कार्यकर्ता पोस्ने थलो बन्दै मधेश प्रदेशका गौरव आयोजना, ८ वटा शीतभण्डार अलपत्र | Khabarhub Khabarhub

कार्यकर्ता पोस्ने थलो बन्दै मधेश प्रदेशका गौरव आयोजना, ८ वटा शीतभण्डार अलपत्र


१० बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– समथर र उब्जाउ भूमिका कारण मधेश प्रदेश कृषि उपजका लागि देशमै उपयुक्त मानिन्छ । तर, कृषि उपजको व्यवस्थापनमा भने प्रदेश सरकार गम्भीर देखिएको छैन ।

पाँच वर्षअघि  तामझामका साथ तत्कालीन मुख्यमन्त्री लालबाबु नेतृत्वको सरकारले आठ वटा शीतभण्डार निर्माण काम थाले पनि अहिलेसम्म एउटा शीतभण्डार पनि निर्माण हुन सकेको छैन । निर्माण कार्य पूरा नहुँदै निर्माणमा अनियमितता भइसकेको आशंका छ । शीतभण्डार निर्माणमा भएको अनियमितताको विषयमा अहिले अख्तियारले छानबिन गरिरहेको छ ।

२०७५ फागुन २७ गते धनुषाको लक्ष्मीनिया गाउँपालिका ३ बनिगामामा १ हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणको थालनी भएको थियो । तत्कालीन जनता समाजवादीका नेता र हाल नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्य रहेका शेषनारायण यादवको सिफारिसमा एक बिघा जग्गा भाडामा लिएर जनहित कृषक समूहले शीतभण्डार निर्माणको काम थालेको थियो ।

 

शीतभण्डार निर्माणका लागि जनहित कृषक समूहले मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग १६ करोड ६५ लाख ४४ हजारको सम्झौता गरेको थियो । सम्झौता रकम मध्ये जनहितले ८१ लाख ३१ हजार बढी रकम भुक्तानी पाइसकेको छ । तर, काम भने अझै सम्म अलपत्र छ । तत्कालीन सरकारले यसलाई प्रदेश गौरवकै योजनामा राखेको थियो ।

शीतभण्डार निर्माणको कार्यलाई गौरवको योजनामा राखेर सरकारले आफ्नो कार्यकर्ता पाल्ने काम मात्रै गरेको प्रदेश सभा सदस्य कुमरकान्त झा बताउँछन् । झा भन्छन्  ‘आठ वटा शीतभण्डार निर्माण गर्नुपर्ने थियो अहिले सम्म एउटा पनि निर्माण गर्न सकिएन, करोडौँ करोड रकम भुक्तानी गरिसकेको छ ,सरकारले । यो सरासर कार्यकर्ता पाल्ने ठाउँ हो, भ्रष्टाचार गर्ने अखडा हो ।’ उनले यस कार्यले गर्दा भाडामा लिइएको जग्गाको मालिकले दुख मात्रै पाएको समेत बताए ।

यस्तै सप्तरीको राजविराजमा सुरु भएको शीतभण्डारको काम पनि अघि बढ्न सकेको छैन । राजविराजमा सहकारी विभागले ६० प्रतिशत, प्रदेश सरकारले २० प्रतिशत र बाँकी २० प्रतिशत रकम जिल्ला सहकारी संघले व्यहोर्ने सर्तमा शीतभण्डारको निर्माण कार्य सुरु भएको थियो । तीन हजार मेट्रिकटन क्षमताको उक्त शीतभण्डारको काम पाँच वर्षदेखि अलपत्र छ । प्रदेश सरकारले निर्माण कम्पनीलाई १ करोड ४ लाख रकम भन्दा बढी भुक्तानी गरिसके पनि काम भने पुरा हुन सकेको छैन । यसरी योजना बनाएर पुरा नगरी अलपत्र छाड्नुले राज्यको लगानी र किसानले देखेको सपनामाथि पनि प्रहार भएको स्थानीय श्रवण कर्णले बताए ।

यतिमात्र होइन मधेशका तत्कालीन सभामुख एवं वर्तमान मुख्यमन्त्री सरोजकुमार यादवको बाराको सिम्रौनगढस्थित निजी जग्गामा थालेको ३ हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माणको काम पनि अलपत्र छ । मुख्यमन्त्री सरोजकुमार यादव पत्नी सकुन्तलाकुमारी यादवको नाममा रहेको अमन मत्स्य फार्मले धनुषा र सप्तरीको जस्तै बाराको सिम्रौनगढमा पनि शीतभण्डार निर्माणको काम थालेको थियो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग २४ करोड ७४ लाख ८४ हजारमा निर्माणको लागि सम्झौता भएको थियो । पछि मुद्दा मामिला र विभिन्न विवादका कारण यसको भुक्तानी भने कत्ति पनि भएको छैन । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले साढे दुई करोडभित्र रही प्रस्ताव पेश गर्न सूचना जारी गरे पनि तत्कालीन मन्त्री शैलेन्द्रप्रसाद साहले नियम विपरीत सप्तरीको बाहेक सात वटा सहकारीसँग १ अर्ब ४८ करोड बढीमा सम्झौता गरेका थिए ।

शीतभण्डार निर्माणको विषयमा  मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले आफूहरू अनुगमन गरिरहेको बताए । कुन कुन ठाउँमा कति निर्माण भएको जानकारी समेत आफूलाई रहेको भन्दै उनले भने– ‘कुनै शीतभण्डार निर्माणको काम जगमै छ, कुनै जगभन्दा अलि माथि उठेको छ । र पहिला कहाँ, कसरी के भयो त्यसको कुनै अभिलेख छैन । अब हामी चाँडै ऐन बनाएर त्यसको काम अगाडि बढाउने छौ ।’

मधेशमा आठ वटा शीतभण्डार निर्माणका लागि सत्तारुढ जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्तालाई नै जिम्मा दिइएको थियो । शीत भण्डार निर्माणमा नीतिगत तथा प्रक्रियागत भ्रष्ट्राचार भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थालेको छानबिनको काम पनि अन्तिम चरणमा पुगेको छ । अब केही दिनभित्रै बिशेष अदालतमा मुद्दा दायर गर्ने अख्तियारको तयारी रहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ४ : ०८ बजे

हेटौँडाको न्यायिक समितिमा एक वर्षमा १४३ उजुरी फर्छ्यौट

बागमती– हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा १४३

मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही

सिरहा– लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि