कुचोको मूल्य घटेपछि अम्रिसो किसान समस्यामा « Khabarhub

कुचोको मूल्य घटेपछि अम्रिसो किसान समस्यामा


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

फिक्कल– इलामको माङसेबुङ गाउँपालिका–२ माकाहाङका किसान उदय सङबाङफेले गत साल रु तीन लाख ९० हजारको कुचो बिक्री गरे। संयुक्त परिवारमा बस्दै आएका उनको १७ जनाको परिवारलाई घरखर्च चलाउन ठिकै भयो । उनले प्रतिकिलो रु एक सय ३० का दरले ३० क्विन्टल कुचो बेचेका थिए। 

यस वर्ष पनि पोहोर जस्तै कुचोबाट आम्दानी हुने आशाले सङबाङफेले खेतीयोग्य जमिन मासेर अम्रिसो लगाएका थिए तर कुचोको मूल्य घट्यो । ३० क्विन्टल कुचो बिक्री गर्दा राम्रो भाउ आएन । 

‘यतिबेला प्रतिकिलो रु ६० देखि रु ६५ मात्र छ, खेताला लगाएको पारिश्रमिक पनि नउठ्ने भएपछि गोदाममा नै थन्क्याएर राखेको छु,’ उनले भने, ‘अलि भाउ आउँछ कि भनेर पर्खेको तर भाउ आएन, यो साल घरखर्च टार्न समस्या हुने भयो ।’

माकाहाङकै अर्का किसान रणबहादुर लिम्बू समस्या पनि उदयको भन्दा फरक छैन । गुजारा चलाउने माध्यम अम्रिसो खेतीलाई बनाएका लिम्बूको परिवार अहिले कसरी घरव्यवहार चलाउने भन्ने चिन्तामा छ । गत वर्ष प्रतिकिलो रु एक सय २० का दरले १२ क्विन्टल कुचो बेचेका उनले यस वर्ष प्रतिकिलो रु ७० ले मात्र कुचो बेचे। कुचोबाट आम्दानी हुने आशाले खेतीयोग्य जमिनमा अम्रिसो रोपेका उनलाई कुचोले भाउ नपाएपछि चिन्ताले पिरोलेको  छ । 

उनीहरु प्रतिनिधि किसान मात्र हुन् । यस वर्ष कुचोले राम्रो मूल्य नपाएपछि उनीहरूजस्ता जिल्लाका प्रायः सबै किसानलाई गुजारा चलाउन समस्या परेको छ ।

 विगतका वर्षमा अम्रिसोबाट उत्पादन हुने कुचोको मूल्य उच्च रहेकाले इलामका अधिकांश किसानले खेतीयोग्य जमिन मासेर अम्रिसो रोपेका थिए तर यस वर्ष कुचोको मूल्य घटेपछि किसानमा निराशा छाएको छ । गत वर्ष प्रतिकिलो रु एक सय २० देखि रु एक सय ३० सम्ममा किनबेच भएको कुचो अहिले प्रतिकिलो रु ६५ मा मात्र किनबेच भइरहेको माङसेबुङ गाउँपालिका–५ का व्यापारी जसहाङ साउदेनले बताए। यो मूल्य गत वर्षको तुलनामा ५० प्रतिशतले कमी हो । 

भाउ घटेकै कारण किसानबाट किनेको कुचो बिक्री नगरी गोदाममै थन्क्याएर राख्न बाध्य भएको साउदेनले बताए।

‘यस वर्ष सुरुमा ‘ए ग्रेड’ कुचोको भाउ प्रतिकिलो रु ७० देखि ७५ सम्म चल्यो । मैले पनि सोही भाउमा किसानबाट कुचो किने तर अहिले भाउ घटेर प्रतिकिलो  ६५ मा झर्‍यो,’ उनले भने, ‘करिब आठ सय क्विन्टल कुचो गोदाममै थन्क्याएर राखेको छु । यस वर्ष कुचोले किसान मात्र होइन व्यापारीलाई समेत घाटा लगाएको छ ।’

जिल्लामो अलैँची खेती मासिने क्रम बढेपछि अधिकांश किसानले अम्रिसो लगाएका थिए । पाखो र भिरालो जमिन भए पनि सप्रिने अम्रिसो अलैँचीको वैकल्पिक खेती बनेको थियो । अम्रिसो खेती इलामका प्रायः सबै पालिकामा हुने गर्छ । 

इलाममा उत्पादित कुचो झापाको धुलाबारीमा संकलन गरी काँकटभिट्टा हुँदै भारत निकासी हुने गर्छ । इलाममा वार्षिक तीन हजार पाँच सय मेट्रिक टन कुचो उत्पादन हुने गरेको तथ्यांक छ । कुचो उत्पादन हुने क्षेत्र थपिँदै गएकाले उत्पादनमा वृद्धि हुने व्यापारीको अनुमान छ । 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १ : ५७ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच