तनहुँमा वर्षेनी धान उत्पादन घट्दै « Khabarhub

तनहुँमा वर्षेनी धान उत्पादन घट्दै


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दमौली– धान खेतीतर्फ कृषकको आकर्षण घट्दै गएकाले  जिल्लामा वर्षेनी धान उत्पादन घट्दै गएको छ । पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान घट्दो अवस्थामा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए। पुरानो बीउ प्रयोग गरिएका कारण पनि धान उत्पादन घट्दो क्रममा रहेको उनको भनाइ थियो । 

प्रमुख तिवारीले भने, ‘पुरानो बीउ प्रतिस्थापन गर्न सकिए धान उत्पादन बढाउन सकिने र यसतर्फ कार्यालयले सोच पनि बनाएको छ ।’ ‘वर्षे धान बिक्री नभएकाले धानखेतीतर्फ कृषकको आकर्षण घटेको छ,’ उनले भने, ‘धान बिक्री हुन सकिरहेको छैन, कृषकले यत्तिकै थन्काएर राख्नुपर्ने अवस्था छ । बिक्री नै नभएपछि यसतर्फ आकर्षण पनि बढाउन सकिएको छैन ।’ 

पछिल्लो एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान उत्पादन घट्दो अवस्थामा छ । विसं २०६० मा ३५ हजार सात सय ८६ मेट्रिक टन वर्षे धान उत्पादन भएकामा विसं २०७९ मा ३३ हजार दुई सय ८० मेट्रिक टन धान उत्पादन भएको थियो । त्यतिबेला १२ हजार तीन सय ४० हेक्टर जमिनमा वर्षे धान खेती हुने गरेकामा अहिले घटेर आठ हजार तीन सय २० हेक्टर जमिनमा धान खेती भइरहेको केन्द्रले जनाएको छ । 

त्यस अवधिमा वर्षे धान खेती गरिएको  चार हजार २० हेक्टर जमिन घटानका साथै दुई हजार पाँच सय छ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ । विसं २०६० मा ११ हजार सात सय ८० मेट्रिक टन चैते धान उत्पादन भएकामा विसं २०७९ मा सात हजार नौ सय ३८ मेट्रिक टन उत्पादन भएको थियो । त्यतिबेला तीन हजार आठ सय हेक्टर जमिनमा चैते धान खेती हुने गरेकामा अहिले घटेर एक हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा मात्रै सीमित भएको छ । 

विसं २०६० मा आठ हजार एक सय ९४ मेट्रिक टन धान उत्पादन भएकामा विसं २०७९ मा २५ मेट्रिक टन मात्रै धान उत्पादन भएको छ । त्यतिबेला तीन हजार नौ सय दुई हेक्टर क्षेत्रफलमा घैय्या धान खेती हुने गरेकामा अहिले घटेर दश हेक्टर जमिनमा मात्रै उक्त खेती भइरहेको छ । यस अवधिमा घैय्या धान खेती गर्ने क्षेत्रफल तीन हजार आठ सय ९२ हेक्टरले घटेको  छ भने उत्पादन पनि घटेर आठ हजार एक सय ६९ मेट्रिक टन भएको छ । 

प्रमुख तिवारीका अनुसार कार्यालयले चैते धानलाई विशेष जोड दिएर कार्यक्रम सञ्चालन गर्न लागेको छ । चैते धानतर्फ कृषकको आकर्षण बढाउन चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो । यसका लागि कार्यालयले हाइब्रिड बीउ, हाते ट्र्याक्टर, धान उत्पादनमा प्रोत्साहन वितरणलगायत कार्यक्रम ल्याएको छ । 

आर्थिक वर्ष २०७९-८० मा कार्यालयले चैते धान प्रवर्द्धनका लागि रु ५० लाख बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा त्यसलाई बढाएर रु एक करोड ५० लाख पुर्‍याइएको छ । प्रमुख तिवारीले भने, ‘यो वर्ष चैते धानलाई विशेष जोड दिएर कार्यक्रम सञ्चालन गरिने र यसका लागि रु एक करोड बजेट वृद्धि भएको छ ।’

गत आर्थिक वर्षमा चैते धान प्रवर्द्धन कार्यक्रममार्फत दश वटा समूहलाई दुई हजार पाँच सय केजी हाइब्रिड बीउ वितरण गरिएको र त्यसका लागि रु ४३ लाख ५९ हजार खर्च भएको थियो । त्यस्तै १६ हजार १२ केजी उन्नत बीउ, २५ वटा हाते ट्र्याक्टर, ३४ वटा मिलका साथै धान उत्पादनमा रु छ लाख प्रोत्साहन रकम उपलब्ध गराइएको थियो । 

चालु आर्थिक वर्षमा चैते धानको बीउ प्रतिस्थापन, उन्नत र हाइब्रिड बीउ प्रयोगमा जोड, उपकरणको प्रयोग, चैते धान सुकाउने उपकरण, धान काट्ने उपकरण वितरण, कुलो निर्माण र मर्मत, चामल मिलको स्तरोन्नति र चैते धानको बजारीकरणमा सहयोग गरिने प्रमुख तिवारीले बताए । 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ३ : ५९ बजे

अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा

आज देशभर बीसौँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं– बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर

इजरायल-लेबनान युद्धविराम तीन साता थपिएको ट्रम्पको घोषणा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको कमजोर

नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभा नियमावली सांसदको विशेषाधिकारको रूपमा अघि बढाउन प्रस्ताव गरिएको

जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

जुम्ला– जुम्लाका आठवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहले आइतबार पनि