पछिल्लो समय खानपान तथा व्यस्त जीवनशैलीको कारणले मानिसमा क्यान्सरको समस्या बढ्दै गएको छ। शरीरका विभिन्न भागमा क्यान्सर हुने गरेको पाइन्छ। त्यो मध्ये एक हो ब्लड क्यान्सर। सामान्यतया रगत कम्पोजिसनको आधारमा हेर्दा प्रमुख तीन कोशिका हुन्छन्। रेड ब्लड सेल, ह्वाइट् ब्लड सेल र प्लेटेलेट्स। रगतमा ह्वाइट् ब्लड सेलको मात्रा धेरै बढेर इम्याचुअर सेल र ब्ल्याक सेल देखा पर्यो भने रगतको क्यान्सर हुन्छ। रातो रक्त कोषले शरीरमा चाहिने तत्त्व अर्थात् अक्सिजन र होमोग्लोविनको मात्रा कायम राख्छ। त्यस्तै सेतो रक्त कोषले प्रतिरोधी क्षमता बढाउने र प्लेटलेट्सले रगत बग्नबाट जोगाउने काम गर्छ। ब्लड क्यान्सर भनेको के हो ? लक्षण कस्ताकस्ता देखिन्छन् ? ब्लड क्यान्सर भए के गर्ने ? परिवारका सदस्यले कसरी ख्याल गर्ने लगायतका विषयमा आधारित रहेर खबरहबका लागि हेमाटोलोजिष्ट डा. ईश्वरमान सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश :
धेरैले प्राणघातक रोग भनेर आत्तिने ब्लड क्यान्सर के हो, यसलाई हामीले कसरी बुझ्न सक्छौँ ?
सामान्यतया मान्छेमा रगतका विभिन्न थरीका रगतका क्यान्सर हुनसक्छ। त्योमध्ये पनि प्राय हुने रगतको क्यान्सर एक्युटमाइलेज लिक्युमिया र एक्यु इन्फोब्लाष्टिक लिक्युमिया, र कसैलाई क्रोनिक माइलेज इन्फोब्लाष्टिक लिक्युमिया हुन्। जसको उपचार समयमा नै हुन सकेन भने मानिसको ज्यानसमेत जाने गर्दछ। सामान्य रूपमा रगत कम्पोजिसनको आधारमा रगतका प्रमुख तीन कोशिका हुन्छन्। जसमा : रेड ब्लड सेल, ह्वाइट् ब्लड सेल र प्लेटेलेट्स। रगतमा ह्वाइट् ब्लड सेलको मात्रा धेरै बढेर इम्याचुअर सेल र ब्ल्याक सेल देखापर्यो भने रगतको क्यान्सर हुन्छ। रगतको उत्पादन हुने प्रमुख ठाउँ भनेको बोनम्यारो हो, बोनम्यारोमा, इम्याचुअर र लिकेमिक सेलको मात्रा अधिक बढ्यो भने रगतमा क्यान्सर देखा पर्छ।
किन हुन्छ त ब्लड क्यान्सर ?
मुख्यतया अहिले ब्लड क्यान्सर बढ्नुको प्रमुख कारणका रूपमा अहिलेको अस्वस्थ खानपान, अत्यधिक मात्रामा मद्यपान र धूम्रपानको सेवन, हेपाटाइटिस बी, सी र एचआइभीको सङ्क्रमण लगायतका कारणबाट हुन्छ। कतिपय अवस्थामा यो वंशाणुगत कारणबाट पनि आएको हुन्छ।
ब्लड क्यान्सर भएपछि के कस्ता लक्षण देखिन्छन् ?
ब्लड क्यान्सरको प्रमुख लक्षण भनेको लामो समयसम्म प्रचुर मात्रामा ज्वरो आउनु, शरीरमा धेरै पसिना आउनु, थकान महसुस हुने र शरीरका विभिन्न भाग (मुख, गिजा, पिसाब, दिशा) बाट रक्तस्राव हुने हुन्छ। यसका साथै छालामा रातो, कालो दाग आउने चिलाउने, शरीरको तौल असामान्य तरिकाले घट्ने, शरीरका विभिन्न भागमा नीलडाम देखिने, जोर्नी दुख्ने, कुनै रोग लागेको औषधि सेवन गर्दा पनि लामो समयसम्म ठिक नहुने भयो भने ब्लड क्यान्सर हो भन्ने बुझ्नुपर्छ। शरीरका विभिन्न भागमा फोका आउँछ, यसलाई वैज्ञानिक भाषामा लिम्नोड भनिन्छ। यस्तै पेट फुल्ने, लिभर अथवा पिओको साइज बढ्ने हुन्छ।
सबै उमेर समूहका मानिसलाई एउटै किसिमको ब्लड क्यान्सर हुने हो ?
ब्लड क्यान्सर उमेर अनुसार सबैलाई फरक हुन्छ। जसमा सानो बच्चालाई हुने क्यान्सर एक्यु इन्फोब्लाष्टिक लिक्युमिया हो। ठुलो मानिसमा देखा पर्ने क्यान्सर एक्युटमाइलेज लिक्युमिया, एक्यु माइलेज इन्फोब्लाष्टिक लिक्युमिया हो। बच्चामा देखिने कारण वंशाणुगत नै हुन्छ। यसलाई डाउन सिनड्रोम पनि भनिन्छ। क्राइम सेन्टर सिनड्रोम जुन जीनको उत्परिवर्तन भएर ब्लड क्यान्सर हुने सम्भावना हुन्छ। ठुलो अथवा बढ्दो उमेर समूहमा विभिन्न केमिकल उद्योगमा काम गर्ने, पेट्रो फयाक्ट्री लिड फयाक्ट्री, रङ रोगन सम्बन्धी काम गर्ने व्यक्तिमा बढी हुने गर्छ। अथवा विकिरणमा धेरै काम गर्ने व्यक्तिमा यस्तो समस्या बढी देखिन्छ। ब्लड क्यान्सर जो कोहीलाई पनि हुनसक्छ। हामीले जाँच गरेर कुन क्यान्सर हो पत्ता लगाउनुपर्छ। खास गरेर विकिरणमा काम गर्नेमा बढी देखिन्छ। बच्चामा भने थाहा नभई देखापर्छ।
ब्लड क्यान्सर भएपछि मृत्यु नै हुने हो ?
रगतको क्यान्सर हुँदैमा मृत्युको मुखमा पुगिन्छ भन्ने धारणा गलत हो। सही समयमा चिकित्सकको सल्लाह बमोजिम उचित उपचार गर्दा यो रोगलाई निर्मूल पार्न सकिन्छ।
ब्लडको क्यान्सर भएर अस्पतालमा गएपछि त्यसको उपचार कसरी गरिन्छ ?
अस्पतालमा सुरुमा धेरै बिरामी रगतको नै क्यान्सर भएको भनेर पुग्दैनन् जसमा ज्वरो आएर, शरीरको तौल घटेर फिजिसियन कहाँ जाँदा उहाँहरूले नर्मल रगतको जाँच सीबीसीले गर्दा ब्लड क्यान्सरको शंका गरेमा बोनम्यारोबाट परीक्षण गर्नुपर्ने हुन्छ। वंशाणुगत अथवा जिनको परीक्षणबाट यो रोग पत्ता लाग्छ। त्यसपछि सुरुमा सीबीसी गरिन्छ। यो नेपालको जुन अस्पतालमा पनि उपलब्ध छ। यसको रिपोर्ट एक दुई दिनमा नै आउँछ, त्यो रिपोर्ट हेरेपछि सम्बन्धित डाक्टरले बोनम्यारोको लागि प्लानिङ गरेर बोनम्यारोको जाँच र कुनै स्याम्पल जाँच नेपालमै हुन्छ भने कुनै छिमेकी मुलुकमा पठाउनु पर्ने हुन्छ। यसको लागि पाँचदेखि सात दिन लाग्छ। त्यसपछि हामीले अस्पतालमा स्टेज अनुसार उपचार गर्छौँ।
यो क्यान्सरको स्टेज अनुसार कसरी उपचार गरिन्छ ?
यो सानो एकदेखि दश वर्षको बच्चामा भएको छ भने निको हुने सम्भावना ८० देखि ९० प्रतिशतसम्म हुनसक्छ। ठुलो व्यक्तिमा लाग्यो भने सुधार हुने सम्भावना अलि कम हुन्छ। त्यसमा पनि निमोनिया, मुटु सम्बन्धी रोग र अन्य विभिन्न रोग भएमा निको हुने सम्भावना कम हुन्छ। साइटेजेनिक जाँचबाट पनि रिक्स कत्तिको छ थाहा पाइन्छ। यसबाट पनि ठिक हुने सम्भावना कत्तिको छ भन्न सकिन्छ।
कस्तो अवस्थामा बोनम्यारो ट्रान्सप्लान्टेसन गर्नुपर्ने हो ?
बोनम्यारो ट्रान्सपलान्टेसन दुई किसिमको हुन्छ, एउटा अटो लोगस, जसमा आफ्नो शरीरको ब्लड निकालेर केमो थेरापी दिएर फेरि आफैले राख्ने गरिन्छ। अर्को एलोजेनिक यसमा एउटा स्वास्थ्य व्यक्तिबाट वा परिवारका सदस्यबाट बोनम्यारो निकालेर रोगी व्यक्तिमा राख्ने गरिन्छ। क्यान्सरको प्रकार हेरेर बोनम्यारो ट्रान्सप्लान्टेसन गर्नुपर्ने हुन्छ। सुरुमा क्यान्सर देखिने बित्तिकै सबैलाई बोनम्यारो ट्रान्सपलान्टेसन गरिँदैन। अथवा सुरुमै हाई-रिक्स देखा पर्यो भने किमो थेरापी दिएर बोनम्यारो ट्रान्सपलान्टेसन लागि सुझाव गरिन्छ। लो रिक्स छ भने केमो थेरापी दिएर हेर्ने गरिन्छ।
ब्लड क्यान्सर भएर उपचार गराइरहेकाले के के कुरामा ध्यान दिने त ?
नेपाली समाजमा क्यान्सर भन्ने बित्तिकै अब जीवन नै सकियो बाँचिँदैन भन्ने भ्रम छ। ब्लड क्यान्सर हुँदैमा आफ्नो जीवन नै समाप्त भएको सोच्नु हुँदैन। हामीसँग नयाँ औजारहरू औषधिको विकास भएको छ। जसले गर्दा क्यान्सर धरै ठिक हुने सम्भावना रहन्छ।
शरीरमा रोग लाग्न नदिन के–के कुरामा ध्यान दिनुपर्छ ?
क्यान्सर कसैले कल्पना नगरी हुने कुरा हो। यो रोग विभिन्न केमिकल उद्योगमा गरिने काम, रगंरोगनको काम गर्नेमा बढी देखिन्छ। मेकअपको प्रयोग कम गरेमा यसबाट बच्न सकिन्छ। जथाभावी औषधि प्रयोग नगर्ने, अर्गानिक खानेकुरा खाने, सन्तुलित खानेकुरा खाने , धेरै सिटिस्क्यान नगर्ने, धूम्रपान तथा मद्यपान नगर्ने र व्यायाम नियमित गर्ने बानीको विकास गर्नुपर्छ। कसैलाई लक्षण देखा परेमा तुरुन्तै अस्पताल गएर रगत जाँच गराउनुपर्छ। सही उपचार र चिकित्सकको सल्लाहमा उपचार गरे यो रोग निको हुन्छ।
प्रतिक्रिया