विदेशी भन्नेबित्तिकै राम्रो, नेपाली नराम्रो भन्ने मानसिकता त्यागौँ : प्रधानमन्त्री « Khabarhub

विदेशी भन्नेबित्तिकै राम्रो, नेपाली नराम्रो भन्ने मानसिकता त्यागौँ : प्रधानमन्त्री


९ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेश र विदेशी भन्नेबित्तिकै राम्रो र नेपाली नराम्रो भन्ने मानसिकता त्यागेर मात्र राष्ट्रिय अर्थतन्त्रको निर्माण र समृद्ध नेपाल सम्भव हुने बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विदेशका अनुभव, शिक्षा र दृष्टान्तलाई बढी महत्व दिएर नेपाली विशेषता र मौलिकता नभुल्न सहभागीहरूलाई आग्रह गरे ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘हामीले विश्व पढ्नैपर्छ, विश्वका अनुभव र दृष्टान्तहरू पनि पढ्नुपर्छ । तर त्यसभन्दा बढी नेपालको इतिहास पढ्नुपर्छ । हाम्रो अर्थराजनीतिक चरित्र, हाम्रो विशेषता र मौलिकता पढ्नुपर्छ । हामीकहाँ विदेशी भन्नेबित्तिकै राम्रो, नेपाली चाहिँ नराम्रो भन्ने मानसिकता पनि देखिन्छ । यसले राष्ट्रिय अर्थतन्त्र निर्माण, समृद्धि र स्वाधीनतालाई सहयोग गर्दैन । विश्वका मोडेल र अनुभवहरू पढ्दै गर्दा हामीले हाम्रो आफ्नोपन पढौँ र सोहीअनुरूप नीतिहरू तय गरौँ ।’

उनले भने, ‘अर्थनीति र अर्थतन्त्रबारे विश्वमा आ-आफ्नै मोडेल छन् । नवउदारवाद र समाजवादी अर्थतन्त्रका आ-आफ्नै चरित्र र विशेषता छन् । तर त्यसलाई हुबहु अवलम्बन गरेर हाम्रो अर्थनीति बनाउन सकिँदैन । हाम्रो अर्थराजनीति, उत्पादन पद्धति अरूको भन्दा मौलिक छ । हामी कुन बाटो जाने, त्यो महत्वपूर्ण कुरा हो । यसमा धेरैजसो मान्छेहरू अल्मलिएको देख्छु । हाम्रो संविधानले निजी, साझेदारी र सहकारीको तीनखम्बे अर्थनीति अवलम्बन गरेको छ, यो विश्वका अरू मोडेलसँग हुबहु मिल्दैन ।’

‘हाम्रो संविधान धेरै प्रगतिशील छ । यसले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माणको संकल्प गरेको छ’ प्रधानमन्त्रीले भने, ‘संविधानमा एकतर्फ नवउदारवादका प्रगतिशील पक्षहरू समावेश गरिएको छ, अर्कोतर्फ समाजवादमा जाने संकल्प गरिएको छ । यसको अन्त्य हामीले ठीक ढंगले बुझ्न सक्नुपर्छ । प्रतिस्पर्धा र समाजवाद सँगसँगै जाने प्रणाली हामीले अवलम्बन गरेका छौँ । हाम्रा बुद्धिजीवीहरूको पनि यतातिर बहस कम देख्छु । हामीले खास बहस गर्नुपर्ने र हाम्रो बाटो तय गर्नुपर्ने विषय यहीँनेर छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रभित्र राष्ट्र निर्माण र समृद्धिको मार्गचित्र स्पष्टतापूर्वक राखिएको प्रधानमन्त्रीले बताए। उनले भने, ‘हामीले तीन तहको सरकारको अवधारणा अभ्यास गरिरहेका छौँ । यसभित्र निकै ठूलो अर्थ छ । हामीले केन्द्रिकृत मानसिकता भत्काएर अवसर र विकासलाई तलसम्म लैजाने संकल्प गरेका छौँ । तर, हाम्रो मानसिकता चाहेजस्तो बदलिएको छैन । हाम्रो कर्मचारीतन्त्र, सुरक्षा संयन्त्र पुरानो सोचबाट माथि उठ्न सकेको देखिएको छैन । संघीयता र परिवर्तनको आत्मसातीकरण गर्न सकेको देखिँदैन । यसमा अझै मेहेनत गर्न आवश्यक छ ।’

‘निजी क्षेत्रको सक्रियता बिना अर्थतन्त्रमा सुुधार ल्याउन सकिँदैन। त्यसका लागि हामीबीच बलियो सहकार्य जरूरी छ । राज्यले निजी क्षेत्रलाई निचोर्ने र निजी क्षेत्रले राज्यलाई छल्ने स्थिति बदलिनुपर्छ’ प्रधानमन्त्रीले भने, ‘राज्यले निजी क्षेत्रलाई सम्मान गरेको छ भन्ने नभएसम्म लगानीकर्तामा उत्साह आउँदैन, लगानीको वातावरण पनि बन्दैन । निजी क्षेत्रले पनि इमानदार भएर कर नतिरेसम्म राज्य यस क्षेत्रप्रति सकारात्मक र उदार हुँदैन । हाम्रो कानुन, संरचना र कार्यशैलीबाट अत्तालिएर लगानीकर्ता बाहिरिएका छन् । उद्यमशील युवा पनि प्रक्रियागत झन्झटले उद्यम छोडेर विदेसिएका छन् । यो परिस्थिति हामीले बदल्नैपर्छ ।’

‘सरकार र निजी क्षेत्रबीच साझा धारणा बनाएर अगाडि बढ्न आवश्यक छ । वर्तमान सरकार निजी क्षेत्रका समस्या सम्बोधन गरेर अगाडि बढ्न प्रयत्नशील छ । पछिल्लोसमय अर्थतन्त्रमा सुधारका संकेतहरू देखिएका छन् । सार्वजनिक सेवामा सुधार आएको छ, विदेशमा रहेका लाखौं नेपालीहरू सामाजिक सुरक्षा कोषमा जोडिँदैछन् । विदेशी मुद्राको सञ्चिति, रेमिट्यान्स बढेको छ । तर ढुक्क भइहाल्ने परिस्थिति बनिसकेको छैन । त्यसका निम्ति अझै मेहेनत आवश्यक छ ।’

कार्यक्रममा आर्थिक क्षेत्रका प्रतिनिधि र विज्ञहरू अर्थतन्त्रमा सुधार ल्याउन सरकारले गरेको पहल सकारात्मक रहेकोमा जोड दिँदै सहकार्यका आधारमा अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्ने बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ५ : ५९ बजे

ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले ग्रामीण क्षेत्रका सडक पूर्वाधार सुधारलाई प्राथमिकतामा

झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो

झापा– झापामा पछिल्लो महिनामा भएका सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि र

अमेरिका र इरान युद्ध रोक्ने सम्झौता: कच्चा तेलको मूल्य घट्यो, सेयर बजारमा उत्साह

काठमाडौँ – संयुक्त राज्य अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने

विश्वकपमा कोलम्बियाको विजयी सुरुवात : उज्वेकिस्तान ३–१ गोल अन्तरले पराजित

काठमाडौँ – विश्वकप फुटबलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ को सहज जित

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा– जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्स’