मध्यवर्तीको समस्या : उद्योग खोल्न कसरा धाउनुपर्ने बाध्यता « Khabarhub

मध्यवर्तीको समस्या : उद्योग खोल्न कसरा धाउनुपर्ने बाध्यता


२७ जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका बासिन्दाले विभिन्न प्रकारका समस्या झेल्दै आएका छन्।

मध्यवर्ती क्षेत्रमा किसानले लगाएका बाली वन्यजन्तुले विनाश गर्नु, वन्यजन्तुको आक्रमणमा परी मानवीय क्षति बेहोर्नुपर्ने समस्या छँदै छ। योसँगै मध्यवर्तीका बासिन्दाको अर्को समस्या यस क्षेत्रमा कुनै उद्योग खोल्नुपरे अनुमति लिन चितवनको कसरास्थित चितवन राष्ट्रिय निकुञ्जको कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ।

नवलपुरमा आठ पालिका रहेका छन्। जसमध्ये पाँचवटा पालिकाभित्रका धेरै भाग चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछन्। मध्यवर्तीका बासिन्दाले सामान्य चिया पसल सञ्चालन गर्नु परे पनि अनुमति लिन कसरा धाउनुपर्ने बाध्यता रहेको उद्योग वाणिज्य सङ्घ नवलपुरका अध्यक्ष वैकुण्ठ अर्यालले बताए। यस नीतिले उद्योग स्थापनालाई निरुत्साहित गरेको उनको भनाइ छ। पर्यटन तथा उद्योग कार्यालय कावासोतीमा रहेको छ। यसैले आफ्नो शर्तअनुसार उद्योग सञ्चालनको अनुमति दिन सक्ने भए पनि मध्यवर्ती क्षेत्र पर्ने स्थानमा केही गर्नुपरे पहिला कसरा पुग्नुपर्ने बाध्यता रहेको अध्यक्ष अर्यालले बताए। “सरकारले रोजगारी सिर्जनाको कुरा गर्छ, तर हाम्रो नियम उद्योग स्थापनालाई प्रोत्साहन गर्ने भएजस्तो पाउँदैनौँ, अहिले नवलपुरको मध्यवर्ती क्षेत्रमा सामान्य चिया पसल खोल्नुपरे पनि कसरा पुग्नुपर्ने बाध्यता छ”, अध्यक्ष अर्यालले भने, “मध्यवर्तीमा रहेको यो नीतिको परिमार्जन आवश्यक छ।”

नवलपुरको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका साथै विनयी त्रिवेणी गाउँपालिकाको धेरैजसो क्षेत्र मध्यवर्तीको सीमा क्षेत्रभित्र पर्दछन्। राजमार्गदेखि नजिकको र उद्योग स्थापनाका दृष्टिले सहज भएका सबैजसो क्षेत्रमा मध्यवर्तीका कारण उद्योगीले उद्योग स्थापना गर्न नचाहेको सङ्घका अध्यक्ष अर्यालले बताए।

यस क्षेत्रमा जुनसुकै उद्योग स्थापना गर्नका लागि अनुमति लिन चितवन राष्ट्रिय निकुञ्जको कसरा पुग्नुपर्ने हुँदा समस्या हुने गरेको अध्यक्ष अर्यालले सुनाए। सानोतिनो केही उद्योग सञ्चालन गर्छु भन्ने मानिसले मध्यवर्तीको झन्झटका कारण केही नगरी बस्ने अवस्था रहेको उनले जनाए।

पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालका अनुसार मध्यवर्ती क्षेत्रमा उद्योग सञ्चालनका लागि माग आए आफूहरूले सुरुमा मध्यवर्ती सेक्टर कार्यालय पठाउने गरेको बताए। सेक्टरले फाइल हेरेर मुचुल्का गरी चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित कार्यालय पठाउन र त्यहाँबाट विभिन्न सर्त राखी सञ्चालनको अनुमति प्रदान गरे ती शर्तसहित कार्यालयका सर्तको समेत पालना गर्ने गरी उद्योग सञ्चालनको अनुमति दिने गरेको उनले बताए। साना ठूला सबै उद्योग सञ्चालनको अनुमतिका लागि कसरानै पुग्नुपर्ने कार्यालय प्रमुख खनालले उल्लेख गरे।

“चिया पसल, होटल, डेरी, रेष्टुराँ पनि उद्योग नै हुन, ती सबै खोल्नका समेत निकुञ्जको अनुमति चाहिन्छ, निकुञ्जले शर्त तोकी सञ्चालनको अनुमति दिएपछि हामीले दर्ता गर्छौँ”, कार्यालय प्रमुख खनालले भने। उद्योग भनेर आउने सबैले मध्यवर्ती क्षेत्रमा परे चितवनको कसराबाट निकुञ्जको अनुमति ल्याएपछि मात्रै पर्यटन तथा उद्योग कार्यालयले थप प्रक्रिया अघि बढाउने गरेको छ। यस प्रावधानले मध्यवर्ती क्षेत्रमा उद्योग सञ्चालनमा समस्या भएको मध्यवर्ती क्षेत्रका बासिन्दाको गुनासो रहेको छ।

ठूला उद्योग खोल्ने र सामान्य एउटा कपडा सिलाउने उद्देश्यले टेलर स्थापना गर्न खोज्नेलाई एउटै प्रावधान हुनु व्यवहारिक नभएको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख खनालले स्वीकार गरे। नवलपुर देशकै मध्यभागमा रहेकाले यहाँ उद्योग स्थापना गरे उत्पादित सामग्री देशको पूर्वी भागदेखि पश्चिमसम्म लैजान सहज हुने भए पनि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका कारण जति उद्योग स्थापना हुनुपर्ने हो त्यति हुन नसकेको नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्यालले बताए।

समथर भाग जति मध्यवर्ती क्षेत्र पर्ने र पहाडी क्षेत्रमा पूर्वाधार निर्माण गरी उद्योग स्थापना गर्न लगानी धेरै लाग्ने हुँदा जिल्लामा उद्योगमैत्री वातावरण बन्न नसकेको उनको भनाइ रहेको छ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  १० : ३७ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि