जीवित देवी कुमारीको रहस्यमय जीवन « Khabarhub

जीवित देवी कुमारीको रहस्यमय जीवन



काठमाडौं – राजधानीको मुटु मानिने दरबार क्षेत्रमा रातो पहिरनमा चिटिक्क सजिएकी देवी कुमारीले दशनार्थीलाई पुलक्क हेर्छिन् । निधारको एउटा कुनादेखि अर्को कुनासम्म फैलिएको रातो टीका, आँखामा लामो पारेर पोतिएको गाजल र अनेक गरगहनाले सजिएकी कुमारीको सरल हाउभाउबाट जो कोही सजिलै प्रभावित हुन्छन् ।

देवी कुमारीलाई तलेजु भवानी र दुर्गाको अवतार मानिन्छ । उनै देवीले काठमाडौं र यहाँका मानिसको रक्षा गर्ने जनविश्वास छ ।

कतिपयले जीवित देवी कुमारीमा रोग निको पार्ने र जीवनमा आइपर्ने बाधा व्यवधान हटाउन सक्ने शक्ति रहेको भन्दै दर्शन एवं पूजा गर्दै आएको पनि पाइन्छ ।

धेरैमा कुमारीको पैतालाले भुईँ टेक्न नहुने धारणा रहेको देखिन्छ । लामो समयदेखि देवी कुमारीका संरक्षकको जिम्मेवारी सम्हाल्दै आएका गौतमरत्न शाक्य भने यो मान्यता सही नभएको बताउँछन् । उनका अनुसार देवी कुमारीको पैतालाले जमिन टेक्न नहुने मान्यतामा कुनै सत्यता छैन ।

‘इन्द्र जात्राजस्ता पर्वमा पनि आफैँ हिँडेर जाने हो,’ उनले सुनाए, ‘इन्द्र जात्रामा देवीलाई रथमा राखेर नगर परिक्रमा गराइन्छ ।’

कुमारी छनोट प्रक्रिया धेरै नै जटिल र गोप्य छ । ज्योतिषीय मान्यता र शारीरिक परीक्षणका आधारमा कुमारीको छनोट हुने गरेको कतिपयको बुझाइ छ । कुमारी बन्न राति भुतसँग बस्नुपर्ने र यस्तै अरु हल्लाका कारण कुमारीको छनोट प्रक्रिया अझ रहस्यमय बन्न पुगेको छ ।

खासमा कुमारी छनोट हुन बोधिसत्वजस्तै विशिष्ट शारीरिक बनावट आवश्यक पर्ने आम मानिसको बुझाइ छ ।

कुमारी छनोट भएकी बालिकालाई कुमारीघर (कुमारी छेँ) मा राखिन्छ । कुमारी बनेकी बालिकाका मातापिताले पनि उनीसँग प्रत्यक्ष व्यवहार गर्न नपाउने र परिवारका सदस्यले समेत उनको निधार र चरणमा छोएर आशिर्वाद माग्ने चलन छ ।

रजस्वला सुरु भएपछि भने कुमारीले कुमारीघरमा बसिरहनुपर्दैन । उनको ठाउँमा अर्की कुमारी आउँछिन् ।

एकपटक कुमारी भइसकेपछि फेरि सामान्य जीवनमा फर्किन निकै जटिल हुन्छ ।

कुमारीले विवाह नै नगरी एक्लो जीवन बिताउनुपर्ने चर्चा पनि व्याप्त छ । कुमारीबारे धेरै कुरा थाहा भए पनि कुमारीघरभित्र के हुन्छ भन्ने विषय चाहिँ गोप्य नै रहन्छ । कुमारीघरभित्र रात्रीकालीन संस्कार, सहनशीलताको परीक्षण, देवीसँग कुमारीको सम्बन्ध चित्रण हुने चर्चा प्रशस्तै सुनिन्छन् ।

वास्तवमै, कुमारीको जीवन संसारकै लागि रहस्यको विषय बनेको छ ।

कुमारीबारे कतिपय गलत धारणा, अफवाह र रहस्य कायम रहेको गौतमरत्न शाक्य मान्छन् । उनका अनुसार कुमारीको जीवन एक्लो र सांस्कारिक मात्रै पनि छैन । ‘अहिलेकी कुमारीको उमेर ८ वर्ष हो, अरु केटाकेटीजस्तै उनको दिन बित्छ ।’ उनी भन्छन् ।

कुमारी मोबाइल चलाउँछिन्, टेलिभिजन हेर्छिन् र कुमारी घरका सदस्य अनि साथीभाइसँग खेल्छिन् । कुमारीको खुट्टाले भुईँ छुनै नहुने मान्यता पनि सही नभएको उनले स्पष्ट पारे ।

शाक्यका अनुसार कुमारी शैक्षिक गतिविधिमा पनि संलग्न छिन् । दैनिक दिउँसो १२ देखि ४ बजेसम्म उनको पढाइ हुन्छ । उनका लागि बेग्लै शिक्षकको समेत व्यवस्था गरिएको छ र नियमित परीक्षा पनि हुने गर्छ । स्कुलका साथीभाइ र सँगै कक्षामा पढ्ने केटाकेटी पनि उनलाई भेट्न आइरहन्छन् ।

परिवारका सदस्यसँग भेटघाट र दर्शनार्थीहरुलाई पनिले समय दिनुपर्छ । कुमारीको परिवारका सदस्यले उनलाई छुनै नपाउने भ्रम रहेको पनि शाक्य बताउँछन् । उनका अनुसार परिवारका सदस्यले कुमारीलाई स्पर्श अंकमाल गर्न पाउँछन् ।

कुमारीले हरेक दिन बिहान ९ देखि ११ बजेको समय दर्शनार्थीका लागि छुट्याउने गरेकी छिन् । दर्शनार्थीले कुमारीको चरण र शीरमा छोएर आशिर्वाद माग्छन् ।

कुमारीले मुस्कुराउनु हुँदैन भन्ने अर्को भ्रम रहेको शाक्य बताउँछन् । बालख कुमारीको बालापन र स्वच्छ मनबाट निस्केको मुस्कान र हाँसो पवित्र रहेको उनको भनाइ छ ।

पूर्वकुमारीले बिहे गरेर घरजम गरेको उदाहरण दिँदै शाक्य भन्छन्, ‘बिहे गरेर घरजम गरेका पूर्वकुमारीले सुखी जीवन बिताएका प्रशस्तै उदाहरण छन् ।’

कुमारी छनोट प्रक्रिया पनि सरल रहेको उनी बताउँछन् । उनका अनुसार कुमारी ११ वर्ष पुगेपछि नयाँ जन्मने बालिकाका परिवारलाई चिना बुझाउन आग्रह गरिन्छ । त्यसपछि ज्योतिष र तान्त्रिकहरुले चिना हेरेपछि कुमारीको योग्यता निर्धारण  गर्छन् ।

कुमारी छनोट गर्दा डरलाग्दो प्रक्रिया पूरा गर्नुपर्ने धारणा भ्रमबाहेक अरु केही नभएको शाक्य स्पष्ट पार्छन् ।

कुमारीको दिन प्रातकालीन पूजाबाट सुरु हुन्छ । त्यसपछि कुमारीले बिहानको नास्ता खान्छिन् ।

नास्ता खाइसकेपछि दिउँसो १२ बजेसम्म कुमारीले दर्शनार्थीहरुलाई आशिर्वाद दिन्छिन् । त्यसपछि उनको पढाइ सुरु हुन्छ ।

बेलुकीको समय व्यक्तिगत काममा उनी व्यस्त हुन्छिन् । उनको खेल्ने समय, मोबाइल र अरु उपकरण चलाउने काममा उनको बेलुकाको समय बित्छ । राति चाहिँ होमवर्क गर्ने, टेलिभिजन हेर्ने, घरका मानिसहरुसँग भलाकुसारी गर्ने हुन्छ ।

देवी भए पनि सबैभन्दा सुरुमा कुमारी एउटी बालिका हुन् । उनको आफ्नो व्यक्तिगत जीवन पनि हुन्छ । धार्मिक जिम्मेवारी निभाउँदा बालापनमा असर नपुग्ने हिसाबले कुमारीको जीवन चलिआएको छ ।

तस्बिर : चिरायु शाक्य

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ७ : ४० बजे

सभामुख र संसदीय समिति सभापतिबीच छलफल

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा, राष्ट्रियसभा तथा संयुक्त

पश्चिम बंगालमा तृणमूलको गढ भत्किँदा केरलामा वाम पत्तासाफ, तामिल नाडुमा थलपति विजयको अभूतपूर्व उदय

काठमाडौं- भारतका विभिन्न ५ राज्य तथा केन्द्रशासित क्षेत्रमा सम्पन्न विधानसभा

जब उपचार कुरिरहेका वृद्ध वीर अस्पतालमा लाइन बस्दा-बस्दै ढले…

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको शक्तिशाली सरकारले देशभरका सरकारी कार्यालयबाट

सचिवालयको स्पष्टीकरण : प्रधानमन्त्रीले सञ्चारकर्मीलाई भिडियो खिच्न रोक्न निर्देशन दिएको होइन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न अवरोध

सार्वजनिक सेवा प्रसारण नेपालद्वारा पहिलो वार्षिक प्रतिवेदन पेस

काठमाडौं– सार्वजनिक सेवा प्रसारण नेपालले आफ्नो पहिलो वार्षिक प्रतिवेदन नेपाल