धार्मिक पर्यटन प्रवर्द्धन गर्दै 'मनिथान' मन्दिर | Khabarhub Khabarhub

धार्मिक पर्यटन प्रवर्द्धन गर्दै ‘मनिथान’ मन्दिर


२८ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिका–३३ आँपु कसेरीस्थित मनिथान मन्दिर दुई सय वर्ष अघिदेखिको इतिहासको साक्षी हो ।

यस क्षेत्रमा बस्ती विकास हुँदादेखि नै स्थापित यस मन्दिरमा प्रत्येक वर्षको फागुपूर्णिमामा विशेष पूजा हुन्छ भने अन्य समयमा पनि भाकलका साथै सामान्य पूजाआजा हुने गरेको छ । फागुपूर्णिमामा स्थानीयले सामूहिक रूपमा पञ्चबलिसहित विशेष पूजा गर्ने गरेका छन् ।

यहाँबाट देखिने पोखरा र लेखनाथ क्षेत्रका ताल तथा पोखरा उपत्यका क्षेत्रको सुन्दर दृष्यले जोकोहीलाई लोभ्याउने गरेको मनिथान संरक्षण समितिका सल्लाहकार शिवबहादुर थापाले बताए । मन्दिर परिसरबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्णलगायत आधा दर्जन हिमाल एकैसाथ अवलोकन गर्न सकिने उनले जानकारी दिए ।

यहाँ आसपास क्षेत्रका चण्डी देउराली, कोटभैरव, कण्ठदेवी मन्दिर पनि धार्मिक महत्वका तीर्थस्थल हुन् । पृथ्वी राजमार्गका विभिन्न स्थानका साथै सेती नदी, रुपाकोट, पुम्दी तथा नवलपुरका देवचुली, बरचुलीलगायत मनोरम दृश्य यहाँबाट देख्न सकिन्छ । त्यस्तै लामेआहाल, कालिका मन्दिर, हेल्मेट डाँडालगायत स्थानका दृश्य पनि यहाँबाट अवलोकन गर्न सकिन्छ ।

मन्दिर वरपरको करिब ३० रोपनी क्षेत्रफलमा विभिन्न पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् । मनिथानको पुरानो मन्दिर नजिकै दुई वर्षअघि नयाँ मन्दिर स्थापना गरिएको छ । यहाँस्थित पुरानो मन्दिरमा शिलाका साथै मौलामा नै पूजा गर्ने गरिएको र नयाँ मन्दिरमा मुक्तिनाथकै स्वरूपमा भगवान् विष्णु एवं लक्ष्मीको मूर्ति स्थापना गरिएको थापाले जानकारी दिए ।

उनका अनुसार मन्दिर परिसरमा तीन वटा वनभोज स्थल (पिकनिक स्पट), खेल मैदान, शौचालय, प्रतिक्षालयलगायत संरचना निर्माण गरिएका छन् । यी संरचना निर्माणमा स्थानीय सरकारसँगै चन्दादाता तथा सहयोगीबाट प्राप्त करिब ५० लाख खर्च भएको सल्लाहकार थापाले बताए । ‘अब यहाँको धार्मिक पर्यटकीय महत्वलाई प्रचारप्रसार, मन्दिरसम्म पुुग्ने बाटोलाई थप व्यवस्थित एवं खानेपानीको सुविधालाई सहज बनाउन सबैको साथ र सहयोग आवश्यक छ’, उनले भने ।

मन्दिरको संरक्षणमा यहाँका गुुरुङ समुदायले विशेष सक्रियता देखाएका छन् भने अन्य स्थानीय जनसमुदायले पनि यसको प्रवर्द्धन र विकासमा योगदान गर्दै आएका छन् । उच्च भूूभाग भएकाले यहाँ लालीगुराँस, विभिन्न प्रजातिका वनस्पति तथा जडीबुटीहरूसमेत पाइन्छन् ।

मोटरबाटोमार्फत मन्दिरसम्म पुग्नका लागि छप्ल्याङ, ठूलोपाखा, मुहानखोला स्कुल, जौबारी, देउराली डाँडा, चिसापानी, कसेरी, आँपु हुँदै मनिथान पुग्ने बाटो रहेको छ भने अर्को लामगादीबाट आँपुभञ्ज्याङ हुँदै पनि यहाँ आउन सकिन्छ ।

एकदिवसीय हाइकिङका लागि पनि उपयुक्त गन्तव्यका रुपमा विकास गर्न सकिने यो ठाउँ छोटो दूरीमा हिँड्न चाहनेका लागि रोजाइमा पर्नसक्ने भएकाले प्रचारप्रसारमा जोड दिनुपर्ने पोखरा महानगरपालिका–३२ बेलबुटेका युवा हरिष्चन्द्र पौडेलले बताए ।

यहाँको लामेआहालको झोलुङ्गे पुलहुँदै पुणिटार–लामगादी सडकको लामगादीबाट भालुढुङ्गा खेत, सामुदायिक बनको सालघारी बाटो, चिसापानी, मन्दलीको थान, कसेरी गाउँ हुँदै मनिथानसम्म पदयात्रामार्फत पुग्न सकिन्छ ।

स्थानीय नवराज घमिरेले पोखराको व्यस्त दैनिकीबाट केही समयका लागि मुक्ति चाहनेहरूले करिब चार घण्टाको पैदल यात्रामै यहाँ पुगेर दृश्यावलोकन गर्न सक्ने अनुभव सुनाए ।

पोखरा पर्यटन राजधानी घोषणा भइसकेको अवस्थामा बृहत् पोखराको अवधारणाका साथ आसपासका गन्तव्य प्रवर्द्धन र विकास गर्नसकेमा पर्यटकको बसाइँ अवधि लम्ब्याउन सकिने घिमिरेले बताए । 

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ११ : २१ बजे

उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोगको पहिलो

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

११ महिनामा सात अर्ब ८१ करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा सात

विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै

धनगढी– बाजुराको बडीमालिका नगरपालिका– २ स्थित सत्यवादी माध्यामिक विद्यालयले सुरु गरेको

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी