्सीको मात्रै करिब २७ अर्ब रुपैयाँ बुझाउन बाँकी रहेको भन्दै प्राधिकरणले नवीकरण नगरेको हो।

यसैबीच, लाइसेन्स खारेज गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयविरुद्ध स्मार्ट टेलिकमले दायर गरेको रिटमा पाटन उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अन्तरिम आदेश दिने नदिनेबारे गरेको उत्प्रेषणको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई डाकेको छ ।

स्मार्ट टेलिकमका तर्फबाट रामनाथ वण्ठा थारुले रिट दायर गरेका हुन् । न्यायाधीश दीपेन्द्रबहादुर बमको इजलासले यसबारे थप छलफल गर्न वैशाख ८ गते दुवै पक्षलाई डाकेको छ ।

राष्ट्रियसभा बैठकबाट शोक प्रस्ताव पारित

राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेकाे सो प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

विसं १९८१ मा जन्मिएका तुम्बाहाम्फे २०१५ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन क्षेत्र नं २६ धनकुटाबाट नेपाली कांग्रेस पार्टीका तर्फबाट निर्वाचित भएका थिए। गत चैत २४ गते ९७ वर्षमा उनको निधन भएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक यही वैशाख गते ५ गते अपराह्न २ः३१ बजे बस्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने निश्चित : महनगरप्रमुख दाहाल

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला छिट्टै बन्ने बताएकी छन् । बागमती प्रादेशिक क्रिकेट सङ्घ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता शुभारम्भ गर्दै उनले रंगशाला बन्ने निश्चित भएको बताएकी हुन्।

प्रमुख दाहालले भनिन्,’अब केही प्रक्रिया मिलाएर राष्ट्रिय खेलकुद परिषद्ले काम अगाडि बढाउन लागेको छ ।’ अहिले पनि धेरै जनामा रंगशाला बन्ने हो कि होइन भन्ने प्रश्न उब्जिएको भन्दै उनले ंगशालाको स्वामित्व राखेपले लिने निर्णय भएको र बाँकी कार्य पुल्चोक क्याम्पसको प्राविधिक सहयोगमा गर्ने गरी बोलपत्र आह्वान गरिने प्रमुख दाहालले बताइन्।

उनले पुल्चोक इन्जीनीयरिङ क्याम्पस र राष्ट्रिय खेलकुद परिषद्बीच यसबारे निरन्तर छलफल भइरहेको बताइन्। रंगशाला निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउडेशनले ऋण देखाउँदै निर्माणकार्य बन्द गरेर उक्त रंगशाला महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । मन्त्रिपरिषद्को बैठकले फाउण्डेशनलाई एकमुष्ठ अनुदान दिई संघीय सरकारले थप निर्माणकार्य अगाडि बढाउने निर्णय गरेको थियो ।

बागमती प्रदेश क्रिकेट सङ्घ र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा निर्माणाधीन उक्त रंगशालाको मैदानमा आजदेखि ‘भरतपुर मेयरकप वागमती प्रदेश अन्डर–१६ क्रिकेट छनोट प्रतियोगिता’ सञ्चालन गरिएको हो । प्रतियोगिता वैशाख–७ गतेसम्म सञ्चालन हुनेछ । बागमती प्रदेश क्रिकेट सङ्घका अध्यक्ष राजु बस्नेतले प्रतियोगितामा नेपाल क्रिकेट सङ्घले मान्यता दिएका छ जिल्लाका टोलीको सहभागिता रहेको जानकारी दिए।

काठमाडौँ, भक्तपुर र मकवानपुर समूह ‘ए’ मा छन् भने ललितपुर, चितवन र नुवाकोट समूह ‘बी मा रहेका छन् । प्रतियोगिता लिगका आधारमा खेलाइने छ । दुई समूहबीचका समूह विजेता टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । अध्यक्ष बस्न्यातका अनुसार विधागततर्फ म्यान अफ द सिरिज, म्यान अफ म्याच, बेष्ट ब्याटर र बेष्ट बलरलाई उपहारको व्यवस्था गरिएको छ । यस प्रतियोगितामा सहभागी खेलाडीमध्येबाट नै बागमती प्रदेशको अन्डर १६ को टोली तयार गरिनेछ ।

‘अर्थतन्त्रमा देखिएका समस्या हटाउन सरकार र निजी क्षेत्र सँगै काम गर्नुपर्छ’

अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार र निजी क्षेत्र एक आपसमा मिलेर काम गर्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा उनले अर्थतन्त्रलाई सुधार्न निजी क्षेत्रसँग समन्वय गर्न तयार रहेको बताए ।

‘वर्तमान समयमा निजी उद्योगी व्यवसायीमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस भए पनि केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौंँ । केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्छ’, अर्थमन्त्री डा महतले भने। उनले महासङ्घको नेतृत्व बैंकर्सको हातमा पुगेको भन्दै देशको अर्थ व्यवस्थाबारे जानकार व्यक्तिले नै समाधानको पहल गर्नुपर्नेमा जोड दिए।

‘अहिले देखा परेको अप्ठ्यारोमा एकअर्कालाई सहयोग गरौँ । सहज अवस्थामा कसैलाई कसैको सहयोगको आवश्यकता पर्दैन तर अप्ठ्यारो समयमै सहयोग गर्नुपर्छ’, उनले भने। मन्त्री महतले सरकारले जसरी काम गर्नुपर्ने हो, त्यसरी काम हुन नसकेको बताए । ‘अहिलेको अवस्था राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ । म स्वीकार गर्न तयार छु । सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ । देशको इफिसेन्सी बढाउने चुनौती छ’, डा महतले भने, ‘हामीले नीतिगत रुपमा धेरै कुरा भनेका छौँं, तर त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सकिएको छैन ।’

आर्थिक क्षेत्रमा कार्यान्वयन गर्नुपर्ने कतिपय विषयमा राजनीति र आर्थिक दायित्वबीच तदम्य नहुँदा समस्या सिर्जना भएको उनको भनाइ थियो । ‘बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक स्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादम्यका साथ हामीले सँगसँगै लैजानुपर्छ’, अर्थमन्त्रीको भनाइ छ ।

उनले राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल गरेको जानकारी दिँदै भने, ‘आर्थिक सूचांक अब सकारात्मक हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको मौद्रिक नीतिमा जहिल्यै चासो राखेको हुन्छ । उनीहरुको सल्लाह सुझावमा पुराना नीति समय सापेक्ष बनाउने पहल गरेका छौँ ।’

निजी क्षेत्रले पनि आफ्नो वास्तविकता बताउनुपर्ने भन्दै मौद्रिक नीतिलाई सम्बोधन गर्न सरकार तयार रहेको मन्त्री डा महतले बताए । ब्याजदर बढ्दा अर्थतन्त्रमा समस्या देखिएकाले बैंकर्स एशोसियशनले ब्याजदरमा हेरेफेर गरेकाले केही अप्ठ्यारा भएपनि उक्त कदमले समग्र पक्षको आर्थिक सुधारमा भने मद्दत पुगेको उनको भनाइ छ ।

सो अवसरमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र र उद्योगी व्यवसायीले भोग्नुपरेको समस्याका बारेमा जानकारी गराएका थिए ।

मिटरब्याज पीडित र प्रहरीबीच झडप

मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । काठमाडौंको शान्तिवाटिकामा दुवै पक्षबीच झडप हुँदा केही मिटरब्याज पीडित घाइते भएका छन् ।

शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । आज मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको हो ।

प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी प्रहार गरेको छ ।

झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रवि लामिछानेको सवारी चालक तीन तलाको घरबाट खसेको अवस्थामा फेला

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सवारी चालक घाइते भएका छन् ।

३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा चितवनस्थित एक घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेला परेका हुन्।

उनी बिहान ४ बजे तीन तलामाथिबाट खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ ।

थापाको घर सिन्धुपाल्चोकको बाह्रबिसे भएको प्रहरीले जनाएको छ । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चालक शम्भु भनिने दिलबहादुर थापा घरको छतबाट खसेर घाइते भएको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन् । घरको छतबाट खसेर घाइते भएका चालक थापा अहिले उपचाररत अवस्थामा छन् ।

थापा घरबाट खसेको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ । भरतपुर महानगरपालिका–११ मा रहेको लामिछानेको भाडाको घरको तेस्रो तलाबाट थापा खसेको अवस्थामा भेटिएका थिए । उक्त विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

सोही विषयलाई लिएर सोमबार अपरान्ह सभापति लामिछानेले उक्त घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका हुन् । साथै उनले यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउन पनि आग्रह गरेका छन् ।

बारा उपनिर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने सम्भावना

बारा जिल्लाको उत्तर दक्षिण भूगोलमा रहेको बारा क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र दक्षिणमा सीमावर्ती दशगजादेखि उत्तर चारकोसे जंगलसम्म फैलिएको छ । १३६ मतदान केन्द्र, ८२ वटा मतदान स्थल रहेको यस क्षेत्रमा विगतको भन्दा २८७ मतदाता थपिएर १ लाख ५ हजार २ सय ९८ पुगेको छ ।

यस क्षेत्रमा कोल्हवी नगरपालिका वडा नम्बर ८, पचारौता र महागढीमाई गरी २ नगरपालिका तथा देवताल, सुवर्ण र करैयामाई गरी ३ गाउँपालिका रहेको यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव गत चैत ३ मा उपराष्ट्रपतिमा चयन भएपछि यो निर्वाचन क्षेत्र खाली भएपछि प्रतिनिधिसभाको वैशाख १० गते हुन लागेको हो । गत निर्वाचनमा एमालेसँगको तालमेलमा बारा–२ मा जसपाका रामसहाय प्रसाद यादवले चुनाव जितेका थिए ।

यस उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट राजनीतिक दल र स्वतन्त्रसमेत गरेर ३६ जनाले उम्मेदवारी दिएका छन् । हेभिवेटको प्रतिष्ठा सँगै जोडिएको कारण यस क्षेत्र सर्वाधिक चासोको रुपमा छ । सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी, नेपाली कांग्रेस, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थनमा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट उम्मेदवार शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रमेश खरेल, आम जनता पार्टीबाट उम्मेदवार अरुण ज्ञवाली र नेकपा एमालेका पुरुषोत्तम पौडेल सहितका चर्चित अनुहार प्रतिस्पर्धीका रुपमा छन् ।

यादव यसअघि मंसिरमा सम्पन्न निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका कारण अवसर खोज्दै बारा आएका यादवलाई यो पटक समेत सिके राउतको पार्टी भारी पर्ने देखिन्छ । यादव त्यहीँ कारण समेत अहिले मतदाताको घर देखि बारी सम्म भोट माग्दै गरेको देखिन्छ । मधेशका मुर्दाका कारण सधैँ जनताको साथ पाएका यादबले पद र सत्तमा मधेशका मुर्दा भुल्दा यादबको बहुलिएता भएको यस क्षेत्रमा समेत उपेन्द्र यादवलाई सजिलै विश्वास गर्न वातावरण भने छैन । तर यादव भने आफूलाई जनताले मत दिनेमा आफू विश्वस्त रहेको दावी गर्छन् ।

यिनै यादवले गत निर्वाचनमा सप्तरी बाट १६ हजार ९ सय ७९ मत प्राप्त गर्दा सिके राउतले दोबर मत भन्दा बढी ३५ हजार ४२ मत प्राप्त गरेर बिजयी भएका थिए । मधेशमा पछिल्लो समय उदाएको सिके राउतको पार्टी जनमतबाट उम्मेदवार बनेका शिवचन्द्र कुशवाहाले यस पटक जसपाका अध्यक्ष उपेन्द्र यादवको मत आफूतर्फ आकर्षीत गर्ने रणनीति लिएको देखिन्छ सोही कारण कुशवाहाले राउतलाई सगै लिएर चुनावी प्रचारमा छन् । सिके राउतको पछिल्लो क्रेजलाई उनले आफ्नो मतमा परिवर्तन गर्ने प्रयासमा छन् ।

