पहाडमा सिके राउतको ‘बहु-पहिचान’ « Khabarhub

पहाडमा सिके राउतको ‘बहु-पहिचान’

जनमतका उम्मेदवार थाम्सुहाङ भन्छन्– कोशीको नाम 'किरात लिम्बुवान' राख्नुपर्छ


२७ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डा. सिके राउत नेतृत्वको जनमत पार्टीलाई मानिसहरुले मधेस केन्द्रित दलका रुपमा चिन्ने गर्छन् । तथापि यो पार्टी ०७९ को चुनावमा ३ प्रतिशत मत कटाएर राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।

जनमतले पहाडमा पनि आफ्नो उपस्थिति देखाउन आगामी बैशाख १५ मा हुने  उपचुनावमा इलाम क्षेत्र नम्बर २ मा आफ्नो उम्मेदवार खडा गरेको छ । पार्टीले आफ्नो निर्वाचन चिह्न हाते माइक मार्फत इलामकै स्थानीय युवा प्रेम थाम्सुहाङलाई उम्मेदवार बनाएको हो ।

जनमत पार्टीले प्रदेश १ को नाम बहुपहिचानका आधारमा हुनुपर्ने माग लिएर उम्मेदवार उठाएको पार्टीका अध्यक्ष डा.सिके राउत बताउँछन् । जनमत पार्टीका अध्यक्ष डा राउतले प्रतिनिधिसभामा बोल्ने क्रममा प्रदेश १ को नाम पहिचानका आधारमा हुनुपर्ने र त्यहाँको आन्दोलनलाई सम्बोधन गर्नुपर्ने बताउँदै आएका छन् ।

थाम्सुहाङ प्रदेश १ लाई किरात लिम्बुवान प्रदेश नामकरण गर्नुपर्ने अभियानका संयोजकसमेत हुन् । जनमत पार्टीले मधेसमा पनि पहिचानको आधारमा नाम राख्नुपर्छ भन्ने आवाज उठाएको कारण आफू सो पार्टीको समर्थनमा उम्मेदवार बनेको थाम्सुहाङ बताउँछन् ।

यो पनि-

इलाममा ८ स्वतन्त्रसहित २० जनाको उम्मेदवारी दर्ता

को हुन् थाम्सुहाङ ?

प्रेम थाम्सुहाङ ०३६ सालमा इलामको चुलाचुली गाउँपालिका–२ मा जन्मिएका स्थानीय बासिन्दा हुन् । चुलाचुली गाउँपालिका झापाको सीमानामा रहेको पालिका हो ।

त्रिभुवन विश्व विद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर तह सकेका प्रेमदीप शिक्षित एवं इलामको समस्या बुझेका उम्मेदवार हुन् । ०५६–०५७ सालबाट नै पहिचानवादी विद्यार्थीको नेतृत्व गरेका थाम्सुहाङ निरन्तर रूपमा बहुपहिचानको पक्षमा उभिँदै आएका छन् ।

पूर्वी नेपालमा ०६२ सालपछि भएको लिम्बुवान आन्दोलनका अगुवासमेत रहेका थाम्सुहाङ ०७९ सालमा प्रदेश १ को नाम कोशी भएपछि किरात–लिम्बुवान प्रदेश नामकरण हुनुपर्छ भन्दै संगठन खोलेर अध्यक्षको भूमिकामा छन् । उनी आफूलाई जनताले नै उम्मेदवार हुनुपर्छ भनेर अनुमोदन गरेको तर्क गर्छन् ।

किसान परिवारमा जन्मिएका थाम्सुहाङ राजनीति र पहिचानको लडाइँमा आफूले परिवारबाट राम्रो साथ र समर्थन पाएको बताउँछन् । उनी भन्छन्, ‘बहुपहिचानको मुद्दा बोकेर हिँनेको ०५६ सालदेखि हो । यहाँसम्म आइपुग्न सम्पूर्ण हिसाबले परिवार र समाजको साथ छ ।’

पहिचानका लागि ज्यान नै धरापमा पारेर हिँडेको सुनाउँदै उनी भन्छन्, ‘प्रहरीले निधारमा गोली हान्छु भनेर ताक्दा पनि नडराई आफ्नो सिद्धान्तमा अडिक भएँ । कुटाइ र लात्ती त कति खाइयो खाइयो ।’

कोशी प्रदेशको नाम ‘किरात लिम्बुवान’ हुनुपर्छ : प्रेम

प्रतिनिधिसभाका लागि जनमत पार्टीका उम्मेदवार थाम्सुहाङ कोशी प्रदेशको नाम प्रष्ट रूपमा बहुपहिचानका आधारमा किरात लिम्बुवान प्रदेश राख्नुपर्ने बताउँछन् ।

उनी भन्छन्, ‘किरात लिम्बुवान जात होइन, पहिचान हो, जसले यहाँ भएका सबै बासीहरूलाई समेट्छ ।’

उनी थप्छन्, ‘ठूला भनाउँदा पार्टीले प्रदेश १ को पहिचान नामेट पार्ने काम गरे । यसको विरुद्ध हामीले आन्दोलन गरौँ । हामी अब सदनबाट पनि यसको आवाज उठाउँछौँ ।’

अन्य दलहरू प्रदेश १ को नाम के राख्ने भन्ने कुरामा अनिर्णयको बन्दी भएको बताउँदै आफू कोशी प्रदेशको नाम ‘किरात लिम्बुवान प्रदेश’ राख्नुपर्छ भनेर प्रष्ट भिजनसहित जनतामा गएको थाम्सुहाङ बताउँछन् । उनी भन्छन्, ‘अरूले अलमलको राजनीति गरे, हाम्रो लाइन प्रष्ट छ ।’

थाम्सुहाङ आफू जनमत पार्टीको सदस्य नभए पनि पार्टीले विश्वास गरेर समर्थन गरेको बताउँछन् । उनी भन्छन्, ‘मलाई इलाम २ का जनताले साथ दिनुभएको छ । जनताले इलाम–२ को मुद्दा बुझेका छन् । भ्रष्टाचारी र दलाली दललाई छान्ने छैनन्, म सबैको उम्मेदवार हुँ । मलाई सबै समुदायले साथ दिनुभएको छ ।’

गत ०७९ को चुनावमा इलाम क्षेत्र नम्बर २ बाट सिके राउतको जनमत पार्टीलाई समानुपातिकतर्फ १२४ भोट खसेको थियो ।

त्यसो त यो पहाडी निर्वाचन क्षेत्रबाट तराई मधेस लोकतान्त्रिक पार्टीलाई समेत मत खसेको थियो । तमलोपाले यहाँबाट ५ मत पाएको थियो ।

यो पनि-

डकेन्द्रको पहिचान : छोराछोरी गायक, बाबु हेडसर !

डम्बरको उम्मेदवारी : सुवाससँग टेस्ट, सुहाङसँग फाइनल

परीक्षणको कसीमा सुहाङ : विरासतमा रमाउने कि विश्वास कमाउने ?

गणितीय भ्रममा अल्झिएको इलामको उपचुनाव

 

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ८ : ०२ बजे

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि

विद्यालयमा दिवा खाजासम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौं– विद्यालयमा राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन, २०२५  आज