भ्रष्टाचार प्रकरणमा संलग्न कसैलाई पनि उन्मुक्ति दिइने छैन : गृहमन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

भ्रष्टाचार प्रकरणमा संलग्न कसैलाई पनि उन्मुक्ति दिइने छैन : गृहमन्त्री श्रेष्ठ


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार प्रकरणमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पारेका छन् । बुधबार काठमाडौंको दरबारमार्गस्थित पेभेलियन हलमा खबरहब, रेडियो क्यान्डिड र इस्टिच्युट फर सोसियो इकोनोमिक एण्ड स्ट्राटेजिक स्टडिज (आईएसएसआर) ले आयोजना गरेको ‘सुशासन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले कुनै पनि प्रकरणका दोषीलाई उन्मुक्ति नदिइने बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको भन्दै तथ्य र प्रमाणका आधारमा दोषी कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पारेका हुन् ।

उनले अहिले व्यक्तिभन्दा पनि तथ्य र प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको जिकिर गरे । त्यस्तै श्रेष्ठले राष्ट्र र जनताविरुद्ध भएका कामको प्राथमिकताका आधारमा अनुसन्धान अघि बढाइने पनि जानकारी दिए । उनले राजनीतिलाई सफा नगरेसम्म मुलुक परिवर्तन हुन नसक्ने भएकाले राजनीतिक नेतृत्वबाटै परिवर्तनको सुरुवात हुनुपर्ने जिकिर गरे । कार्यक्रममा उनले मुलुकमा नकारात्मक चर्चा गर्ने संस्कृति मौलाएको बताउँदै नकारात्मक चर्चा गर्नेभन्दा देशलाई समृद्ध र सभ्य बनाउनेतर्फ काम गर्नुपर्ने उल्लेख गरे ।

गृहमन्त्री श्रेष्ठले हालै एक अन्तर्राष्ट्रिय अखबारमा नेपाल असफल राष्ट्र बन्नेतर्फ उन्मुख रहेको भन्ने समाचार आएकोबारे टिप्पणी गर्दै देशलाई सफल र समृद्ध बनाउन अझै सम्भव रहेको बताए । उनले देशबाट युवाहरुको पलायन संस्कृतिजस्तै बन्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै पलायनले संस्कृतिकै स्वरुप लिन थालेको प्रति सचेत हुनुपर्ने उल्लेख गरे । गृहमन्त्री श्रेष्ठले युवाहरुको विदेश पलायनले संस्कृतिको स्वरुप लिए त्यसलाई सुधार गर्न कठिन हुने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै नेपाली सेनाका पूर्वउपरथी बिनोज बस्न्यातले राजनीतिक अस्थीरताका कारण देशमा सुशासन हुन नसकेको धारणा राखे । उनले केही समयअघि एकजना सांसदले सेनाको सङ्ख्या घटाउनुपर्ने भन्ने अभिव्यक्ति दिएको औँल्याउँदै राजनीतिक नेतृत्वमा रणनीतिक सोचको अभाव रहेको समेत टिप्पणी गरे ।

भ्रष्टाचार प्रकरणमा संलग्नलाई अनुसन्धान एवम् कारवाहीको दायरामा ल्याउने गृहमन्त्रीको कदमको स्वागत गर्दै पूर्वउपरथी बस्न्यातले देशमा संस्थागत भ्रष्टाचार बढिरहेको र यो ठूलो चुनौतिका रुपमा रहेको जिकिर गरे । उनले कुनै बैंकले आफ्ना ग्राहकलाई केही घण्टामै कार्ड उपलब्ध गराउने भएपनि सरकारले दिने राष्ट्रिय परिचयपत्र वा सवारी चालक लाइसेन्सका लागि भने धेरै लामो समय कुर्नुपर्ने अवस्था रहेको बताएका थिए ।

कार्यक्रममा राजनीतिक विश्लेषक हेमन्त सेढाईले भ्रष्टाचारको जरो नै काट्नुपर्ने टिप्पणी गरे । भ्रष्टाचार प्रकरणमा कोही पक्राउ पर्नेबित्तिकै प्रमुख तीन दलका शीर्ष नेताहरुले भेट गरिहाल्ने अवस्था आएकोतर्फ इङ्गित गर्दै सेढाईले भ्रष्टाचारमा सर्वदलीय सहमति भएको टिप्पणी गरे ।

भ्रष्टाचारमा संलग्न शीर्षहरुलाई नै कारवाही हुनुपर्ने उनको जिकिर थियो । उनले कर्मचारीतन्त्रमा राजनीति हावी हुँदै गएको भन्दै कर्मचारीहरुमा हाजीर गर्दै टाप कस्ने (हाटा) प्रवृत्ति बढेको उल्लेख गरे । उनले यसको नियन्त्रणका लागि कर्मचारीतन्त्रमा रहेको ट्रेड युनियनहरु खारेज गर्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा नेपाल प्रहरीका पूर्वउपरीक्षक रवीन्द्र रेग्मीले प्रहरीलाई स्वतन्त्रतापूर्वक कार्यसम्पादन गर्ने र जवाफदेही बनाउनेतर्फ सरकारले कदम चाल्नुपर्ने उल्लेख गरे । उनले प्रहरीलाई जनमुखी बनाउने हिसाबले प्रहरी ऐन ल्याउनुपर्ने धारणा राखे ।

त्यसैगरी, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईंले पछिल्लो समय सामाजिक सञ्जालका कारण समाजमा विकृति बढेको टिप्पणी गरिन् । उनले आजकल सञ्चारमाध्यममा आएका समाचार पत्याउनै गाह्रो पर्ने गरेको भन्दै सामाजिक सञ्जालका कारण मानिसहरुमा नकारात्मकता बढेको टिप्पणी गरिन् ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य कुसुम महर्जनले देशमा नीतिगत भ्रष्टाचार भन्दा नैतिकताको भ्रष्टाचारको विकराल समस्या रहेको उल्लेख गरिन् ।

कार्यक्रममा आईएसएसआरका अध्यक्ष नरेश श्रेष्ठ, राजनीतिक विश्लेषक सौरभराज पन्त, अध्येता सुदन ओलीसँगै राजनीतिक दलका प्रतिनिधि, पूर्वकर्मचारीहरु, सामाजिक अभियन्ता, बुद्धिजीवि एवम् पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ९ : २५ बजे

पूर्व राजा शाहले विजया दशमीका दिन शुभेच्छुकलाई टीका लगाइदिने

काठमाडौँ– पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा

केराबारी गाउँपालिकाका क्रसरमा ज्यानमारा खाल्डो, लियो दुई बालकको ज्यान

विराटनगर– मोरङको केराबारी गाउँपालिका-८ मा सञ्चालित क्रसरले खनेको खाल्डोमा डुबेर

इजरायलको आक्रमणमा १३ सय बढीको मृत्यु : लेबनानबाट सयौं प्रक्षेपण

लेबनान – लेबनानको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार पछिल्लो तीन सातामा

देशभर मनसुनी वायुको प्रभाव, विभिन्न स्थानमा वर्षा 

काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र

भारत र नेपालले तटबन्ध नगर्दा सुस्ता डुबानमा

नवलपरासी– भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण