काठमाडौं- प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरि स्थगित गरिएको छ ।
बिहीबार अपरान्ह बसेको बैठकमा सरकारका तर्फबाट कोही मन्त्री उपस्थित नभएपछि बैठक कार्यसूचीमा प्रवेश नै नगरि स्थगित गरिएको हो ।
बैठक सुरु हुनेबितिकै कांग्रेस सांसद रामहरि खतिवडाले बैठकमा सरकारका कुनै पनि मन्त्री उपस्थित नभएको अवस्थामा सदन चल्छ वा चल्दैन भन्दै सभामुखलाई प्रश्न गरे ।
संविधानअनुसार विश्वासको मत लिन्छु भन्ने प्रधानमन्त्रीले सदन चलेका बेला प्रधानमन्त्री वा मन्त्रीहरु उपस्थित हुनुपर्छ भन्ने हेक्का राख्नुपर्ने खतिवडाले बताएका छन् ।
त्यसलगतै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको नियमावली अनुसार बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको बताए । उनले बिहीबारको बैठकमा कुनै पनि मन्त्री उपस्थित नभएकाले कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रमलाई हटाउँदै शुक्रबार ११ बजे बस्नेगरि स्थगित गरे ।
बिहीबार प्रतिनिधिसभाको बैठक बस्दै गर्दा मन्त्रीहरू भने सिंहदरबारमा मन्त्रिपरिषद्को अन्तिम बैठकमा सहभागी थिए ।
अहिले अल्पमतमा परिसकेको सरकारमा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका मात्रै मन्त्री छन् । नेकपा एमालेसहितका अन्य सत्ता साझेदारले एकपछि अर्को गर्दै पुष्पकमल दाहाल नेतृत्वको सरकारको साथ छाडिसकेका छन् ।
प्रतिक्रिया