शेरबहादुरले मान्लान् त महासमितिको म्यान्डेट? | Khabarhub Khabarhub

शेरबहादुरले मान्लान् त महासमितिको म्यान्डेट?



काठमाडौं– जुनसुकै राजनीतिक दाउपेचमा छैटौँ पटक प्रधानमन्त्री हुने बाटो खोजिरहने ७८ वर्षीय कांग्रेस सभापति शेरबहादुर देउवाले दुई पटकबढी सरकार प्रमुख हुन नपाइने महासमिति बैठकको म्यान्डेट मान्लान् भन्ने स्वयं कांग्रेसीजनमा संशय छ । आफ्नो स्वार्थका लागि विधि, विधान, पद्धति मिच्ने पृष्ठभूमि भएका देउवाले महासमितिका सम्पूर्ण निर्णय केन्द्रीय समितिमार्फत गराउने चलाखीपूर्ण निर्णय गराउनुको पछाडि यही रहस्य लुकेको धेरैको बुझाई छ । 

महामन्त्री विश्वप्रकाश शर्माको राष्ट्रप्रमुख एक, सरकार प्रमुख दुई, मन्त्री तीन र सांसद चारपटक बढी दोहोर्‍याउन नपाइने सर्त सहितको प्रतिवेदन महासमिति बैठकले अनुमोदन गरेको थियो । कांग्रेसभित्र पूर्वप्रधानमन्त्रीको हैसियतमा देउवा एक मात्र जीवित नेता हुन । उनी पक्षीय नेताहरू महासमितिको उक्त निर्णय लागू नहुने खुलेआम बताउँदै आएका छन् । 

महासमिति बैठकमा उठेका विषयलाई अब चैतभित्र नै केन्द्रीय समिति बैठक बोलाएर नीति बनाइने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माको भनाइ छ । उनका अनुसार अब १५ औं महाधिवेशन अगाडि कांग्रेसले फेरि विधान अधिवेशन गर्ने छ । त्यो बेला विधान बनाएर मात्र कांग्रेस १५ औं महाधिवेशनमा जाने छ । नीति अधिवेशनमा विभिन्न समूहमा उठेका साझा प्रस्तावलाई मूल प्रस्तावमा परिमार्जन गरी प्रस्तुत गर्न समय लाग्ने भएकाले पार्टीको सबैभन्दा शक्तिशाली केन्द्रीय कार्यसमितिलाई जिम्मा दिएको हो । 

महासमिति बैठकको सुझाव संकलन गरेर नीति बनाउन कार्यदल बनाउन लागेकोमा फेरि विरोध हुने बुझेपछि कांग्रेसले पछि सारेका थियो ।कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेका अनुसार महासमितिमा उठेका विषयलाई कार्यदल बनाएर परिमार्जन गरी टुङ्गो लगाउन लागिएकोमा त्यसो नगरी केन्द्रीय कमिटीले नै अनुमोदन गर्ने निधो भएको हो । 

उनले अगाडि भने, ‘महासमिति बैठकमा  समसामयिक राजनीति प्रस्ताव पास गर्न दबाब बढी हुन्थ्यो र समय धेरै खर्चिनु पथ्र्यो ।’ 

प्रवक्ता विश्वकर्माले तत्काल प्रस्तावहरू पास गरेको खण्डमा कुहिरोमा हिँडेको जस्तो हुने र सबै विषय समायोजन नहुने भएकाले केन्द्रीय कार्यसमितिले स्पष्ट ढङ्गबाट दुई प्रतिवेदन र एउटा प्रस्ताव गहिरो अध्ययन गरेर पारित गर्ने बताए । 

उनले भने, ‘ती प्रस्तावमाथि झण्डै–झण्डै १८ घण्टासम्म अध्ययन गरिएको छ । त्यहाँ उठेका सबै विषय परिमार्जन नगरी पारित गर्ने अवस्था थिएन ।’ 

यसो हुँदा कांग्रेसले चैतको अन्तिमसम्म पार्टीको नीति ल्याउने बुझिएको छ । तर त्यसको कार्यान्वयन भने १५ औं महाधिवेशनपछि मात्र हुने बताइएको छ । 

महामन्त्रीको तेजोबध त्रास
महामन्त्री विश्वप्रकाश शर्माले धेरै नेता तथा सांसदहरू नियमन गर्ने प्रस्ताव ल्याए । उनले प्रस्तुत गरेको समसामयिक राजनीति प्रस्ताव प्रस्तावमा  एक व्यक्ति दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने भनिएको छ । 

यस्तै शर्माले  एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तेस्रो पटकसम्म मन्त्री र चौथो पटक बढी सांसद हुन नपाउने व्यवस्था गर्न उपयुक्त हुने सन्दर्भ उठाएका छन् ।

 तर यो प्रस्तावले आफैले आफैंलाई नियमन गर्ने प्रस्ताव भएको कतिपय कांग्रेस नेताको आरोप छ  । उनले प्रस्तुत गरेको प्रस्ताव सुन्दा मिठो कविताजस्तो भएको तर कार्यान्वयनमा जटिलभएको कांग्रेस नेता तथा सरकारका अर्थमन्त्री डा.प्रकाशसरण महतको भनाइ छ । 

यस्तै, कांग्रेस सहमहामन्त्री डिना उपाध्यायले यसमा महिलाका महत्वपूर्ण विषय समेटिनुपर्ने बताइन । उनले भनिन्, ‘ समसामयिक राजनीति प्रस्ताव प्रस्तावमा महामन्त्रीले उठाएका विषय उहाँले आफै एक पटक सोच्नुपर्ने हुन्छ । यसमा महिला नेतृत्वमा आउने विषय पनि खुलस्त भएको भए राम्रो हुन्थ्यो ।’ 

केन्द्रीय सदस्य प्रदीप पौडेलले केन्द्रीय कमिटीको बहुमत अनुसार सबै प्रस्ताव तथा नीतिहरू बन्ने बताए । उनले भने, ‘यो विषय केन्द्रीय कमिटीमा साथीहरूले  राख्नुपर्‍यो । व्यवहारमा कतिको उपयोगी हुनुपर्छ ? जहाँसम्म प्रधानमन्त्री र राष्ट्रपति हुनेको कुरा छ, सबैलाई अवसर दिन यो जायज छ ।’ 

खबरहबसँगको कुराकानीमा कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले थपे, ‘यी कुराको बारेमा निर्णय कस्तो गर्ने भन्ने छलफल हुन्छ । बहुमतले के भन्नुहुन्छ, त्यही पारित हुने हो । केही हदमा विश्वजीले राख्नुभएका विषय सकारात्मक छन् । एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री यो त यो हेर्दा सान्दर्भिक जस्तो नै छ । तर देशको आवश्यकतामा पनि भर पर्छ ।’ 

युवाहरूबाट नयाँ विचार उत्पादन हुनु राम्रो भएको भन्दै कोइरालाले अब पार्टीले एक वर्षपछि विधान अधिवेशन गरेर नयाँ विधानअनुसार १५ औँ महाधिवेशन गर्ने बताए । 

यता पार्टी प्रवक्ता विश्वकर्मा भने लोकप्रिय कुरा भन्दा पनि व्यवहारिक कुरा कांग्रेसले अवलम्बन गर्ने बताउँछन् । 

१५ औँ महाधिवेशन, नयाँ नेतृत्वबारे बहस
नेपाली कांग्रेसको विधानमा २ पटक बढी सभापति हुन नपाउने व्यवस्था छ । यसो हुँदा अब  कांग्रेस सभापति देउवा सभापति हुन पाउँदैनन् । कांग्रेस सभापतिको रुपमा तेस्रो पटक चुनिने सुविधा उनलाई नियमले दिएको छैन । यस अवस्थामा देउवाले आफू निकट कुनै व्यक्तिलाई अगाडि सार्ने योजनामा रहेको विश्लेषक प्रा.डा. गोविन्दमानसिहं कार्की बताउँछन् । 

उनले खबरहबलाई भने, ‘१५ औँ महाधिवेशनमा कांग्रेसमा कायापलट पनि हुन सक्छ । हामीले अनुमान गरेर डा.शेखर कोइराला, गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, बिमलेन्द्र निधि भन्दा फरक पनि आउने सम्भावना देखिएको छ । को हुन्छ अहिले त अनुमान गर्न पनि अलमल परियो ।’ तर सहमहामन्त्री बद्री पाण्डे भने कांग्रेस संस्थापन इतर समूहलाई टक्कर दिन सक्ने एक मात्र नेता शेखर कोइराला भएकाले १४ औँ महाधिवेशनमा पनि कोइराला पक्षमा देउवापछि बलियो मत झरेको कारण शेखरको विकल्प कांग्रेसमा नभएको बताए । उनले भने, ‘गगन र शेखरजी को एउटै लाइन हो । यसमा अन्य नेता र अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि साथ दिनुहुन्छ ।’ 

तर शेरबहादुर देउवा समूहले आरजु राणालाई पनि अगाडि सार्ने हल्ला  सुनिन थालेको छ । यसबारे कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्दम्बेले भने, ‘जो कोही मापदण्ड पुगेको केन्द्रीय सदस्य नेतृत्वमा आउन सक्छ । आरजु राणा नआउने भन्ने हुन्छ र ! यो त उहाँको पार्टीमा हक र स्वतन्त्रताको कुरा हो । जो कोही उठ्न पाउँछ नि ।’ 

उनले अहिले यतातिर सोच्नु भन्दा पनि परिस्थिति अनुसार नेतृत्व आउने बताए । उनले भने, ‘१५ औँ महाधिवेशन बाट गुट उपगुट केही हुन्न । निर्वाचनबाट यसअगाडिको जस्तै नेतृत्व चुनिनु हुन्छ ।’ उसो त देउवाले पूर्णबहादुर खड्कालाई पनि अगाडि सार्ने कतिपयले आंकलन गरेका छन् । खड्कालाई देउवाले हरेकजसो कार्यक्रममा अग्र पङ्क्तिमा देखाउने गरेका छन् । देउवा पक्षका नेताले भने, ‘खड्काको इच्छा पनि हो । उहाँबाट सभापतिले हरेक सल्लाह लिनुहुन्छ । सभापतिले रुचाएको मान्छे हो ।’ 

उसो त युवाको तर्फबाट गगन थापाको नाम पनि चर्चामा उठेको छ । यसको तयारीका लागि माहोल बनाइरहेको समेत उनको पक्षको भनाइ छ । तर उनी शेखर समूहमा रहेकाले त्यो समूहले रोक्ने प्रबल सम्भावना छ । उनले यसअगाडि संसदीय दलको नेतामा उम्मेद्वारी दिएर यसको पुष्टि गरिसकेका छन् । तर गगन नेतृत्वमा उठ्ने कुरामा कांग्रेस इतर समूहका नेता पाण्डे सहमत छैनन् ।

उनी भन्छन्, ‘उहाँले संसदीय दलको नेतामा उम्मेदवारी दिनु शेखरलाई बाइकट गर्नु होइन । डा. शेखरले दिएको निर्देशन पालना गर्नुभएको हो ।’ 

जे होस् महासमिति बैठकको समीक्षा गर्दा कांग्रेस नेता र शुभेच्छुको मनसाय बुझ्दा कांग्रेसको १५ औँ महाधिवेशन अगाडिका महाधिवेशन भन्दा  विशेष हुने देखिएको छ । को नेतृत्वमा आउने भन्ने कुरामा चर्चामा रहेका नेता देखि गौण रहेका नेताको समेत मत भिन्न छ । थरिथरि मत भए पनि कांग्रेसमा रहेको दुई धार मध्ये संस्थापन पक्ष देउवा समूह बलियो देखिएको छ । 

प्रकाशित मिति : २६ फाल्गुन २०८०, शनिबार  २ : ५५ बजे

एनपीएल अक्सन: देवलाई कर्णाली र अर्जनुलाई सुदूरपश्चिमले किन्यो

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट

आजका समाचार : प्रधानमन्त्री उद्धार कोषमा बढ्दै सहयोग, रविको बचाउमा प्रचण्ड, जोडिँदै सुनकोशीमा बेलिब्रिज

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग नेपाली कांग्रेसले

एनपीएल अक्सन: सन्दीप, सूर्य र विवेकलाई लुम्बिनीले १५-१५ लाखमा किन्यो

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा मिडल अडर ब्याट्सम्यान सन्दीप जोरालाई

पन्ध्र लाख रुपैयाँमा भीम सार्कीलाई किन्यो काठमाण्डु गुर्खाजले

काठमाडौं- नेपाल प्रिमियर लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर

भेट्न आएका कतारका राजदूतलाई मेयर बालेनले दिए बुद्धको मूर्ति

काठमाडौं–काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले विश्वकप फुटबल व्यवस्थापनमा