सुधारगृह बनेनन् कारागार : कैदीका नाममा वर्षेनी १३ अर्ब स्वाहा ! | Khabarhub Khabarhub

सुधारगृह बनेनन् कारागार : कैदीका नाममा वर्षेनी १३ अर्ब स्वाहा !



काठमाडौं–गत शुक्रबार नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाले ज्यान गुमाए । दिउँसोको समयमा आपसी कुरा नमिलेपछि भएको झडपमा कैदी पूर्णबहादुर राजीको ज्यान गयो । कारागारकै सिमेन्टको ब्लक उठाएर पूर्णबहादुरमाथि आक्रमण गर्ने कोमलकुमार महतो थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पछिल्लो समय घटेको यो जस्तै घटना कारागारमा घटिरहन्छन् । यसको उचित व्यवस्थपनका लागि सरोकारवाला निकायले गम्भीर भएर काम गरेको पाइँदैन ।

कारागार अर्थात विभिन्न अपराधमा कसुरदार ठहरिएकाहरुलाई सुधारका लागि राख्ने ठाउँ हो । जुन अपराधी थुन्ने मात्र होइन, सुधार्ने स्थान पनि भएकाले कारागारलाई सुधारगृहका रुपमा विकास गर्नुपर्ने माग पनि धेरैको छ । कारागार सुरक्षाका हिसाबले पनि मजबुत हुन्छ र हुनुपर्छ पनि । तर, हाम्रो देशका कारागारमा भएका श्रृङ्खलाबद्ध घटनाले कारागार सुरक्षामा प्रश्न चिन्ह् खडा गरेको छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार, कारागा भित्र भएको झडपमा परी २०६७ यता ५ जनाको मृत्यु भएको छ भने २९ जना घाइते बनेका छन् ।

कहिले कसको मृत्यु ?

  • २०६७ भदौ १७ गते, कपिलबस्तु कारागारमा झडप हुँदा थुनुवा बिनोद कुमार पाठकको मृत्यु ।
  • २०६८ पुस १ गते, चितवन कारागारमा झडप हुँदा थुनुवा शिबप्रसाद पौडेलको मृत्यु ।
  • २०६९ पुष १० गते, काठमाडौंको नख्खु कारागारमा श्री नेपालको मृत्यु ।
  • २०७३ माघ १७ गते, पर्सा जिल्ला कारागारमा राजुबाबु बानियाको मृत्यु ।
  • २०७६ साउन १७ गते, नख्खु कारागार, पूर्णबहादुर राजीको मृत्यु

स्रोतः प्रहरी प्रधान कार्यालय

प्रहरीको तथ्याङ्क अनुसार, पछिल्लो ८ बर्षमा २९ जना कैदिबन्दी कारागारभित्र घाइते भएका छन् । त्यसमध्य सबैभन्दा बढी ८ जना पर्वत कारागारका कैदिबन्दी छन् । त्यस्तै चितवन कारागारमा ४ जना, कास्कि कारागारमा ६ जना, पाल्पा र दाङ कारागारमा ५/५ जना घाइते भएका छन् ।

यस्ता छन् कारागार भित्र भएका केही ठूला घटना

  • २०७६ साउन १७ गते शुक्रबार दिउँसो नख्खु कारागारमा जुम्रा हेरिरहेका दुई कैदीबीच झडप हुँदा एकले घटनास्थलमै ज्यान गुमाए ।
  • २०७३ मंसिर १२ गते, महोत्तरीको जलेश्वर कारागारमा कैदीबन्दी बीच झडप हुँदा २२ जना घाइते ।
  • २०६९ पुस २५ गते बुधबार, मध्य राति सिन्धुलि कारागार भित्रै कैदी बन्दीहरुविच कुटाकुट मच्चियो । कुटपिटबाट कैदी निरज देवकोटाको मृत्यु भयो । घटनामा परि अन्य सातजना कैदीहरु घाइते भए ।
  • २०६९ कार्तिक, प्रहरीको आँखै अगाढि करिव ८० फिट लामो सुरुङ खनेर कुख्यात अपराधीको जत्था पूर्वाञ्चल क्षेत्रीय कारागारबाट फरार ।
  • २०६८ साल मंसिर २० गते, चितवन कारागार भित्र झडप भयो, झडपमा परि घाईते भएका ४ जना मध्य एकजनाको मृत्यु भयो ।
  •  २०६८ साल मंसिर १४ गते, मकवानपुरको भिमफेदीस्थित क्षेत्रीय कारागारमा झडप हुँदा १२ जना घाईते भए ।
  •  २०६७ साल फागुन २६ गते देशकै सर्वाधिक सुरक्षित मानिने केन्द्रीय कारागारमै गोली चल्यो, गोली लागि सञ्चार उद्यमी युनुस अन्सारी घाईते भए ।
  • २०६६ सालमा पूर्वाञ्चल क्षेत्रीय कारागार भित्र कैदीबन्दीको एउटा समूहको कुटपिटबाट कैदी अर्जुन तामाङको मृत्यु भयो ।

कुन कारागारमा कति कैदीको मृत्यु भयो सूची हेर्नुहोस्

यसबाहेक पनि कैदीहरुबीचको झगडा, सुरक्षाकर्मीको आँखा छलेर भाग्ने लगायतका थुप्रै घटना छन् । कारागारमा झडपका घटना भएको कुरा कारागार व्यवस्थापन विभागका निर्देशक बासुदेव घिमिरे पनि स्वीकार्छन् । उनका अनुसार अहिले देशभरका कारागारलाई क्ष्ँमता भन्दा कैदी बढी राख्नुपर्ने बाध्यता छ । त्यसले समस्या बढाएको हो ।

यता प्रहरी प्रवक्ता विश्वराज पोखरेल पनि कारगारमा सुरक्षा मजवुद् पारिएपनि बेला बखत घटना हुनेगरेको कुरा स्वीकार्छन् । उनि भन्छन् – कारागकारको भौतीक संरचनाको अवस्था निकै दयनिय छ । कोचाकोच गरेर कैदीबन्दी राख्नु पर्ने अवस्था छ । यसले सुरक्षामा समस्या निम्त्याएको छ । यद्यपी यदाकता प्रहरीबाट लापरबाही भएको घटनामा पनि देखिएका छन् । उनि थप्छन्–हामीले त्यस्ता व्यक्तिलाई अनुसन्धान गरी कारबाहिको दायरामा ल्याएका छौं । नेपाल प्रहरी यस प्रकारको बिषयमा सचेत रहेको छ ।

क्षमता १५ हजार, कैदीबन्दी २२ हजार
कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार अहिले देशभरका कारागारमा कुल १५ हजार ४ सय ६६ जना कैदिबन्दी राख्ने क्षमता छ । जसमा २१ हजार ५ सय ७७ जना कैदिबन्दि छन् । कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार, संखुवासभा, खोटाङ, रामेछाप, काभ्रेपलाञ्चोक, रसुवा, पर्सा, पाल्पा, दैलेख, जुम्ला, अछाम, वैतडि र डडेल्धुरा लगायतका १२ जिल्ला बाहेकका ६५ जिल्लामा क्षमताभन्दा बढि मात्रामा कैदिबन्दी छन् । यसले पनि थप समस्या निम्त्याईरहेको छ ।

देशभरका कारागारमा कति क्षमता ?

कैदीबन्दीका नाममा वार्षिक १३ अर्व स्वाहा !

अहिले सरकारले कैदी वन्दीलाई दैनिक ७ सय ग्राम चामल र ६० रुपैयाँ पैसा दिंदै आएको छ । यस बाहेक दशैं खर्च, सुत्केरी खर्च, लत्ताकपडा, औषधी उपचार लगायतमा पनि खर्च हुन्छ । कारागार व्यवस्थापन विभागका निर्देशक तथा प्रवक्ता बासुदेव घिमिरेका अनुसार, एकजना कैदीबन्दी बापद् सरदर मासिक ५ हजार रुपैयाँ खर्च हुन्छ ।

यसलाई हेर्दा २१ हजार ५ सय ७७ जना कैदीबन्दीका लागि मासिक १ अर्ब ८ करोड हाराहारी खर्च हुन्छ । यही रकमलाई एकबर्षको हिसाव गर्दा १३ अर्ब हाराहारी कैदीबन्दीका नाममा मात्र खर्च भइरहेको छ ।

भनिरहनु पर्दैन अहिले देशभरका कारागारालाई क्षमता भन्दा कैदी बढी राख्नुपर्ने बाध्यता छ । प्रहरीका अनुसार पनि कारागारको दुरावस्थाका कारण पनि सुरक्षामा कठिनाई भएको हो । तर, यसो भन्दैमा सुरक्षा निकाय र कारागार प्रशासनको लापर्वाही भएको छैन चाहीं भन्न मिल्दैन । हुनपनि घटना श्रृङ्खलाबद्ध रुपमा घटेको छ, सुरक्षामा कमजोरी भएको पनि सवैलाई थाहा छ, घटनाबारे प्रतिवेदन पनि निस्कन्छ, अव सुरक्षामा नचुक्ने प्रतिबद्धता पनि दोहोरिन्छ तरपनि समस्या भने बढिरहेको छ । यो विषयमा अनुसन्धान गरि चाँडो भन्दा चाँडो समस्याको निकास खोज्नुपर्छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  १० : ०३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर