चितवन– चितवनको इच्छाकामना गाउँपालिकाका किसानले आफूले पालेका खसीबोका नारायणगढ बजारमा बिक्री गरेका छन् । इच्छाकामना गाउँपालिका–६ कोयलघारीका निरबहादुर गुरुङले नारायणगढ बजारमा खसीबोका बिक्री गरेको बताए ।
‘दुई दिनसम्म नारायणगढमा खसी बेच्न गएँ । मूल्य नै पाइँदैन’, उनले भने, ‘केजीको पाँच सय रुपैयाँमा पनि बिक्री हुन गाह्रो भयो ।’ उनले गाउँबाट ३३ किलोमिटर दूरीमा रहेको नारायणगढ बजारमा ल्याएर खसीबोका बिक्री गरेका हुन् । कतिपय किसानले घरबाट नै खसीबोका बेच्ने गरेका छन् ।
यसअघि गाउँको सहकारीले घरमै आएर खसीबोका खरिद गर्दथ्यो । यस वर्ष खरिद गरेका छैनन् । त्यसकारण पनि किसानले बजार झरेर खसीबोका बेच्नु परेको इच्छाकामना–६ कोयलघारीकी च्यन्टी मायाँले भनिन् । ‘खोरमा २० बाख्रा छन् । चार वटा २० हजारमा बेचियो’, उनले भने, ‘अरु खसी बजार लगेर बेच्ने तयारीमा छु ।’
कोयलघारीकै डोपबहादुर गुरुङलाई विगतकाे वर्षजस्तै यस वर्ष दसैँ खर्चको जोहो गर्न समस्या भएन । उनले घरमा पालेका खसीबोकाले दसैँ खर्च टर्ने भएको छ ।
घरमा पालेका १० खसीबोका बिक्री गरेर यसपालिको दसैँ खर्चको जोहो गरिसकेको उनको भनाइ छ । खसीबोका बिक्रीबाट गुरुङले दसैँमा करिब ९० हजार रुपैयाँ आर्जन गरेका छन् ।
प्रतिक्रिया