वर्षाका कारण कान्ति लोकपथमा ३० करोडको क्षति « Khabarhub

वर्षाका कारण कान्ति लोकपथमा ३० करोडको क्षति


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– करिब ६० वर्ष अगाडि निर्माण थालिएको निर्माणाधीन कान्ति लोकपथमा यो वर्ष आएको अविरल वर्षाले  ३० करोडको क्षति पुर्‍याएको छ । हाल निर्माणाधीन अवस्थामा रहेको लोकपथको काम बर्सातको कारण क्षति पुगेपछि निर्माण सम्पन्न हुन अझ समय लाग्ने भएको छ ।

हालसम्म सडकको ७९ किलोमिटरमध्ये ४५ किलोमिटर कालोपत्र भइसकेको छ । असार र साउन महीनामा आएको वर्षासँगै कान्तिलोकपथको निर्माण चालू आवमा पनि नसकिने भएको छ ।

दशैँसम्म ठूला सवारी चलाउने लक्ष्य लिइए पनि वर्षाका कारण क्षति पुगेपछि त्यो लक्ष्य पूरा नहुने निश्चित भएको कान्ति लोकपथ आयोजनाका प्रमुख विनोद सापकोटाले बताए । उनका अनुसार चालू आव ०७६/७७ मा यो सडकमा कठिन चट्टाने पहिरो रहेकाले पाँच किलोमिटरबाहेक सबै खण्डमा कालोपत्र सकिनेछ । बाँकी ५ किलोमिटर खण्डमा पनि सहज खालको ट्र्याक बनाएर अर्को आर्थिक वर्षमा आयोजनाको काम टुङ्ग्याइने सापकोटाको भनाइ छ ।

गत आर्थिक वर्षमा नै  सम्पन्न गर्ने उद्देश्य रहेको भए पनि बर्सातको कारण सडकमा ठूलो क्षति भएपछि निर्माण सम्पन्न हुन अझै केही समय लाग्ने जनाइएको छ । विभिन्न स्थानमा ठूलो पहिरा जानाका साथै सडक भासिएको कारण तोकिएको समयमा नै काम सम्पन्न गर्न कठिन भएको आयोजनाका प्रवक्ता अमीन्द्र खड्काले बताए । वर्षाले क्षति गरेको कारण यस वर्ष लागेको ठेक्काबाहेकको काम गर्न नै करीब ३० करोड खर्चनुपर्ने देखिएको खड्काको भनाइ छ ।

यो आवमा ठूला मालवाहक र यात्रुवाहक सवारीलाई सञ्चालन योग्य बनाउने आयोजनाले लक्ष्य लिएको छ । यो सडकका लागि ०१४ सालमा ट्र्याक खोल्न शुरु गरेर ०१६ मा काम सकिएको थियो । तर त्यसपछि बागमती खोलामा पुल नबन्दा र केही चट्टाने भिरको क्षेत्रमा सडकको अवस्था नसुधारिएको कारण करीब ५० वर्ष यो सडक अलपत्र नै रहेकामा करीब एक दशकयता चासोपूर्वक निर्माणमा सरकार जुटेको हो ।

त्यसअनुसार निर्माण शुरु भएको ६० वर्षपछि यो राजमार्गमा कालोपत्र शुरु भएको हो । हालसम्म आयोजनाले मकवानपुरतर्फ ३० र ललितपुरतर्फ १५ किलोमिटर खण्डमा कालोपत्र गरिसकेको छ । अघिल्लो वर्षको दशैँमा नै सडकको निर्माण सक्ने भनिए पनि विस्फोटक पदार्थ अभावको कारण ढिलाइ भएको थियो ।

हाल आयोजनाले चट्टानयुक्त सडक क्षेत्रका लागि दुई वटा छुट्टै ठेक्का लगाएर ट्र्याक सहज बनाउने काम गरिरहेको छ । अन्य ट्र्याक खुलिसकेका खण्डमा कालोपत्र गरिँदैछ । ०६४ मा ब्युँतिएको यो आयोजनाले हालसम्म दुई अर्ब ५१ करोड खर्च गरेको आयोजना प्रबक्ता खड्काले जानकारी दिए ।

काठमाडौँबाट कान्ति लोकपथको प्रस्थान विन्दु ललितपुरको सातदोबाटो हो । हेटौँडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्मको यो सडकलाई विस्तार गरी ८ दशमलव ५ मिटर चौडा गर्न काम भइरहेको छ ।

कोरियाको सरकारी कम्पनीले लोकपथको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको थियो । मकवानपुरको सिमात, ललितपुरको काल्चे, झाँक्री डाँडालगायत क्षेत्रका सडकलाई फराकिलो बनाउन विस्फोटक पदार्थबाट पहरा फोडिएको आयोजनाले जनाएको छ । हेटौँडाबाट मुग्लिन हुँदै काठमाडौँ आउने २ सय २६ र पालुङ हुँदै आउने १ सय ३६ किमी, हेटौँडा–दक्षिणकाली–काठमाडौँ सडकको विकल्पका रुपमा कान्तिलोकपथलाई हेरिएको छ ।

२०१६ सालदेखि नै एक लेनको कान्तिलोकपथमा सवारी चल्न शुरु गरे पनि ललितपुर र मकवानपुरको सीमा बागमती नदीमा पुल नबन्दा समस्या भएको थियो । आयोजनाको ललितपुरतर्फको केही भागमा अझै बाटो फराकिलो बनाउनुपर्ने काम बाँकी नै छ । वर्षा सकिएसँगै निर्माणमा तीव्रता दिइने बताइएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  २ : ५८ बजे

लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

परराष्ट्र सम्बन्धमा प्रयोग गरिएका शब्दप्रति प्रदीप ज्ञवालीको आपत्ति, ‘सावधानी अपनाउन सरकारलाई सुझाव’

काठमाडौँ – नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले

टुँडिखेलमा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइँदै

काठमाडौँ– आज अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

राजनीतिक प्रतिशोध साँध्ने अखडा नबनोस् संसद्

नेपालको संसदीय इतिहासमा २०८२ को निर्वाचन एउटा कोशेढुङ्गा सावित भयो

स्वकीय सचिव राख्ने व्यवस्थाविरुद्ध साम्पाङ : ‘५ वर्षमा ५० करोड आर्थिक भार थोपरिन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज