सगरमाथाको चुचुरोमा आरोहीलाई कफी खुवाउने दाबुटी | Khabarhub Khabarhub

सगरमाथाको चुचुरोमा आरोहीलाई कफी खुवाउने दाबुटी



दाबुटी शेर्पाका लागि कफी सामान्य पेय पदार्थमात्र होइन । उनका लागि यो जीवनशैलीको एउटा पाटो नै हो, अझ भनौं, कफी तपाईंलाई स्वच्छ एवं ताजा राख्ने एक किसिमको लत हो ।

उनका अनुसार सन् २०१२ मा बरिष्टाको तालिम लिएदेखि कफीले उनको जीवनमा प्रभाव पार्न थालेको हो । बरिष्टा कफी बनाउने वा कफी पसलमा काम गर्ने मानिस हो । कफीका कारण उनको जीवनले सकारात्मक मोड लियो ।

उनले लाखौं सेवाग्राहीलाई दशौं लाख कप कफी पिलाइसकेकी छिन् । यहीकारण उनका लागि कफीको महत्व अझ बढी छ ।

कफी बनाउने बेला उनको मनमा कफीको मधुर बासनाजस्तै नयाँ नयाँ विचारहरु पलाइरहन्छन् । यही बेला उनको मष्तिष्कमा यस्तै नौलो विचार आयो, आखिर सगरमाथाको शिखरमा पुगी कफी बनाएर आरोहीहरुलाई किन नपिलाउने ? उनलाई यो विचार नौलो लाग्यो । उनले आफ्ना साथीहरुसँग यो विचार व्यक्त गरिन् ।

उनका केही साथीहरुले नयाँ विचारको प्रसंशा गरे भने केहीले पागल केटी भन्दै खिल्ली उडाए ।

तैपनि आफनो नौलो विचारलाई साकार पार्ने उनले अठोट लिइन् । त्यसपछि सन् २०१८ मा उनको नेपालमा कृषिलाई प्रवद्र्धन गर्ने अभियानका साथ सगरमाथा आरोहणको तयारीमा लागिन् । उनले आफ्ना अरु केही साथीहरुलाई पनि सगरमाथा आरोहणका लागि फकाइसकेकी थिइन् । त्यसपछि शुरु भयो, पहिलो बरिष्टा सगरमाथा अभियान २०१८ ।

सगरमाथा आरोहणका लागि दृढ रहेकी उनले त्यसैको तयारीका लागि रामडु हिमाल (५९२५ मिटर) को सफल आरोहण गरिन् । त्यसपछि उनमा नयाँ उत्साह थपियो ।

अन्ततः सगरमाथा आरोहणको समय पनि आयो । सगरमाथाको शिखरमा कफी बनाएर आफ्नो सपना साकार पार्ने दिन आउँदै गर्दा उनीमा उत्साह र डर दुबै थियो । सगरमाथा आरोहण यसअघि होचो हिमालको आरोहण गरेजस्तो सहज नहुने उनलाई थाहा थियो । अनिद्रा र अस्वस्थताका कारण क्याम्प २ सम्म पुग्दा उनलाई असहज महशुस भइरहेको थियो ।

शारीरिक रुपमा संघर्ष गरेपनि उनले हार मानिनन् । मानसिक दृढताका कारण उनले आरोहणमा शारीरिक कठिनाइको असर पर्न दिएकी थिइनन् । अर्को दिन उनी थप आरोहणका लागि तयार भइन् । क्याम्प ३ मा पुगेर उनले केही आराम गरिन् ।

उनी सन् २०१८ मे १४ का दिन बिहान करिब ८ बजेको समयमा सगरमाथाको शिखरमा पुगिन् । मौसममा खराबी देखिएकाले उनले त्यहाँ २०–२५ मिनेटभन्दा धेरै समय बिताउन पाइनन् । उनले तत्कालै कफी बनाएर चार आरोहीहरुलाई पिलाइन् ।

उनले त्यहाँ हिमालयन अरबिका कफी नामक कफी घरेलु कफी मेकरको सहायताले बनाइन् र आरोहीलाई दिइन् । उनले बनाएको कफी त्यहाँ पुगेका दुई नेपाली तथा एक चिनियाँ र एक युक्रेनी गरी चार आरोहीले पिए ।

दाबुटी शेर्पाका अनुसार सगरमाथा आरोहणका क्रममा विभिन्न क्याम्पमा कफी बनाउने योजना रहेपनि थकाई तथा प्रतिकूलताका कारण त्यो सम्भव भने हुन सकेन ।

उनको यो उपलब्धी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत दर्ता गरिएको छ । गिनिज बुकमा उनको नाममा सगरमाथा आरोहण गर्ने एवं त्यहाँ कफी बनाएर पिलाउने पहिलो बरिष्टाको कीर्तिमान अंकित छ । उनले त्यहाँ कफी बनाएर आफ्ना सहयात्रीलाई पिलाएको भिडियो समेत सार्वजनिक गरेकी थिइन् ।

तर, एक्कासी मौसम प्रतिकूल हुन पुगेकाले उनीहरुले झट्टै त्यहाँबाट ओर्लिहाल्नु पर्ने अवस्था आयो । उनीहरु ओर्लिने बेला आकाश एक्कासी अन्धकार भयो भने जोडले हुरी चल्न थाल्यो । उनीमात्र होइन, त्यसबेला सबै आरोही भयभित थिए ।

दक्षिण कोलमा उनका गाइडले अक्सिजनको सिलिण्डर बदल्नका लागि हातमा लगाएको पञ्जा खोल्दा उनको हात निलो भएको थियो । त्यो देखेर उनलाई डर लाग्यो । त्यसपछि आत्मनिर्भर हुनुपर्ने र अरुलाई खतरामा पारेर आफूले सहयोग लिन हुन्न भन्ने उनलाई लाग्यो ।

त्यसपछि उनी आफैंले अक्सिजनको बोतल परिवर्तन गरिन् । बाटोमा त्यसबेलाको मौसमको अवस्थामा एक्कासी परिवर्तन आएका कारण ओरालो यात्रा प्रतिकूल बनेपनि भाग्यवश उनको टिम सुरक्षित आधार शिविर फक्र्यो । ‘म शेर्पा केटी हुँ र जोखिम मोल्नु हाम्रो बानी नै हो,’ उनले भनिन् । सानो हुँदा पनि उनलाई शिक्षकले भनेका थिए, तिमी शेर्पा हौ र तिमी ठूलो भएपछि सगरमाथा आरोहण गर्नेछौ ।

शिक्षकको भनाइ सही निस्क्यो । ‘हिमाल आरोहणले जीवनमा संघर्ष, खुशी र निरन्तर दृढताको ठूलो पाठ सिकाउँछ’ उनी भन्छिन् ।

सगरमाथा आरोहणबाट अझ हिमाल आरोहण गर्ने अभिलाषा पलाउने भएकाले उनले अमादब्दम हिमाल (६८१२ मिटर) आरोहण गरिसकिन् । यो सेप्टेम्बर महिनामा फ्रान्सको मोन्ट ब्लांक (४८०८ मिटर) आरोहण गर्ने उनको योजना छ ।

 

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ११ : ५५ बजे

चुरे पहाडका अधिकांश वनमा डढेलो

गोदावरी– कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश

परियोजनामा सम्झौता टर्दै, तर अर्थमन्त्री भन्छन्‌ – ‘लगानी सम्मेलन सफल भयो’

काठमाडौं – अर्थमन्त्री एवम् लगानी बोर्ड उपाध्यक्ष वर्षमान पुनले लगानी

महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग

काठमाडौं– काठमाडौं महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित वृद्ध पक्राउ 

भक्तपुर– भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन