काठमाडौं – आइसिसी यू–१९ विश्वकप क्रिकेटमा नेपालसँग प्रतिस्पर्धा गरिरहेको न्युजिल्यान्डको ब्याटिङ लाइन सम्हालिएको छ । १५ ओभरभित्र आफ्नो महत्वपूर्ण तीन विकेट गुमाएको न्युजिल्यान्ड त्यसपछि सम्हालिएर खेलेको हो ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको न्युजिल्यान्डले पहिलो १० ओभरको पावरप्लेमा कुनै विकेट गुमाएको थिएन । नेपालले पावरप्लेपछिको पाँच ओभरभित्रमा उसको तीन विकेट लिएको थियो ।
नेपालका लागि सुवास भण्डारीले पहिलो सफलता दिलाए । उनले १०.१ ओभरमा न्युजिल्यान्डका ओपनिङ ब्याट्सम्यान लुक वाट्सनलाई बोल्ड गरे ।
१३.५ ओभरमा नेपालले दोस्रो विकेट लियो । नेपालका तिलकराज भण्डारीले न्युजिल्यान्डका ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड गरे । स्पिनर दिपेश कँडेलले १४.३ ओभरमा नेपालका लागि तेस्रो विकेट लिए । उनले न्युजिल्यान्डका ओलिभर टेवाटियालाई शून्यमा क्याच आउट गराए ।
दक्षिण अफ्रिकामा भइरहेको प्रतिस्पर्धाको समूह ‘डी’ मा रहेका नेपाल र न्युजिल्यान्डले अहिले खेलिरहेका छन् ।
नेपालविरुद्ध न्युजिल्यान्डका स्नेहिथ रेडीले अर्धशतक हानेका छन् । धर्मराएको ब्याटिङ लाइनलाई उकास्ने क्रममा उनले ६८ बलमा ४ चौकाको मद्दतमा अर्धशशतक बनाए । उनलाई साथ दिएका कप्तान ओस्कर ज्याकसनले ३६ रन बनाएका छन् ।
ताजा अवस्थामा न्युजिल्यान्ड ३२ ओभरमा तीन विकेट गुमाएर १४४ रन बनाएर खेलिरहेको छ ।
प्रतिक्रिया