हिउँदमा सिँचाइ गर्न फलेवासमा पोखरी निर्माण « Khabarhub

हिउँदमा सिँचाइ गर्न फलेवासमा पोखरी निर्माण


८ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत– वर्षायाममा पानी सञ्चित गरी सुक्खायाममा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले पर्वतको फलेवासमा सिँचाइ पोखरी निर्माण गरिएको छ ।

खाद्यान्न उत्पादनका लागि जिल्लाकै अब्बल मानिएको फलेवासमा हिउँदयाममा भने सिँचाइ गर्न सकस हुँदै आएको छ ।

फलेवास सिँचाइ योजनाको मुहान रहेको लमाए खोलामा पानीको मात्रा कम हुँदा हिउँदमा खेतबारी बाँझै राख्नुपर्ने बाध्यता भएका बेला सिँचाइ पोखरी बनाएपछि बाह्रैमास सिँचाइ गर्न सकिने भएको छ ।

फलेवास नगरपालिका–६ देवीस्थानमा पोखरी निर्माण गरिएको हो । हिउँदे सिँचाइका लागी पानी सङ्कलन गर्न पोखरी निर्माण गरिएको हो । सुक्खायाममा बाँझो जमिनमा सिँचाइ सुविधा पुर्‍याउन पोखरी निर्माण गरिएको देवीस्थानका वडाध्यक्ष नवीनकुमार श्रेष्ठले जानकारी दिए । करिब १२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने गरी पोखरी निर्माण गरिएको छ ।

स्थानीय चौविस कुरिया टोलको फेदीबाट डिप बोरिङमार्फत पानी तानेर पोखरीमा जम्मा गर्ने र हिउँदमा फाँटहरूमा हिउँदे खेती, फलफूल, तरकारी बालीमा सिँचाइको सुविधा पुर्‍याइने छ ।

हिउँदको समयमा पानी अभावका कारण सुक्खा रहने जमिनमा सिँचाइ हुने गरी पोखरी बनेपछि स्थानीय कृषक खुसी भएका छन् ।

पोखरी निर्माणका लागि गण्डकी प्रदेश सरकार अन्तर्गत रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वत मार्फत २० लाख रुपैयाँ बजेट प्राप्त भएको थियो ।

पाँच फिट गहिराइ, दश मिटर चौडाइ र १६ मिटर लम्बाइ भएको पोखरी निर्माण भएपछि देवीस्थानका एक सय ३० घरधुरी लाभान्वित हुने पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेश चापागाँईले बताए ।

बाह्रै महिना सिँचाइ हुने भएपछि तरकारी उत्पादनमा वृद्धि गर्ने कृषकको योजना छ । सडक, विद्युत् पुगे पनि पर्याप्त सिँचाइका लागि पानी नहुँदा तरकारी तथा अन्य वस्तु आयात गर्दै आएका किसानले अब त्यसका कमी आउने अपेक्षा गरेका छन् ।

अहिले पर्वतको कुल खेतीयोग्य जमिनमध्ये ११ हजार नौ सय ३४ हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा छ । तर बाह्रैमास सिँचाइ सुविधा पुग्ने जमिनको क्षेत्रफल भने जम्मा तीन हजार पाँच सय हेक्टर मात्र रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख विष्णुहरि अधिकारीले बताए ।

स्रोत कम भएका तर खेतीयोग्य  जमिन रहेका फलेवासजस्तै कटुवाचौपारी, पाङ, बर्राचौर, कुर्घालगायतका ठूला फाँटमा यस्ता पोखरी निर्माण गर्न सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ११ : ३९ बजे

कांग्रेसभित्र बढ्दो असन्तुष्टि: सुदूरपश्चिम प्रदेश महामन्त्री शाहले त्यागे पार्टीको जिम्मेवारी

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री एवं पूर्व

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी– म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।