आज दिनभर ‘आदिपुरुष’ बाट ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिए महानगरभित्र हिन्दी चलचित्र नचल्ने, बेटिङ प्रचारमा पक्राउ परेका कलाकारलाई हिरासतमा राख्न अनुमति, बैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त, कोशी प्रदेशले ल्यायो बजेटलगायतका समाचारले प्रमुख स्थान पाए ।
‘आदिपुरुष’ बाट ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिए महानगरभित्र हिन्दी चलचित्र नचल्ने
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ मा राखिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द न हटाए महानगरभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै मेयर बालेनले चलचित्रमा समावेश उक्त शब्द नेपालमा मात्र नभई भारतमा पनि सच्चिनुपर्ने अडान लिएका छन् ।
बेटिङ प्रचारमा पक्राउ परेका कलाकारलाई ३ दिन हिरासतमा राख्न आदेश
अवैध अनलाइन बेटिङकाे प्रचार गरेकाे आरोपमा पक्राउ परेका ८ जनादाई काठमाडौँ जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
प्रहरीका अनुसार उनीहरुलाई अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
बैकुण्ठ अर्याल मुख्यसचिवमा नियुक्त
सरकारले बैकुण्ठ अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।
बैकुण्ठ अर्यालले २ असारमा सचिवको पाँच वर्षे कार्यकालबाट अवकाश पाउँदै थिए । त्यसअघि नै सरकारले उनलाई मुख्यसचिव नियुक्त गरेको हो ।
राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार बैरागीले लिए सपथ
राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकारमा नियुक्त भएका निवर्तमान मुख्यसचिव शङ्करदास बैरागीले सपथ लिएका छन् । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज उनलाई सपथ गराएका हुन् ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई सुरक्षा परिषद्को सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि आजै प्रधानमन्त्री दाहालको अध्यक्षतामा सिंहदरबारमा परिषद्को बैठक बसेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीतर्फको बहस सकियो
नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीतर्फको बहस सकिएको छ ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा १८ जना प्रतिवादीतर्फबाट बहस भएको हो ।
मधेस प्रदेशको बजेट भोलि सार्वजनिक हुने
मधेस प्रदेशको बजेट भोलि सार्वजनिक हुने भएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट भोलि सार्वजनिक गर्ने भएको हो ।
प्रस्तावित प्रधानन्यायाधीश कार्की र सांसदहरूबीच शुक्रबार सवालजवाफ हुने
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आजको सुनुवाइ सकिएको छ ।
प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई प्रश्न सोध्ने र जवाफ माग्ने आजको कार्यक्रम शुक्रबारलाई सारिएको छ । समितिका सभापति ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराका अनुसार आजै संसद् बैठक भएकाले कार्कीको सुनुवाइको कार्यक्रम भोलिका लागि सारिएको हो ।
काठमाडौं महानगरले बन्द गरायो हिसान शैक्षिक मेला
काठमाडौं महानगरपालिकाले बिहीबारदेखि काठमाडौंको भुकुटीमण्डपमा सुरु भएको हिसान शैक्षिक मेला बन्द गराएको छ ।
आवश्यक प्रक्रिया पुरा नगरी शैक्षिक मेला सुरु गरेको भन्दै महानगरले एक दिनका लागि मेला बन्द गराएको हो । महानगरले स्थानीय तहसँग आवश्यक समन्वय नगरेको, एसईईको नजिता प्रकाशित नहुँदै विद्यार्थी भर्ना प्रक्रिया अघि बढाएकाले मेला बन्द गराउनुपरेको जनाएको छ ।
कृष्ण पहाडीसहित मानवअधिकारवादीहरू पक्राउ
कृष्ण पहाडी लगायत मानवअधिकारकर्मी पक्राउ परेका छन् । नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै बानेश्वर पुगेका अधिकारकर्मी पहाडीसहित पक्राउ परेका हुन ।
शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेताहरुसहित मूल दोषीलाई उम्काएको तथा अरुलाई पनि कारबाही नगरी छाडन खोजेको भन्दै मानव अधिकार तथा शान्ति समाजले संसद् भवन अगाडि नयाँ बानेश्वरमा प्रदर्शन गरेका थिए ।
कोशी प्रदेशले ल्यायो ३६ अर्ब २४ करोडको बजेट
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि बजेट सार्वजनिक गरेको छ। प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएको हो ।
बिहीबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत ल्याएको बजेट आर्थिक मामिला मन्त्रालयको सभाहलमा प्रस्तुत गरेका हुन् ।
‘अखण्ड भारत’ नक्साको विरोधमा कूटनीतिक नोट पठाउन एमालेको माग
भारतले आफ्नो नयाँ संसद भवनमा राखेको ‘अखण्ड भारत’ को नक्साको विरोधमा कूटनीतिक नोट पठाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै एमाले सांसद रघुजी पन्तले नेपालको भू–भाग समेटेको ‘अखण्ड भारत’ को नक्साको विरोधमा नेपाल सरकारले तत्काल कूटनीतिक नोट पठाउन माग गरेका हुन् ।
काभ्रेपलाञ्चोकमा कुटपिटबाट वडा सदस्यको मृत्यु
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ श्यामपाटी सिमलचौरका वडा सदस्य ज्ञानी विकको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
मुगुको सोरु गाउँपालिका भीइ गाउँकी कमला नेपाली खाद्यान्न लिन चार घण्टा हिँडेर बुधबार सोरुकोट आए । बिहान बेलुका छाक टार्न मुस्किल भएपछि उहाँ खाद्यान्न लिन सोरुकोट खाद्य डिपो आएका हुन् ।
‘घरमा अन्न सकियो, त्यसैले चार घण्टा हिँडेर सोरुकोट चामल लिन आएकी हुँ’, नेपालीले भने, ‘गाउँमा भोकमरी छ, अनाज किन्न पाइँदैन ।’
कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण
गाउँपालिकाले बाँदरका कारण पीडित कृषकलाई बाँदर धपाउनका लागि ३० वटा बन्दुक निःशुल्क वितरण गरेको छ । गाउँपालिका मातहत रहेका छ वटै वडाका कृषकलाई पहिलो चरणमा बाँदर धपाउने बन्दुक वितरण गरिएको हो ।
ठूलो आवाज आउने भएकाले अन्य उपकरणको तुलनामा बाँदर धपाउनका लागि यो उपकरण निकै प्रभावकारी रहेको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । पहिलो चरणमा अत्यधिकमात्रामा बाँदरले दुःख दिएर हैरान बनाएका क्षेत्रका किसानलाई प्राथमिकता दिँदै आएको गाउँपालिकाले जनाएको छ । बाँदरले क्षति नगर्ने किसिमका वैकल्पिक खेतीतर्फ अग्रसर बन्न गाउँपालिकाले प्रोत्साहन गर्दै आएको उनले बताए ।
चालु साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से ५ अंकले बढ्दा २०४२.०७ मा कायम भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ३ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
बुधबार नेप्सेमा ५ अर्बको कारोबार भएको थियो । बजारमा सामान्य सुधार आँउदा बिहीबार शिवम् सिमेन्ट्सको सेयर सबैभन्दा धेरै खरिदबिक्री भएको छ ।
फिलिपिन्ससँग नेपाल १–० गोलले पराजित
नेपाल फिलिपिन्सँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पराजित भएको छ । आज बिहीबार फिलिपिन्सको रिजल मेमोरियल मैदानमा भएको खेलमा नेपाल घरेलु टोलीसँग १–० गोलले पराजित भएको हो ।
फिलिपिन्सका लागि खेलको ४९औं मिनेटमा जाभिएर गायोसोले गोल गरेका थिए । खेलमा नेपालले केही राम्रा अवसर पाए पनि गोल गर्न सकेन । भारतमा हुने १४औं संस्करणको साफ च्याम्पियनशिपको तयारीका लागि नेपालले फिलिपिन्ससँग खेलेको हो ।
पाकिस्तानविरुद्ध नेपालको सानदार जित
माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसीपमा नेपालले पाकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
मालेमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई ६६–६२ ले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवित रहेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल भूटानसँग पराजित भएको थियो ।
प्रतिक्रिया