साउनको अन्तिम सोमबार : दुई लाख भक्तजनले गरे पशुपतिनाथको दर्शन | Khabarhub Khabarhub

साउनको अन्तिम सोमबार : दुई लाख भक्तजनले गरे पशुपतिनाथको दर्शन


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सौरमासअनुसार साउनको अन्तिम सोमबार आज दुई लाखभन्दा बढी भक्तजनले पशुपति क्षेत्र गई भगवान् श्री पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गरेका छन् ।

विगतका सोमबारभन्दा आज पशुपतिनाथलगायत राजधानीका अन्य शिवालयमा भक्तजनको धेरै भीड देखिन्थ्यो । सौरमासअनुसार साउनको अन्तिम सोमबार बिहानैदेखि भक्तजनको धेरै लाम लाग्ने भएकाले आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए ।

पशुपतिनाथमा आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पनि दर्शन गरेको कोषले जनाएको छ ।

पशुपतिनाथलगायत राजधानीका शिवालयमा विशेषगरी साउने सोमबारको व्रत बसेका महिला भक्तजनको आज दिनभर लाम लागेको थियो । रातो र हरियो पहिरनमा सजिएका महिला भक्तजनमध्ये कतिपय भने तस्बिर खिच्न र टिकटक बनाउनकै लागि शिवालयमा आएका हुन् कि भनेजस्तो देखिने गरेको दर्शनार्थी राजेन्द्रप्रसाद श्रेष्ठले बताए । कोषले पशुपति क्षेत्रमा तीज एवं महाशिवरात्रिकै जसरी नै व्यवस्था गरेको थियो । भक्तजन जुन ढोकाबाट दर्शनका लागि छिरेका थिए, त्यसै ढोकाबाट निस्कने व्यवस्था गरिएको जनाइएको छ । पशुपतिनाथ मन्दिरमा भने अहिले पनि भक्तजनको भीड छ ।

यस वर्ष सौरमासअनुसार साउनमा पाँच सोमबार परेको छ । सौरमासअनुसार साउने सोमबारको अन्तिम दिन आज भए पनि यसपछि पनि चान्द्रमासअनुसार साउनका सोमबार भने बाँकी नै छन् । यस वर्ष सौरमासअनुसार साउन महिनामा अधिकमास (मलमास) परेकाले व्रत गर्न हुने वा नहुने भन्नेमा धर्मशास्त्रीबीच मतान्तर छ । एकथरी धर्मशास्त्रीले प्रत्येक वर्ष सौरमास अनुसारको साउन महिनामै गरिने व्रत भएकाले यो नित्यकर्ममा पर्ने तर्कसहित व्रत गरी त्यसको उद्यापन गर्नु हुने तर्क गरेका छन् ।

अर्का थरी धर्मशास्त्रीले भने अधिकमासमा भगवान् पुरुषोत्तमको मात्र पूजा, आराधना गरिने भएकाले चान्द्रमास अनुसारको साउन महिनामा मात्र व्रत र उद्यापन गर्नुपर्ने तर्क राखेका छन् । यस विषयमा निर्णय गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि यस विषयमा आधिकारिक निर्णय गरेको छैन । कुल, परम्पराअनुसार नै वर्तालुले साउनको सोमबारको व्रत गरेका छन् ।

साउनको सोमबार आज पशुपतिनाथमा बोलबम यात्रीको पनि भीड लागेको थियो । सुन्दरीजलस्थित बागमतीको मुहान क्षेत्रबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउन भक्तजन आइतबार साँझ नै सुन्दरीजल पुगेका थिए । ती भक्तजनले आज बिहान स्नान गरी सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथ मन्दिरमा चढाएका हुन् । बोलबम यात्रीलाई जल चढाउन पशुपतिनाथ मन्दिरमा एउटा ढोकाको व्यवस्था गरिएको संस्कृति संरक्षण महाशाखा प्रमुख पराजुलीले जानकारी दिए ।

पशुपतिनाथसँगै आज राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव मन्दिरलगायत राजधानीका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । यसैगरी राजधानी बाहिरका ठूला, साना शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको जनाइएको छ ।

साउन महिनामा शिवालयमा शुद्ध जलसहित पूजा, आराधना गरेमा मनोकामना पूरा हुने शास्त्रीय मान्यता छ । साउनको सोमबार पारेर पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना गर्ने भक्तजन पनि धेरै हुने गर्छन् । साउने सोमबार रु सात हजार पाँच सयभन्दा धेरैको मात्र विशेष पूजा गर्न सकिने गरी व्यवस्था गरिएको कोषले जनाएको छ ।

पशुपतिनाथमा साँझ आरती हेर्न आउने भक्तजनको पनि भीड लाग्ने भएकाले पनि भक्तजन बेलुकीसम्म धेरै देखिएका हुन् । पशुपतिनाथमा बेलुका भक्तजन आएसम्म सौरमासअनुसार साउनको अन्तिम सोमबारको दर्शन गर्न दिइने कोषले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  १० : ०४ बजे

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले