कृषिलाई प्रविधिसँग नजोडे खाद्यसङ्कट हुनसक्ने कृषकहरुको चेतावनी « Khabarhub

कृषिलाई प्रविधिसँग नजोडे खाद्यसङ्कट हुनसक्ने कृषकहरुको चेतावनी


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कैलाली – कृषिलाई प्रविधिसँग जोडेर विकास तथा विस्तारमा नलागे केही वर्षमै देशमा खाद्यसङ्कट उत्पन्न हुनसक्ने भन्दै कैलालीका किसानले चिन्ता व्यक्त गरेका छन् ।

‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ आज २१औँ धान दिवस मनाइरहँदा यहाँका किसानले सरकारले कृषक र कृषि क्षेत्रलाई उपेक्षा गरिरहेको गुनासासमेत गरे । कृषिउद्यमी सूर्यबहादुर थापाले कृषि क्षेत्रलाई प्रवर्द्धन गर्न सरकारले ठोस योजना र कार्यक्रम नल्याउँदा कृषि क्षेत्रमा भविष्य देखेका युवा पनि विदेश पलायन भएका र उब्जा जमिन पनि बाँझो रहेका बताए ।

उनले भने, “तराईको खेतीयोग्य जमिन कित्ताकाट गरेर घरबासमा परिणत हुँदैछ । किसानलाई प्रोत्साहन र प्रविधि सहयोग नीतिको अभावमा बाँकी जग्गा पनि बाँझो रहँदैछन्, यसले मेहनत पनि खेर गइरहेको भन्दै धेरैजना पलायन भइसके । यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।”

उनले तीनै तहका सरकार मिलेर कृषि क्षेत्रको विकासमा लाग्नुपर्ने सुझाव दिए । “तराईका उर्वरभूमि घरबासमा परिणत हुने, पहाड तथा हिमाली जिल्लाबाट निरन्तर बसाइँसराइ गर्ने र कृषिमै सम्भावना देखेका युवा पनि रोजगारीका लागि विदेशिनुले थप समस्या निम्त्याउँदै गएको छ । त्यसैले तीनै तहका सरकारले कृषिलाई प्राथमिकतामा राखेर काम नगर्ने हो भने निकट भविष्यमै खाद्यसङ्कट निम्तिनसक्छ ।”

कैलालीको लम्कीका किसान बखतबहादुर बिष्टले परम्परागत खेतीबाट आम्दानीभन्दा खर्च बढी हुन थालेपछि धेरै किसान उर्वर जमिन बाँझो राख्न बाध्य भएका बताए । किसानमा आधुनिक प्रविधिको सहज पहुँच नहुँदा, माटो परीक्षणबिना अत्यधिक रासायनिक मलको प्रयोगले उत्पादनमा ह्रास आउन थालेको उनको बुझाइ छ ।

“सरकारले असार १५ गतेलाई औपचारिकताका लागि धान दिवस मनाउने गरेको छ । सिँचाइ, मलखाद, कृषिको आधुनिकीकरण तथा औद्योगिकरणका लागि काम गर्न सकिएको छैन । कृषि क्षेत्रलाई औपचारिकतामा मात्रै सम्झिने र सम्बोधन गर्ने परिपाटीले अबका समस्या समाधान गर्न कठिन छ”, उनले भने ।

विगतमा ३ विघाभन्दा बढी जमिनमा धानखेती गर्दै आउनुभएका जानकी गाउँपालिका–८ मटेराका मक्कुलाल चौधरी उत्पादनभन्दा लागत बढी हुने भएकाले अहिले केही जमिनमा औपचारिकताका लागि मात्र खेती गर्ने गरेको बताउँछन् ।

“अहिले छोराछोरी खेती किसानी गर्न मान्दैनन् । ज्याला, मजदुरीमा अरूबाट काम गराउँदा पनि लागतअनुसार उब्जनी हुँदैन, घरमा हुँदाहुँदै किन बाँझो राख्नु भनेर केही जमिनमा जेनतेन धान रोपाइँ गरिरहेका छौँ”, उनले भने, “न जवान केटाकेटीले सहयोग गर्छन्, यहाँ लगाउने श्रम अरू ठाउँमा लगाए फाइदा छ भन्छन् । सरकारले पनि न खेती गर्ने समयमा मल, बीउमा राहत दिन्छ न त उत्पादनअनुसारको मूल्य, अनि कसरी किसान कृषिमा आकर्षित हुन्छन् ।”

स्थानीय भक्तबहादुर थापाले कृषि क्षेत्रको विकासमा सरकारले स्पष्ट नीति ल्याउनुपर्ने बताए । तीन तहका सरकार भए पनि किसानको जीवनस्तर र पेसामा सुधार हुन नसक्नु नै कृषक पलायनका कारण भएका उनको भनाइ छ ।

लम्कीचुहा नगरपालिकाका उपप्रमुख जुना चौधरी देशको अर्थतन्त्र बलियो बनाउन कृषि क्षेत्रलाई मजबुद बनाउनु आवश्यक रहेको बताउँछन् । “लम्कीचुहा नगरपालिकाले कृषि क्षेत्रमा थुप्रै कार्यक्रमहरु ल्याए पनि अझै त्यो बजेट लक्षित वर्गसम्म नपुगेको गुनासा आउँछन् । अब हामी पनि गम्भीर भएर अगाडि बढ्नुपर्ने महसुस भएको छ”, उनले भने ।

धान दिवसका अवसरमा देशभर जस्तै शनिबार कैलालीमा पनि स्थानीय पालिका, विभिन्न सङ्घसंस्था तथा राजनीतिक पार्टीले सामूहिक रोपाइँ गरे । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिनसम्म कैलालीको पूर्वीक्षेत्रमा ५० प्रतिशत बढी किसानले धान रोपेर सकेका छन् । सिँचाइको सहज पहुँच र रानी जमरा, कुलरिया सिँचाइ आयोजनाले समयमै पानी छाडेका कारण यस वर्ष समयमै रोपाइँ भएको मटेराका मङ्गलबहादुर चौधरीले बताए ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १० : १३ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६