चिसोको मारमा भूकम्पपीडित, बालबालिका र गर्भवती बढी जोखिममा | Khabarhub Khabarhub

चिसोको मारमा भूकम्पपीडित, बालबालिका र गर्भवती बढी जोखिममा

अस्थायी टहरा बनाउन राजनीतिक दलको होडबाजी



काठमाडौं –भूकम्पपीडितको उद्धारमा तदारुकता देखाएको सरकार पुनःनिर्माण तथा अस्थायी आवास निर्माणमा भने चुकेको छ । जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित सरकारी कार्यशैलीबाट आजित बनेका छन् । भूकम्प गएको एक महिना पुग्न लाग्दा पनि सरकारले प्रभावितको यकिन तथ्याङ्कसम्म सङ्कलन गर्न सकेको छैन ।

गत कात्तिक १७ गते १५७ जनाको मृत्यु हुने गरी गएको भूकम्पले घर बाहिर भएका लाखौं नागरिक पुनःस्थापनामा सरकारी ढिलासुस्तीले पालमुनि बस्न बाध्य छन् । चिसो बढ्दै जाँदा उनीहरुको दैनिकी कष्टकर बन्दै गएको छ । त्यो मात्र होइन, भूकम्पबाट बचेकाहरु चिसोका कारण मृत्युको मुखमा पुगेका छन् ।

जाजरकोट र रुकुम पश्चिमका चिसोका कारण १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा अधिकांश बालबालिका र अशक्त रहेका छन् । भूकम्पका कारण परिवार तथा आफन्त गुमाएकाहरु चिसोका कारण मृत्युको खबर सुन्न चाहँदैनन् । तर, बढ्दो चिसो, पालमुनिको बसाईँ तथा असन्तुलित भोजनका कारण मृत्यु हुनेहरुको सङ्ख्या बढिरहेको स्थानीय बताउँछन् ।

जाजरकोटका भूकम्पपीडित भौतिक मल्लका अनुसार प्रभावित क्षेत्रमा स्थित भयावह छ । लामो समयसम्म पालमा बस्दा बालबालिका, सुत्केरी तथा गर्भवती महिला र अशक्तहरु बढी जोखिमका देखिन्छन् । जाजरकोटमा पछिल्ला दिनहरुमा चिसो बढ्दै गएको भन्दै मल्ल भन्छन, ‘चिसो हरेक दिन बढ्दैछ, केही दिनमा हिमपात पनि सुरु हुनसक्छ । हिमपातपछि भूकम्प प्रभावित क्षेत्रमा अकल्पनीय अवस्था आउनसक्छ ।’ त्यसलाई रोक्न सरकारले यथाशक्य छिटो अस्थायी आवास निर्माण गरेर पीडितलाई सुरक्षित स्थानमा सार्ने र पुनःनिर्माणमा लाग्नुपर्ने उनको भनाइ छ ।

अस्थायी आवासका निर्माणका लागि भन्दै मंसिर ४ गते सरकारले १ अर्ब ४१ करोड रुपैयाँ विनियोजन गरेको थियो । तत्कालका लागि विनियोजन गरिएको रकम १० दिन बितिसक्दा पनि पीडितको हातमा नपरेको उनको गुनासो छ ।

लाखौं नागरिक पालमुनि

भूकम्पका कारण जाजरकोटमा मात्रै ९० हजार मानिस घरबाहिर रहेको प्रारम्भीक तथ्याङ्क छ । जाजरकोटमा ३४ हजार ६ सय बढी घरमा क्षति पुगेको र त्यसमध्ये लगभग ९ हजार ६ सय घर पूर्ण रुपमा क्षति भएको बताइएको छ ।

जाजरकोटमा भूकम्पका कारण ९ सय सुत्केरी, ११ सय गर्भवती महिला घरबाहिर बस्न बाध्य छन् । १ हजार बढी दीर्घरोगी र ५ सय बढी अशक्त नागरिक तथा १० हजार बढी बालबालिका पालमुनि बस्न बाध्य छन् । उनीहरु चिसोको उच्च जोखिममा रहेको बताइएको छ । यता रुकुम पश्चिममा पनि २७ हजार बढी घर भूकम्पका कारण क्षति भएको तथ्याङ्क छ ।

जाजरकोटको तुलनामा रुकुम पश्चिममा अस्थायी आवास निर्माणले गति लिएको रुकुमबाट पत्रकार लक्ष्मण केसीले जानकारी दिए । रुकुमको त्रिवेणी गाउँपालिकाका ६३ परिवारलाई भने पहिलो किस्ता बापतको रकम पठाइसकिएको छ । अस्थायी आवासका लागि सरकारले पठाएको रकम दुई किस्तामा वितरण गरिने बताइएको छ । पहिलो किस्ता बापत २५ हजार रुपैयाँ उपलब्ध गराइने र अस्थायी आवास निर्माण सकिएपछि दोस्रो किस्तामा २५ हजार दिइनेछ ।

