मिटरमा सञ्चालन नहुने ट्याक्सीलाई जरिवाना बढ्यो | Khabarhub Khabarhub

मिटरमा सञ्चालन नहुने ट्याक्सीलाई जरिवाना बढ्यो


१० आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरामा मिटर प्रणालीमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना रकम बढाइएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसहित मन्त्रालयका अधिकारी, सुरक्षा निकाय र यातायात कार्यालयका प्रमुखको हिजो बसेको बैठकले सो निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता एवं यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेलले मिटरमा नचल्ने ट्याक्सीलाई दुई हजार एक सयका दरले जरिवाना तिराउने गरिएकामा अबदेखि न्यूनतम जरिवाना पाँच हजार पुर्‍याउने निर्णय भएको जानकारी दिए ।

गत भदौ १ गतदेखि पोखरा उपत्यकामा चल्ने ट्याक्सीमा लागू भएको मिटर प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ रणनीति अपनाउने निर्णय भएको उनले बताए । मन्त्री जुग्जालीले ट्याक्सीको मिटर प्रणालीमा थप कडाइ गरिने बताए ।

‘ट्याक्सी मिटरमा सञ्चालन भए, नभएकाेबारे मन्त्रालयबाट नियमित अनुगमन भइरहेको छ’, उनले भने, ‘कुनै ट्याक्सीले मिटरमा चल्न नमानेमा तुरुन्तै ट्राफिक प्रहरी, यातायात कार्यालय र मन्त्रालयमा उजुरी गर्न सकिन्छ ।’ हालसम्म मिटरमा सञ्चालन हुन नमान्ने एक सय १७ वटा ट्याक्सीलाई कारबाही गरिएको र केही ट्याक्सी कारबाहीको प्रक्रियामा रहेको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मिटर प्रणालीमा नचल्ने ट्याक्सीलाई सवारी ऐनअन्तर्गत कारबाही गर्ने गरिएको कार्यालयका वरिष्ठ प्रहरी नायब निरीक्षक शिवप्रसाद पाठकले बताए ।

ट्याक्सीले मनपरी भाडा लिएर यात्रु ठग्ने गरेको जनगुनासो बढेपछि मन्त्रालयले मिटर प्रणाली लागू गर्न पहल लिएको थियो । ट्याक्सी व्यवसायीसँग विभिन्न चरणमा छलफल गरी मिटर प्रणालीमा ट्याक्सी सञ्चालन गर्ने निर्णय भएको थियो ।

विसं २०७८ फागुन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि पोखराका ट्याक्सी मिटरमा चलेका थिएनन् ।

दुई वर्षअघि समायोजन गरिएको भाडादरअनुसार १५ किलोमीटरको यात्रामा चढ्नासाथ (फ्ल्याग डाउन) ८० र त्यसपछि प्रति दुई सय मिटरको १० रुपैयाँ तोकिएको छ ।

१५ किमीभन्दा बढीको दूरीमा प्रतिकिमी ३७ रूपैयाँ ५० पैसा कायम गरिएको थियो । केही ट्याक्सी चालकले पछिल्लो समय इन्धन र सवारीसाधनका उपकरणमा भएको मूल्यवृद्धिअनुसार भाडा समायोजन नभएको भन्दै मिटरमा चल्न आनाकानी गर्न थालेको यात्रुले गुनासो गरेका छन् ।

भाडादर समायोजनको विषयमा पनि मन्त्रालय गृहकार्यमा जुटिरहेको जनाउँदै प्रवक्ता पौडेलले यातायात व्यवसायीले विगतमा गरेको प्रतिबद्धता कार्यान्वयनमा जिम्मेवार बन्नुपर्ने बताए । उहाँले ट्याक्सीले मनलाग्दी भाडा लिने प्रवृत्तिको अन्त्य गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ७ : ०५ बजे

पहिरोको जोखिममा भुलचौरा दलित बस्ती

दार्चुला– व्यास गाउँपालिका–४ स्थित भुलचौरा दलित समुदायको बस्ती लगातार पहिरोको

महाकाली सिँचाइ तेस्रो चरणमा

कञ्चनपुर– राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि महाकाली सिँचाइ तेस्रो चरणको

पत्रकारलाई सेनाको तालिम

काठमाडौं – महोत्तरीको बर्दीबासस्थित नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वार्टरले

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि सामुदायिक वनमा पोखरी

तनहुँ– डिभिजन वन कार्यालय तनहुँले चार वर्षको अवधिमा ४२ वटा

सरकारलाई पनि व्यवस्था अनिश्चित छ भन्ने लागिसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष