पर्यटन ऐन छिट्टै ल्याइन्छ : मन्त्री किराती « Khabarhub

पर्यटन ऐन छिट्टै ल्याइन्छ : मन्त्री किराती


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐन छिट्टै ल्याइने बताएका छन् ।  भोजपुर-पौवादुङ्मा सेवा समाज काठमाडौँद्वारा आज आयोजित ‘भोजपुरको समग्र हितका लागि काठमाडौँमा रहेका सङ्घ-संस्थाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको समग्र पर्यटन विकासका लागि समयसापेक्ष पर्यटन ऐन ल्याइने जानकारी दिए । 

सरकारले पर्यटनको विकास गरी सर्वसाधारण जनताको आर्थिक हित कायम राख्न र पर्यटकीय लाभ अभिवृद्धि एवं पर्यटकलाई अत्यावश्यक सुविधा उपलब्ध गराउने उद्देश्यले २०३५ सालमा पर्यटन ऐन ल्याएको थियो । यस क्षेत्रका विज्ञ एवं जानकारहरूले पुरानो पर्यटन ऐनका कारण पर्यटन क्षेत्रको विकास प्रभावकारी हुन नसकेको गुनासो गर्दै आएका छन् । 

पर्यटन मन्त्रालयले पनि विभिन्न समयमा पर्यटन ऐनको मस्यौदा तयार गरेर चरणबद्ध छलफल गर्दै आएको थियो । पर्यटनमन्त्री किरातीले विज्ञ सरोकारवालाको राय सुझाव लिएर पर्यटन ऐन बनाइने उल्लेख गरे। उनले भने, ‘पर्यटन क्षेत्रको समयसापेक्ष विकासका लागि पर्यटन ऐन बनाउँदैछौँ, आइतबारदेखि एक महिने सुझाव लिएर पर्यटन ऐन बनाउनेतिर लाग्छु ।’

 पर्यटनमन्त्री किरातीले देशको विद्यमान विकासको ढाँचा परिवर्तन नगरेसम्म मुलुकको सन्तुलित विकास नहुने बताए। उनले प्राकृतिक र सांस्कृतिक रुपमा समृद्ध रहेको भोजपुरको इतिहास र समग्र विकासलाई केन्द्रविन्दुमा राखेर विकासको ढाँचा बनाइनुपर्ने तथा त्यसलाई देश विकासको नयाँ ढाँचाको रुपमा स्थापित गर्नसकिने दाबी गरे । भोजपुरको टक्सारको संरक्षण, सांस्कृतिक गाउँ, सङ्ग्रहालयको अवधारणा अघि सारिएको र यसका लागि सबैको सहयोग तथा सहकार्य चाहिने उनको भनाइ थियो । 

कार्यक्रममा पूर्वमन्त्री एवं साहित्यकार शङ्करप्रसाद कोइरालाले गौरवशाली इतिहास बोकेको अथाह सम्भावनायुक्त भोजपुरको भविष्य राम्रो रहेको उल्लेख गरे। भौतिक प्रगतिका हिसाबले केही पछि परे पनि शैक्षिक उन्नयनमा भोजपुर अग्र स्थानमा रहेको उनले उल्लेख गरे । शिक्षा, पर्यटन, कृषि, खेलकुद आदि क्षेत्रमा भोजपुर देशकै नमूना जिल्ला बन्न सक्ने भएकाले सबै सरोकारवालाले जिल्लाको विकासमा ध्यान दिनुपर्ने कोइरालाले खाँचो औँल्याए ।

 पूर्वमन्त्री हेमराज राईले भोजपुरको सम्भावनालाई विकास र समृद्धिमसित जोड्न सबै क्रियाशील हुनुपर्नेमा जोड दिए। पूर्वमन्त्री टंक ढकालले भोजपुरको समग्र विकासका लागि रणनीतिक ढंगले लाग्नुपर्ने बताए।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले भोजपुरको इतिहासलाई केन्द्रमा राखेर विकासमा सबै सरोकारवालाले ध्यान दिन जरुरी भएको बताए । नेकपा (माओवादी केन्द्र) भोजपुरका संयोजक नगेन्द्र भुजेल, नेकपा (एमाले) का केन्द्रीय सदस्य परशुराम अधिकारीलगायतले भोजपुरको विकासका लागि सबै सक्रिय ढङ्गले जुट्नुपर्ने औँल्याए ।

दावाली मिलन केन्द्रका अध्यक्ष रोशन श्रेष्ठले भोजपुरको विकासका लागि काठमाडौँमा सरकारी सेवा, पेशा, व्यवसायमा रहेका सबैले पहल गर्नुपर्ने धारणा राखे । भोजपुर पौवादुङ्मा सेवा समाज काठमाडौँका अध्यक्ष सीताराम कार्कीले भोजपुरको समग्र विकास र हितका लागि काठमाडौँमा बस्ने राजनीतिक दलका नेता, विभिन्न पेशा व्यवसायमा आबद्धले के–कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ५ : ०२ बजे

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले

‘महिला शक्ति जागरण अभियान’ शुभारम्भ

काठमाडौं– नेपालमा दाइजो कुप्रथाको पूर्ण अन्त्य, महिला हिंसा न्यूनीकरण र

‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा

गण्डकी- ‘निम्स दाइ’ को नामले चिनिने विश्वकीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको

विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति

काठमाडौं- नेपाली कांग्रेसले साउन २४ गते आइतबार केन्द्रीय कार्यसमिति बैठक

एउटै रुटका दुई झरना : जिरीको लौतीसँगै जुँगुको छहरामा आन्तरिक पर्यटक बढे

दोलखा– वर्षायाम सुरु भएसँगै दोलखाका प्राकृतिक झरनाहरूमा आन्तरिक पर्यटकको चहलपहल