गाईभैँसीलाई सुत्केरी पोषण भत्ता | Khabarhub Khabarhub

गाईभैँसीलाई सुत्केरी पोषण भत्ता


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतमा गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ । जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो । गाउँपालिकालाई पशुपालनका माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले तीन वर्षदेखि सञ्चालन गरिएको सुत्केरी गाईभैँसीलाई पोषण भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएकाले यस वर्ष पनि निरन्तरता दिइएको पालिका कार्यालयले जनाएको छ ।

कृत्रिम गर्भाधानका माध्यमबाट गाईभैँसीको नश्ल सुधार गरी उत्पादन बढाउन पोषण भत्ता कार्यक्रम प्रभावकारी देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र आचार्यले बताए । कृत्रिम गर्भाधान सेवाप्रति आकर्षण बढाएर पाडापाडी र बाच्छाबाच्छी पाल्नेलाई प्रोत्साहन गर्न पोषण भत्ता कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो ।

“कृत्रिम गर्भाधान गराएका गाईभैँसीबाट जन्मिएका पाडापाडी र बाच्छाबाच्छी चार महिना पालेपछि मात्र अनुदान दिने गरिएको छ”, आचार्यले भने, “जसले गर्दा कृषकले उन्नत जातका पाडापाडी र बाच्छाबाच्छी पाल्न थालेका छन् ।” विशेष गरेर जन्मिँदाबित्तिकै भैँसीका पाडापाडी काटेर खाने (नपाल्ने) चलन हटाएर संरक्षण गर्न कार्यक्रम सञ्चालन गरिएको भन्दै यो कार्यक्रम प्रभावकारी देखिएको पशु सेवा प्राविधिक दिपक श्रेष्ठले बताए ।

गत आर्थिक वर्ष २०७९/८० मा ७२ जना कृषकलाई पाडापाडी र बाच्छाबाच्छी हुर्काएबापत पोषण भत्ता स्वरुप रू दुई हजार पाँच सयका दरले कूल रू एक लाख ८० हजार वितरण गरेको शाखाले जनाएको छ । जनप्रतिनिधि र पशु सेवा प्राविधिकले बाच्छाबाच्छी र पाडापाडीको अनुगमन गरेर अनुदान उपलब्ध गराउने कार्यविधि छ । नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रमका अलावा उन्नत जातका राँगो, साँढे र बोकासमेत वितरण गरेको छ । यसका लागि अनिवार्य पशुबीमा गर्नुपर्ने उल्लेख गरिएको छ ।

पालिकालाई दूध, मासु र अण्डामा आत्मनिर्भर बनाउन बाख्रा, गाईभैँसी र कुखुरापालनको पकेट क्षेत्र बनाएर कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ । उत्पादन लागत घटाउन घाँसमा आधारित पशुपालनका लागि बहुबर्षे डाले र भुइँघाँस खेती विस्तारका लागि बीउ र बिरुवा वितरण गरेको छ । वार्षिक १९ लाख ५२ हजार ३१४ लिटर दूध आवश्यकपर्ने जलजला गाउँपालिका दूधमा आत्मनिर्भर बनेर निकासी गर्ने अवस्थामा पुगेको पशु स्वास्थ्य प्राविधिक श्रेष्ठले जानकारी दिए ।

वार्षिक २७ लाख ६३ हजार एक सय ५० लिटर दूध उत्पादन हुने जलजलाबाट आठ लाख १० हजार आठ सय ३६ लिटर दूध निकासी हुने गरेको उनले बताए । वार्षिक तीन लाख तीन सय ५६ किलोग्राम मासु आवश्यकपर्नेमा एक लाख ७१ हजार ५३ किलोग्राम र १० लाख २९ हजार सात सय ९२ वटा अण्डा आवश्यकपर्नेमा छ लाख ५७ हजार दुई सय ८० वटा उत्पादन हुने गरेको जलजलाको पशु सेवा शाखाले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  ४ : ३८ बजे

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

गण्डकी – हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल