नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ६ र ७ का बासिन्दालाई पालिका कार्यालय र जिल्ला सदरमुकाम कावासोती पुग्नै कठिन हुने गरेको छ ।
‘घरघरमा सिंहदरबार भन्थे, नागरिकता बनाउन करिब ८० किलोमिटर टाढा कावासोती पुग्नुपर्छ, पालिका कार्यालय पुग्नै ४० किलोमिटर टाढा छ’, त्रिवेणीका स्थानीय विनयकुमार थापाले भने, ‘हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ ।’
त्रिवेणी क्षेत्रका दुईवटा वडाका बासिन्दाले सहज बाटो नहुँदा धेरै दुःख खेप्नुपरेको उनको भनाइ छ । ‘हामीलाई आपत छ, सदरमुकाम र पालिका जानुपर्ने कुनै काम नपरे हुन्थ्यो भन्ने लाग्छ, यति दुःख दिएर हामीलाई गण्डकीमा राख्नुभन्दा लुम्बिनी प्रदेशमा गाभिदिए हुने’, उनले भने ।
सदरमुकाममा कुनै काम लिएर जानुपरे दुःखसँगै आठ–दश हजार रुपैयाँ खर्च बोकेर हिँड्नुपर्ने अवस्था रहेको त्रिवेणीका विष्णुप्रसाद चौलागाईँले बताए । त्रिवेणी–दुम्कीबास बाटो खोल्छौँ भनेको धेरै समय बितेपनि अझै समस्या उस्तै रहेको उनले गुनासो छ ।
‘बाटो खोल्छौ भनेको यति समय बिते, प्रदेशका मुख्य व्यक्ति आउनेजाने गरेकै छन्, तर खोल्ने सुरसार छैन, अब त बाटो खुल्ने आशा पनि मरिसकेको छ’, उनले भने ।
लुम्बिनीमा राखे धेरै सहज हुने जनाउँदै चौलागाईँले भने, ‘यहाँ घरको भात खाएर साइकलमा गएर नागरिकता बन्छ, मालपोतको काम हुन्छ, उहाँ कहाँ घुमेर पुग्नुपर्छ, सरकारलाई आग्रह छ । हाम्रा लागि कि बाटो खोलिदेऊ नत्र लुम्बिनीमा मिलाइदेउ ।’
त्रिवेणी–दुम्कीबास सडक नखोलेसम्म त्रिवेणी क्षेत्रका दुई वडाका बासिन्दाको भलाइ नहुने वडा नं ६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताए । बाटो नखुल्दा आफ्नै पालिका पुग्नसमेत कठिन अवस्था रहेको उनले बताए । बाटो नखोल्ने र गण्डकीमा रहने हो भने यहाँका जनतालाई कुनै भलो नहुने उनको तर्क छ ।
त्रिवेणी–दुम्कीबास सडक खोल्ने विषय गाउँपालिकाले पटकपटक उठान गरिरहेको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । यो सडक समग्र विनयी त्रिवेणीको र गण्डकी प्रदेशको भविष्यसँग जोडिएकाले सडक खोल्नुको विकल्प नभएको उनको भनाइ छ ।
त्रिवेणी क्षेत्रका स्थानीयको सहजता, समग्र पालिका र प्रदेशको आर्थिक विकाससँग त्रिवेणी–दुम्कीबास सडक जोडिएकाले यसलाई खुलाउने विषयमा प्रदेश, संघ र स्थानीय सरकार एक भएर लाग्नुपर्नेमा जोड दिए ।
गत शुक्रबारमात्रै त्रिवेणी पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले त्रिवेणी–दुम्कीबास सडक खोल्न उच्च प्राथमिकता दिने बताएका थिए ।
नवलपुरको दुम्कीबासबाट बगुवन हुँदै त्रिवेणीसम्म १९ किलोमिटर दूरी पर्दछ । बगुवनसम्म अहिले पनि यातायात सञ्चालन हुने गर्दछन् । बगुवनबाट त्रिवेणीसम्म १६ किलोमिटर पर्दछ ।
यसमा करिब सात किलोमिटर क्षेत्रमा निकुञ्जले वन्यजन्तुको चरिचरन क्षेत्र बताउने गरेको छ । मध्यवर्ती क्षेत्र पर्ने र पुरानो हुलाकी सडक रहेको स्थानीयको भनाइ छ ।
विसं २०५९ अघि हुलाकी सडकका रूपमा रहेकामा यस खण्डमा विसं २०६३ मा सडकको मर्मत गरी यातायात सञ्चालन गरिएको थियो । हुलाकी सडकका रूपमा रहेको यस खण्डलाई गजेन्द्रमोक्ष जनतामार्ग नामकरण गरी विसं २०६३ असोजमा यातायात सञ्चालन गरिएको थियो ।
विसं २०६४ जेठमा निकुञ्जले वन्यजन्तु चरिचरनको क्षेत्र भनेर समेटेपछि यातायात सञ्चालनमा रोक लगाइएको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया