दशैँमा बाध्यताले मुलुक छाड्ने अधिकांशका आँखामा आँसु | Khabarhub Khabarhub

दशैँमा बाध्यताले मुलुक छाड्ने अधिकांशका आँखामा आँसु


२६ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – “एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दशैँको टीका लगाएर प्लेन चढ्छु भनेको थिए, मलेसियाबाट कम्पनी साउले बरु जागिर छाड्न सक्छौँ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दशैँ र परिवारभन्दा जागिर प्यारो भयो सर”, सर्लाहीका अजय मेहताले भने।

दशैँको अघिल्लो दिन घरबाट केही थान कपडा बोकेर वैदेशिक रोजगारीमा हिँडेका मेहताका लागि यो बाध्यता रह्यो। शुक्रबार साँझपख बोर्डिङ पास लिनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको भीडमा भेटिएका मेहताका लागि दशैँको अघिल्लो दिन घर छाड्नु निकै कष्टहर भयो। सर्लाहीको घरमा हिजो गर्भवती श्रीमती चाँदनीदेवी र आमा उर्मिलादेवीले रुँदै हात हल्लाएर बिदा गरेको क्षण सम्झँदै गर्दा उनका पनि आँखा टिल्पिलाए।

मेहताको जस्तै पीडा सिराहाका घनश्याम यादवको पनि छ। दशैँको टीका र अभिभावकको आशीर्वाद लिएर विमानमा बस्ने योजना समय र परिस्थितीले पूरा हुन दिएन। “दशैँ मनाएरै जान्छु भन्ने त थियो तर मेरो रहरलाई बाध्यताले जित्यो”, उनले भने।

वैदेशिक रोजगारीका लागि साउदी हिँडेका यादवले कम्पनीले दुई महिनाको छुट्टी दिएको थियो। तर दुई महिनाको लामो छुट्टीमा पनि दशैँ एक दिनले अट्न सकेन। “कम्पनीममा फोन गरेर बिदा लम्बाउन सकिन्छ कि ट्राइ गरेको हो नि, तर मिलेन, उनीहरुलाई हाम्रो दशैँको महत्व थाहा नभएर पनि हुनसक्छ”, उनले भने।

दशैँको अघिल्लो दिन विमानस्थलको भीडमा धनुषाका विनयकुमार यादव पनि भेटिए। विमान चढ्नुअघि सम्झनाका लागि केही थान तस्बिर लिँदै गरेका उनी पनि कामको सिलसिलामा साउदी अरब हिँडेका रहेछन्। महान पर्व दशैँका बीचमा परिवार र आफन्त छाड्नुपर्दाको पीडा उनको मनमा पनि गडेर बसेको छ।

“अरु दशैँमा घर आउँछन्, हामी दशैँमा छाड्नु परेको छ। यो हाम्रो बाध्यता भयो, यहाँ म जस्ता हजारौँको पीडा पनि उस्तै त होला भनेर चित्त बुझाएको छु”, उनले भने। उनले साउदी अरबमा मर्मतसम्बन्धी कम्पनीमा काम गरिरहेको बताए।

वैदेशिक रोजगारीका लागि दशैँ छाडेर कतार हिँडेका चितवनका अरुण रम्तेलको मन पनि निको छैन। प्लस टुमा होटल व्यवस्थापनको पढाइ पूरा गरेपछि उनी जागिर खोज्दै विदेश हिँडेका रहेछन्। बुबा मलेसियामै काम गरिरहनुभएकाले आफू पनि विदेश नै रोजेको उनले सुनाए।

आमा सम्झना रम्तेलले आँसु पुछ्दै विमानस्थलको टर्मिनलमा छोरालाई नेपालको झण्डा पहिराएर बिदाई गर्दा अरुणका पनि आँखा रसाए। रम्तेलले भने, “बाबा पनि विदेशतिरै हुनुहुन्छ, भाइको पढाइ र घरखर्चका लागि म पनि त्यतै जानुपर्ने भयो, भिसा र टिकटको काम सकिएपछि दशैँका लागि कुर्न सकिएन।”

त्यसैगरी लुम्बिनीका ओमप्रकाश चौबे वैदेशिक रोजगारीका लागि दुबईका लागि प्लेन चढ्नु अघि विमानस्थलको टर्मिनल मै भेटिए। केही समयअघि बिदा लिएर घर आएका चौबेले दशैँमा आफै मात्रै होइन भतिज अजय चौबेलाई पनि सँगै लैजादै हुनुहुन्थ्यो। अजय चौबेले कक्षा नौको पढाइलाई अधुरै छाडी विदेश हिँडेका रहेछन्।

नेपालगञ्जकी २४ वर्षीय रेखा खत्रीको पनि जापान जाने टिकट दशैँको अघिल्लो दिन नै परेछ। नेपालमा अध्ययन गरेपनि रोजगार नपाएपछि विदेशिन बाध्य भएको उनले सुनाइन्। “प्लस टु सकेर चार वर्ष कृषि विषय पढे तर केही पनि काम पाइन। अहिले डेढ वर्ष जापानिज भाषा पढेर जापान हिँडेकी छु”, उनले भनिन्।

जापान जाँदै गरेकी बहिनीलाई बिदाइ गर्न विमानस्थल पुगेका काठमाडौँ तारकेश्वरका इन्द्र रानामगरले टिकट नमिलेका कारण दशैँको मुखमा छुट्टिनु परेको दुःखेसो पोखे। “परिवारका सबै सदस्य सँगै बसेर दशैँको टीका लगाउन त मन थियो नि, परिस्थितिले त्यस्तै गर्यो, टिकट मिलाउनै सकिएन”, उनले भने।

महानवमीको दिन गाउँ तथा सहरमा दशैँ मनाइरहँदा उनीहरु जस्ता हजारौँले शुक्रबार पैसा कमाउनका लागि मुलुक छाडे। उनीहरुलाई बिदाइ गर्न विमानस्थलसम्म पुग्नेहरुका अधिकांशले भिजेका आँखाले बिदाइ गरेको दृश्य देखिन्थ्यो। रासस

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ५ : ५२ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज