भोजपुर– प्रथम पौवादुङमा गोल्डकपको उपाधि देउराली फुटबल क्लबले हात पारेको छ । अन्तिम खेलमा आम्तेक–११ लाई ३–२ गोल अन्तरले हराउँदै देउरालीले उपाधि जितेको हो ।
यो जितसँगै देराउराली फुटबल क्लबले नगद तीन लाख रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र पाएको छ भने उपविजेता बन्ने आम्तेक ११ ले नगद दुई लाख, मेडल र प्रमाणपत्र पाएको छ ।
यही माघ १ गतेबाट सुरु भएको प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए । प्रतिस्पर्धात्मक खेलमा देउरालीका लागि बिजु भुजेलले दुई गोल गरे भनेभने थप एक गोल सुवास तामाङले गरेका थिए । उता आम्तेक ११ का लागि दुवै गोल निशान लिम्बूले गरेका थिए ।
देउरालीका बिजु भुजेल फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । उत्कृष्ट खेलाडी देउरालीकै विवेक राई, उत्कृष्ट गोलरक्षक देउरालीका चरी लिम्बू, उत्कृष्ट डिफेन्डर आम्तेकका रेमन उदास घोषित भएको आयोजक समितिका सचिव देउमान राईले बताए ।
त्यस्तै उत्कृष्ट मिडफिल्डर आम्तेक–११ का रोशन भुजेल, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ताको पुरस्कार आम्तेक–११ का निशान लिम्बूले प्राप्त गरेको पौवादुङमा गोल्डकप तथा माघीमेला कार्यक्रम–२०८० आयोजक समिति अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिए ।
विजेता तथा उपविजेता बन्ने समूहलाई पुरस्कार वितरण गर्दै खेलक्षेत्रको विकाससँगै युवा, बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि गाउँपालिकाले गोल्डकप प्रतियोगिता सञ्चालन गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।
प्रतियोगिता सञ्चालनले यहाँको पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुगेको अध्यक्ष राईको भनाइ छ ।
प्रतिक्रिया