लगत सङ्कलनमै उल्झन

भूकम्प प्रभावितको लगत सङ्कलनका लागि सरकारले स्थानीय तहलाई जिम्मेवारी दिएको छ। तर, लामो समयसम्म पनि स्थानीय तहले लगत संकलनको काम टुंग्याउन सकेका छैनन् । जाजरकोटका स्थानीय तहसँग प्रारम्भिक तथ्याङ्क नै पूरा नभएको स्थानीय बताउँछन् ।

जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्र घर्तीका अनुसार अबको दुई दिनमा तथ्याङ्क सङ्कलनको काम सकिनेछ । संघीय सरकारका कारण तथ्याङ्क सङ्कलनमा समस्या आएको उनको भनाइ छ । नगर प्रमुख घर्ती भन्छन्, ‘संघीय सरकारले दुईपटक कार्यविधि संशोधन गर्दा तथ्याङ्क सङ्कलन गर्न समस्या भयो ।’

लाभग्राही पहिचानका लागि स्थानीय र प्रदेश सरकारले बनाएको कार्यविधि संघीय सरकारले परिमार्जन गर्दा सङ्कलन भएको तथ्याङ्कको आधिकारिकता पुष्टि हुन सकेन,’ प्रमुख घर्ती खबरहबसँग भन्छन्, ‘एक–दुई दिनमा लगत सङ्कलन सकेर जिल्ला विपदसँग रकम माग गर्छौं र हप्ता/दश दिनमा अस्थायी संरचना निर्माण सक्ने लक्ष्य राखेका छौं ।’

जाजरकोटका सबै स्थानीय तहमा अहिले पनि लगत सङ्कलन भइरहेको छ । स्थानीय तहले लगत सङ्कलन गरेर जिल्ला विपद व्यवस्थापन कार्यालयमा बुझाएपछि मात्रै उसले अस्थायी आवास निर्माणका लागि रकम पालिकाको खातामा पठाउनेछ । पालिकाले वडामा रकम पठाएपछि मात्रै पीडितको खातामा पुग्ने बताइएको छ ।

जाजरकोटको तुलनामा रुकुम पश्चिममा लगत सङ्कलन तथा अस्थायी आवास निर्माणले गति लिएको पाइएको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीका अनुसार सो पालिकाले लगत सङ्कलन सकेर जिल्लामा पठाइसकेको छ ।

अब एक दुई दिनमा अस्थायी आवासको पहिलो किस्ता बापतको रकम पीडितको खातामा पुग्ने केसीले जानकारी दिए । पीडितको लगत संकलनका लागि प्रहरीले मुचुल्का उठाउनुपर्ने र पीडितको घरसम्म पुग्न टाढा–टाढा जानुपर्ने भएका कारण ढिलाई भएको केसीको भनाइ छ ।
भूकम्पका कारण कर्णाली प्रदेशका सात जिल्लामा क्षति पुगेको थियो । सबै जिल्लाको क्षति विवरण वडा तह हुँदै पालिका र जिल्लाले सङ्कलन गरिरहेका छन् । त्यसलाई प्रदेशको सामाजिक विकास मन्त्रालय हेरिरहेको छ ।

हालसम्म सरकारका कुनै पनि तहसँग पीडितहरुको यकिन तथ्याङ्क भेटिएन । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयसँग भूकम्प प्रभावितको तथ्याङ्क सङ्कलनमा किन ढिलाइ भरहेको छ भनेर प्रश्न गर्दा चित्तबुझ्दो जवाफ आएन । मन्त्रालयका फोकल पर्सन बलवीर सुनारका अनुसार मन्त्रालय स्थानीय तथा जिल्ला विपद् कार्यालयसँग समन्वय गरेर तथ्याङ्क सङ्कलनमा जुटिरहेको छ । अन्तिम तथ्याङ्कका लागि अझै केही दिन लाग्ने उनले जानकारी दिए ।

अस्थायी आवासमा दलका कार्यकर्ताको प्रतिस्पर्धा

भूकम्पलगत्तै राहत र उद्धारमा जुटेका राजनीतिक दलका कार्यकर्ताहरु अहिले अस्थायी आवास निर्माणमा जुटेका छन् । विशेषगरी मुख्य राजनीतिक दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्रले स्वयंसेवकका रुपमा आफ्ना कार्यकर्तालाई रुकुम पश्चिम र जाजरकोटमा खटाएका छन् ।

नेपाली कांग्रेसले १ हजार अस्थायी आवास निर्माण गर्ने बताएको छ । एमालेले आफ्ना ७ सय कार्यकर्ता १५ दिनसम्म प्रभावित क्षेत्रमा क्रियाशील गराएको छ । माओवादी केन्द्रका कार्यकर्ता पनि अस्थायी टहरा निर्माणमा खटेका छन् ।

राजनीतिक दलहरुले पहिलो प्राथमिकता अति विपन्न परिवारलाई दिइरहेको स्थानीय दीपबहादुर घर्तीले जानकारी दिए । एमालेका केन्द्रीय सदस्य तथा विपत् व्यवस्थापन विभागका प्रमुख किरण पौडेलको नेतृत्वमा जाजरकोट र रुकुमपश्चिमा गरी एक हजार एक सय स्वयंसेवक खटिएका छन् ।

पौडेलका अनुसार एमालेले कार्य विभाजन गरी २५ समूहमा अस्थायी आवास निर्माण तथा भत्किएका घरहरू पन्छाउने काम गरिरहेका छन् ।
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा तीन समूहले काम गरिरहेको छ । कांग्रेस प्रदेश समितिका प्रवक्ता दमन शाहीका अनुसार उक्त समूहका नेविसङ्घ, तरुण दललगायत विभिन्न सङ्गठनका नेता, कार्यकर्ता छन् । उनका अनुसार थप १४ जना केन्द्रीय सदस्यको नेतृत्वमा प्रत्येक ठाउँमा टोली परिचालन गर्ने गरी कार्यतालिका बन्दैछ ।

माओवादी केन्द्रको प्रदेश कमिटीले मात्रै तीन हजार एक सय स्वयंसेवक खटाएको स्थायी समितिका सदस्य कालीबहादुर मल्लले बताए । जाजरकोट र रुकुम पश्चिमका साथै अन्य जिल्लाबाट पनि पार्टीका कार्यकता खटिएका उनले बताए ।

माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह नेतृत्वमा दुई सय स्वयंसेवकको समूह गत बिहीबारदेखि प्रभावित क्षेत्रमा जुटेका छन् । राष्ट्रियसभा सदस्य एवं माओवादी नेता मायाप्रसाद शर्माका अनुसार प्रत्येक वडामा एक सयदेखि दुई सय नेता तथा कार्यकर्ता पुनर्निर्माणमा खटिएको छन् ।

त्यस्तै, समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र युवा सङ्घको टोली पनि प्रभावित क्षेत्रमा खटिएको छ । आरती लामाको नेतृत्वमा अनेरास्ववियुको ५० भन्दा बढीको टोली प्रभावित क्षेत्रमा खटिएका छन् । त्यस्तै रास्वपा जिल्लाको टोली पनि निरन्तर प्रभावित क्षेत्रमा सक्रिय रहेका छन् ।

शुक्रबारदेखि जाजरकोटको बारेकोटमा पनि काम सुरु गरिएको एमालेका विपत् व्यवस्थापन विभागका प्रमुख पौडेलले बताए । बारेकोट भूकम्पको इपिसेन्टर हो ।

चिसो पालमुनि रहेका जनतालाई त्योभन्दा अलि सुरक्षित स्थानमा राख्ने गरी काम भइरहेको पौडेलको भनाइ छ । उनका अनुसार अहिलेसम्म एमालेका स्वयंसेवकले दुई जिल्लामा करिब पाँच सय अस्थायी टहरा निर्माण गरेका छन् ।

त्यस्तै, रास्वपाले अहिलेसम्म १७ अस्थायी टहरा निर्माण गरेको जनाएको छ। तीमध्ये १० वटा पूर्ण रूपमा बनिसकेका छन् भने बाँकी सम्पन्न हुने अवस्थामा पुगेका छन् ।

रास्वपाका भौतिक पूर्वाधार विभाग प्रमुखसमेत रहेकी सांसद निशा डाँगीका अनुसार आठबिस नगरपालिकाको–१४ र सानोभेरी गाउँपालिकाको १, २ र ४ मा अस्थायी आवास निर्माण गरिएको  हो। रास्वपा रुकुमका नेतासमेत रहेका इन्जिनियर मानबहादुर शाहीको टोलीले ती संरचना निर्माण गरेको छ ।

माओवादीले जिल्ला र प्रदेशको सबै शक्तिलाई पुनःस्थापनामा खटाएको जनाएको छ। जाजरकोटमा ऊर्जामन्त्री शक्ति बस्नेत सुरुदेखि नै सक्रिय छन् भने रुकुम पश्चिममा जनार्दन शर्माको कमान्डमा पार्टीको जिल्ला कमिटी स्वयंसेवकका रुपमा सक्रिय छन् ।

प्रभावित क्षेत्रमा खटिएका स्वयंसेवक तथा नेताहरू अस्थायी आवास निर्माणमा ढिलाइ भइरहेको बताउँछन् । मंसिरभित्र पालमुक्त गरेर अस्थायी आवासमा स्थानान्तरण नगर्ने हो भने चिसोले ज्यान जाने खतरा बढिरहेको उनीहरूको भनाइ छ ।

सरकारले अस्थायी आवास निर्माणबारे अहिलेसम्म कुनै तदारुकता नदेखाएको पीडितको गुनासो छ। मंसिरभित्र अस्थायी आवास निर्माण गरिसक्नु अनिवार्य आवश्यकता भएको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य गणेशप्रसाद सिंहले खबरहबलाई बताए । तर, भूकम्प प्रभावित जिल्लामा टिनलगायत निर्माण सामग्रीको अभाव भइरहेको उनको भनाइ छ ।

(रुकुम पश्चिमबाट लक्ष्मण केसी र जाजरकोटबाट काली नेपालीको सहयोगमा)

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ८ : ०५ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये