एमालेमा नअटाएका भीम रावलले खोल्लान् नयाँ पार्टी ? | Khabarhub Khabarhub

एमालेमा नअटाएका भीम रावलले खोल्लान् नयाँ पार्टी ?

धारणा बुझ्न सुदूरपश्चिमका गाउँ–गाउँमा धाउँदै



काठमाडौं– डा. भीम रावल पछिल्लो समय नेकपा एमालेको राजनीतिमा ‘न घरको न परको’ भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले रावललाई भूमिकाविहीन बनाइदिएका छन् ।

रावल ओलीजस्तै गुट चलाएर बस्न सक्ने नेता हुन् । तर उनी अहिले एक्लै हिँडिरहेका छन् ।

उनले एमाले परित्याग नगरे पनि पार्टीको कुनै भूमिकामा छैनन् । भूमिकाविहीन भएकैले एमाले छाडेर नयाँ क्षेत्रीय दल खोल्न लागेको र नेकपा एकीकृत समाजवादीमा जान लागेको जस्ता अनुमान चलिरहेको छ ।

यति मात्रै होइन उनी र डा. बाबुराम भट्टराई मिलेर नयाँ पार्टी खोल्न लागेको, विद्या भण्डारीसँग निकटता बढाएको र ओलीलाई घेर्ने योजनामा लागेका चर्चा सुन्न पाइन्छ ।

रावल गत जेठ १८ देखि सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा एमाले र अन्य कम्युनिस्ट नेतालाई भेट्न व्यस्त छन् । यसैकारण उनले नयाँ पार्टीका लागि धारणा बुझ्न लागिरहेको चर्चा छ ।

एमाले सुदूरपश्चिम प्रदेशका एक सांसदका अनुसार रावल अहिले कुनै नयाँ निर्णयको पक्षमा देखिएका छैनन् । उता विद्या भण्डारीसँग मिलेर ओलीविरुद्ध मोर्चा कस्ने कुराबारे उनी आफैं अनभिज्ञता प्रकट गरिरहेकाा छन् ।

माहोल बुझ्दै

रावल हाल सुदूरपश्चिमका जिल्लाहरूमा नेता–कार्यकर्तासँग संवादमा छन् । एमाले तथा वाम आन्दोलननिकट नेताहरूलाई उनले भेटिरहेका छन् । कार्यकर्ताको मनोभावना बुझ्दै आफ्नो प्रभाव पनि उनले अध्ययन गरिरहेका छन् ।

साताअघि उनी अछामको एक कार्यक्रममा थिए । त्यहीँबाट खबरहबको जिज्ञासामा भने, ‘मैले पार्टी खोल्ने भन्ने कुरा सोचेको छैन । म अहिले नेकपा एमालेकै सदस्य हो । चितवन महाधिवेशनपछि मलाई पार्टीबाट जे जस्तो व्यवहार भयो, मैले घुम्तीबाट धकेलेको महसुस गरेँ । अहिले म पार्टीका नेता तथा कार्यकर्तासँग राय लिइरहेको छु, परामर्श गरिरहेको छु ।’

उनी गाउँ गाउँ पुगेर देशको राजनीति र अरु परिस्थितबारे आफ्नो कुरा राख्दै उनीहरूका पनि कुरा सुन्न लागिरहेका छन् ।

हामीले गाउँ अभियानमा रहेका रावललाई नयाँ पार्टी खोल्न सुझाव दिए के गर्नुहुन्छ भनेर सोध्यौँ । जवाफमा उनले भने, ‘जनताको सुझाव आएपछि साथीहरूसँग छलफल गर्छु । तर, मैले यसबारे कुनै निर्णय गरिसकेको छैन ।’

एमालेबाट निर्वाचित सुदूरपश्चिमको एक गाउँपालिका अध्यक्षका अनुसार रावलले नयाँ पार्टी खोले एमाले र अन्य कम्युनिस्ट पार्टीका कार्यकर्ताले सहयोग गर्न सक्छन् । ती नेताले भने, ‘उहाँको साथमा हामीसहित धेरै नेताहरू रहनु हुन्छ । हामीले त मिल्छ भने तयारी गर्नु पनि भनेका छौँ ।’

एकीकृत समाजवादीमा जानु या एमाले सक्रिय हुनुभन्दा रावलले युवाको साथ लिएर नयाँ पार्टी खोल्नु नै उचित हुने सुझाव दिएको उनले बताए ।
तर रावल भने अहिले नयाँ दलतिर नजाने मुडमा छन् । ‘तपाईँले क्षेत्रीय पार्टी खोल्न लाग्नु भएको छ रे नि?’, रावललाई हामीले सोध्यौँ ।

‘क्षेत्रीयतामा मलाई विश्वास छैन । राष्ट्रको सर्वाेपरि हित र राष्ट्रिय चिन्तन हुनुपर्छ भन्ने मान्यता राख्छु । त्यसकारण नयाँ दृष्टिकोण राखे त्यो राष्ट्रिय तहकै हुनेछ ।’

रावलले एमाले अध्यक्ष ओलीको गृहजिल्ला झापा पुगेर नयाँ पार्टी खोल्ने चर्चा पनि छ । तर यसबारे उनी ठट्यौली शैलीमा भन्छन्, ‘मलाई माया गर्ने केही झापाली साथीहरूले भन्नु भएको होला । म अहिले अछाममै छु ।’

समाजवादीमा किन जाँदैनन ?

एमालेबाट विभाजन भएपछि एकीकृत समाजवादी २०७८ भदौ २ गते निर्वाचन आयोग दर्ता भएको थियो । तर, २ मंसिर २०७८ मा ओलीका कडा आलोचक उपाध्यक्ष रावलसहित नेताहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, भीम आचार्य, अमृत बोहोरा र रघुजी पन्त दश बुँदे लिखित सम्झौता गरी एमालेमै सक्रिय भए ।

अरुसँग ओलीको सम्बन्ध क्रमिक सुधार भए पनि रावल र भुसालसँग त्यस्तो सम्भव भएन । त्यसपछि भुसाल २९ पुसमा एकीकृत समाजवादी प्रवेश गरे । तर, रावल एमालेमै रहिने, आफूसँग भिडेका रावललाई भूमिका दिने कुरामा ओलीले चासो दिएनन् ।

माधव नेपाल र नेता शेरबहादुर कुँवरले रावललाई पार्टीमा ल्याउन जोडबल गरे पनि उनी मानेका छैनन् । झलनाथ खनालले पनि रावल आउनुपर्ने तर्क गरिरहेका छन् । तर उनै खनाल भित्री रुपमा रोक्ने तयारीमा देखिएका छन् ।

भुसाल पनि आफू माधव नेपालपछि अध्यक्षको दाबेदार भएकाले रावललाई रोक्ने रणनीतिमै छन् । तर माधव नेपालसँग भने रावल छलफलमा रहेका छन् । दुवै नेतानिकटहहरूले यो कुरा स्वीकारेका छन् । भुसाल भने रावललाई रोक्न लागेको कुरा मान्न तयार छैनन् । रावल आफूहरूका शुभचिन्तक भएको भुसाल बताउँछन् ।

एकीकृत समाजवादीको महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौंमा हँुदैछ । त्यही मौकामा माधव नेपाल र भुसालले रावललाई पार्टीमा ल्याउने तयारी गरेका चर्चा पनि छ । तर अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने सम्भावनाले समाजवादीमा पनि रावलका लागि तत्काललाई ढोका बन्द छ ।

दुवै नेताहरूले आफूलाई अध्यक्षको दाबेदार बताउँदा विकल्पका रुपमा दोस्रो पुस्ताका नेताहरूले महासचिव घनश्याम भुसाललाई अघि सार्न थालेका छन् । यसो हुँदा रावल अब नेपालपछि अध्यक्ष हुने सम्भावना पनि छैन । यसकारण पनि रावललाई प्रवेश गर्न नदिने पक्षमा समाजवादीकै नेताहरु छन् ।

रावल पछिल्लो समय कोही नेताहरूसँग छलफल नभएको बताउँछन् । उनले भने, ‘केही साथीहरू मलाई भेट्न आउनु भएको थियो । तर मैले ४० वर्ष दुख गरेको एमाले एकजना नेताका कारण छोड्दिनँ, म झनै क्रियाशील भएर आउँछु भनेँ ।’

तर एमालेमा सक्रिय हुन तयार भए पनि अहिलेसम्म त्यसको नेतृत्वले जानकारी नदिएको रावल बताउँछन् ।

रावलको एमालेका नेताहरूसँग ठूलो मतभेद छैन । तर अध्यक्ष ओली र उनीनिकट केही नेताहरूसँग उनको मत बाझिएको छ । ओलीको किचेन क्याबिनेटका केही सदस्य उनलाई छेक्न अहिले पनि सक्रिय छन् ।

झगडा के हो ?
एमालेको पछिल्लो गतिविधि नियाल्दा १० मंसिर २०७८ मा भएको १० औँ महाधिवेशनबाट अध्यक्षमा दोहोरिएका ओलीले प्रतिस्पर्धी रावललार्ई पार्टीबाट पूरै भूमिकाविहीन बनाइदिएका छन् । त्यहीकारण रावल ओलीसँग चिढिए । २०७९ मंसिरको निर्वाचनमा स्थानीय कमिटिले गरेको सिफारिसअनुसारको टिकट पनि उनै ओलीले खोसिदिए । त्यसपछि रावल र ओलीबीच तिक्तता झनै बढ्यो ।

दशौँ महाधिवेशनमा आफूसँग पराजित रावललाई ओलीले केन्द्रीय सदस्यमा मनोनयन गर्न खोजेका थिए । तर, रावलले नै असहमति जनाए ।

रावललार्ई ओलीले प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न नदिएर संसद्को ढोकासमेत बन्द गरिदिएका थिए । संसद्मा आफूखुसी बोलेको रिस ओलीले टिकट खोसिदिएर पोखेका थिए । ओलीसँग रावलको विवाको बाछिटा २०७९ को निर्वाचनमा सुदूरपश्चिममा देखियो । जहाँ रावल निष्क्रिय भएर बसिदिए । त्यहीकारण एमालेले निर्वाचनमा अहिलेसम्मकै कमजोर नतिजा निकाल्यो ।

रावललाई टिकट नदिएपछि एमालेले सुदूरपश्चिम प्रदेश सभामा ३ सिट प्रत्यक्ष र ७ सिट समानुपातिकबाट जित्यो । ०७४ को निर्वाचनमा प्रतिनिधि सभातर्फ एमालेले सुदूरपश्चिममा ११ सिट प्रत्यक्षमा जितेको थियो । २०७९ मा जम्मा २ सिट जितेको छ । एमालेबाट तारा लामा तामाङ, कञ्चनपुर क्षेत्र १ र दामोदर भण्डारी, बैतडीबाट प्रतिनिधि सभामा छन् ।

४ मंसिरको निर्वाचनपछि एमाले दोस्रो ठूलो दलमै कायम रह्यो । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता नयाँ दलको उदयसँगै सत्ताको अङ्कगणित फेरियो ।

ओलीले फेरि शक्ति आर्जनतर्फ केन्द्रित छन् । उनी पार्टीमा आन्तरिक सुदृढीकरण अभियान चलाइरहेका छन् । तर, प्रभावशाली नेता रावलसँग भने झन् झन् दूरी बढेको छ । ‘ग्रासरुट अभियान’ देखि ‘महाकाली मेची यात्रा’ चलाएको एमालेले यसबारे रावललाई न जानकारी दियो न त सहभागी नै गरायो ।

रावलले ओलीको चर्को आलोचना गर्न छाडेका छैनन् । ओलीविरुद्ध बोल्दै आएका नेता घनश्याम भुसाललाई पनि एमालेले २०७९ मा प्रतिनिधि सभा सदस्यका लागि टिकट दिएन । बाध्य भएर उनी एमाले नेता छविलाल विश्वकर्माविरुद्ध उठे तर पराजित भए ।

एमाले ओलीको पेवा जस्तो भएकाले उनको मात्रै मनोमानी चलेको भन्दै भुसाल ०७९ पुस २९ मा समाजवादीमा प्रवेश गरेका थिए । त्यसबेला भुसालले भनेका थिए, ‘एमालेमा ओलीवाद हाबी भएको छ ।’

०७९ मा रावलको क्षेत्रमा अछाम–१ मा एमालेले झपट बोहरालाई उम्मेदवार बनाएको थियो । उनलाई रावलले साथ दिएनन् ।

यसबारण एकीकृत समाजवादीका शेरबहादुर कुँवरले जिते । रावललाई टिकट नदिएपछि अछाम– १ का एमाले संयोजकसहित रावलनिकट करिब ४० जना एमाले नेता–कार्यकर्ताले पार्टीबाट सामूहिक राजीनामा दिए । त्यसपछि रावल र ओलीको बोलचाल बन्द भयो ।

पार्टीभित्र रावलको विषयमा पटक–पटक प्रश्न उठेपछि एमालेले १८ चैत २०७९मा वार्ता गर्न भन्दै एमालेले ३ सदस्यीय वार्ता टोली बनायो । उक्त टोलीमा उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सह–इन्चार्ज कर्ण थापा थिए । तर उनीहरूले पनि रावल र ओलीबीचको सम्बन्धमा सुधार ल्याउन सकेनन् ।

अहिले एमालेले नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुलाई आफूमा समाहित गर्न कसरत गरिरहेको छ । तर, अध्यक्ष नेपाल ‘ओली शासन’मुनि बस्न चाहँदैनन् ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ६ : ०० बजे

इंग्लिस प्रिमियर लिग : पालमरको चार गोलमा चेल्सीको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा कोल पालमर ले पहिलो हाफमा नै चार

बाढी–पहिरो अपडेट : ९९ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौं– भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ९९

आज सर्वदलीय बैठक बस्दै

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ

आजको मौसम : आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज

आज २०८१ साल असोज १३ गते आइतबारको राशिफल

काठमाडौं– आज २०८१ साल असोज १३ गते आइतबार तदनुसार सन्