शिवचन्द्र कुशवाहासमेत पराजित अनुहार हुन् । नेकपा माओवादी केन्द्रबाट आफ्नो पार्टीमा भित्राउँदै डा। राउतले यादवविरुद्ध उम्मेदवार खडा गरेका हुन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका शिवचन्द्र कुशवाहा माओवादी केन्द्रबाट टिकट नपाउने निश्चित भएपछि जनमत पार्टी प्रवेश गरेका हुन् । कुशवाहाले गत निर्वाचनमा बारा २ मा १३ हजार ४ सय ६८ मत पाएका थिए ।

यस्तै गत निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौँ–१ उम्मेदवार भएका पूर्व प्रहरी रमेश खरेलले हाल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चाका कारण यस क्षेत्रमा होमिएको देखिन्छ । कमजोर पार्टी संगठन र कार्यकर्ताका करणका बाबजुद उम्मेदवारी दिएका खरेल कमजोर देखिए पनि उनी तीब्र चुनावी प्रचारप्रसारमा छन् ।

यता पूर्व युवा तथा खेलकुद मन्त्री समेत रहेका एमालेका पुरुषोत्तम पौडेल ‘हेभिवेट भिडन्त’ मा सफल हुँदै प्रतिनिधिसभा प्रवेश गर्न तयार देखिन्छन् । २०७० सालपछि प्रत्यक्ष निर्वाचन लड्दै गरेका पौडेलबाहेक अन्य चर्चित अनुहार भने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका पराजित अनुहार हुन् ।

बारा– २ मा १ लाख ५ हजार २९८ जना मतदाता रहेको यस क्षेत्रमा मुख्य गरी जसपा, नेकपा एमाले र जनमत पार्टीका उमेदवारबीचमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

तिलाका तीन वडा पूर्णखोप सुनिश्चित घोषणा

जुम्लाको तिला गाउँपालिकाभित्रका नौ वडामध्ये तीन वडालाई पूर्ण खोप सुनिश्चिता गरिएको छ । पालिकाभित्रका १, २ र ९ नं वडालाई पूर्ण खोप सुनिश्चिता गरिएको हो ।

‘पूर्ण खोप’ जिल्ला घोषणा भए पनि शून्यदेखि २३ महिनाभित्रका बालबालिका पूर्ण खोप पाए-नपाएको सुनिश्चित गर्न हरेक वर्ष खोप सुनिश्चिता गर्नुपर्ने व्यवस्था रहेको तिला गाउँपालिका स्वास्थ्य शाखा सहसंयोजक जानकी धितानले बताए । खोपबाट धेरै किसिमका सङ्क्रमण तथा रोगबाट बच्ने भएकाले हरेक बालबालिकाले नछुटाएर खोप लगाउनुपर्ने उनको भनाइ छ ।

खोप नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको छ । अहिले बालबालिका ‘खोज र खोप’ भन्ने नीतिअन्तर्गत कुनै पनि खोप लगाउने उमेर समूहका बालबालिका खोपबाट वञ्चित हुनु नपर्ने रारा स्वास्थ्य चौकी इन्चार्ज हिमाली खत्रीले बताएका छन् । उनका अनुसार वडा नं १ रारा गाउँमा शून्यदेखि १५ महिनाभित्रका ३० जना र १६ देखि २३ महिनाभित्रका २७ बालबालिकाले पूर्ण खोप लगाएका छन् ।

वडा नं २ लर्मीगाउँमा खोप लगाउने उमेर समूहका १० र लिहीगाउँका १९ जनालाई पूर्ण खोप लगाइएको खत्रीले जानकारी दिए। उनले भने, ‘खोज र खोप भन्ने स्वास्थ्यको नीतिअन्तर्गत वडाभित्र रहेका सबै बालबालिकालाई अनिवार्य खोप लगाउने गरेका छौँ । स्वास्थ्य संस्थाको टोली बस्तीका सबै वडामा पुगेर बालबालिकाले पूर्ण खोप लगाउने गरिएको छ ।’

तिला गाउँपालिका–९ मा मालामानी, राँसा, ढिपु र खोप्री गाउँबस्तीका शून्यदेखि २३ महिनाभित्रका ४७ बालबालिकाले पूर्ण खोप पाएको राँसा स्वास्थ्य चौकीका इन्चार्ज हर्कबहादुर रावतले जानकारी दिएका छन्। उनका अनुसार यहाँका खोप लगाउने उमेर समूहका बालबालिका सबैले पूर्ण खोप लगाएका छन् ।

तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर विष्टले यहाँका सबै वडाका खोप लगाउने उमेरका बालबालिकाले पूर्ण खोप लगाएका बताए । खोपले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने भएकाले अभिभावकले पनि आफ्ना बालबालिका खोप पाए-नपाएको यकिन गर्नुपर्ने र कुनै पनि खोप छुटाउन नहुने उनको भनाइ थियो ।

थप १०४ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काेराेना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । १ हजार ६ सय ३२ जनाको नमुना परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७९ पुगेकाे छ । पछिल्लो २४ घण्टामा ६० जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।

तीन जहाज खरिद गर्ने वायुसेवा निगमको निर्णय

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ । आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेको हो ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र ‘स्टल रुट’ मा उडान भर्न सक्ने तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाइएको छ । निगमले आन्तरिक स्रोतबाट जहाज निर्माता कम्पनीसँग खरिद गर्न लागेको हो । निगमसँग आन्तरिक उडानका लागि हाल दुई थान ट्वीनअटर जहाज छन् । ती जहाजमार्फत विभिन्न पन्ध्र गन्तव्यमा साताको २५ उडान हुँदै आएको छ ।

यसबाट दुर्गम क्षेत्रका जनताको माग सम्बोधन गर्न र हवाई कनेक्टिभिटी बढाउन सहयोग पुग्ने उनको विश्वास छ । तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाउन निगम व्यवस्थापनको उपसमितिले आफ्नो प्रतिवेदन पेश गरिसकेकाले यसका लागि विशेष पहल गरी यथाशक्य छिटो जहाज खरिद गरिने निगमले जनाएको छ ।

उक्त प्रयोजनका निम्ति निगम सञ्चालक समितिद्वारा सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधीर समशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको र उक्त उपसमितिले कार्य सुरु गरिसकेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

अन्नपूर्णमा एक जना आरोही बेपत्ता

म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जना भारतीय आरोही बेपत्ता भएका छन् ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको दोस्रो आधार शिविर नजिकैबाट सोमबार दिउँसो ती आरोही बेपत्ता भएका हुन् । भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु बेपत्ता भएका सेभेट समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईँले बताए।

‘आरोहण सफल नभएपछि आधार शिविरमा फर्कने क्रममा चिप्लिएर लडेर बेपत्ता भएको खबर आएको छ’, उनले भने, ‘खोजी जारी राखे पनि भेटिएका छैनन् ।’ मालु सेभेन समिट टेक्समार्फत अन्नपूर्ण आरोहणका लागि गएका थिए ।

मालु आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालको आरोहण लक्ष्यका साथ अन्नपूर्णको आरोहणका लागि आएका हुन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वसन्त ऋतुको आरोहण शुरु भएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ९ : ०० बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम

काठमाडौं महानगरमा लक्षित वर्ग कार्यक्रमका लागि ३३ सङ्घसंस्थाबाट प्रस्ताव

काठमाडौं– काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले लक्षित वर्गको कार्यक्रम सहयोग