म्याग्दी– शदर यामको सुरवात र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश । अग्ला र नाङ्गा डाँडाको पृष्ठभूमिमा जता हेरे पनि देखिने हिमशृङ्खला । हिमाली बुकीको चरन खर्कबाट बेशी झर्दै गरेका चौरी, याक, भेडाच्याङग्रा र घोडाका बथान ।
विविधतायुक्त भूगोल, संस्कृति, प्रकृतिको सङ्गम र साहासिक मानिने थोराङ्ला झञ्ज्याङको पदयात्राको आकर्षण हो । थोराङ्ला झञ्ज्याङ समुन्द्री सतहदेखि पाँच हजार चार सय १६ मिटर उचाइमा छ ।
गण्डकी प्रदेशको लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्ला समेटिएको अन्नपूर्ण चक्रीय पदमार्गको सबैभन्दा उच्च स्थानमा रहेकाले थोराङ्लालाई साहासिक गन्तव्यका रुपमा लिइन्छ ।
शरद यामको सुरुवातसँगै मनाङदेखि थोराङ्ला झञ्ज्याङ पार गरेर मुस्ताङतर्फ जाने आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढेको उपल्लो मनाङका होटल व्यवसायी समेत रहेका जिल्ला समन्वय समिति मनाङका सदस्य घ्याचो गुरुङले बताए ।
‘थोराङ्ला र तिलिचो ताल घुम्न आउने मुख्य याम शरद र वसन्त नै हो’, उनले भने, ‘पहिले पथप्रर्दशक र भरिया बाहेक अधिकांश विदेशी पर्यटक मात्र आउने थोराङ्ला पदयात्रा पछिल्लो समय नेपालीहरुको पनि रोजाइमा परेको छ ।’
दशैँ र तिहारको बिदामा थोराङ्ला र तिलिचो घुम्नका लागि देशका विभिन्न ठाउँबाट कर्मचारी, व्यापारी, विद्यार्थीहरुको टोली आउने क्रम बढेको गुरुङले बताए । सडक यातायात, आवास तथा होटलको व्यवस्था, पदमार्गको स्तरोन्नति, सञ्चार सुविधा विस्तार, डिजिटल मार्केटिङ र भ्रमणसम्बन्धी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले घुम्नैपर्ने गन्तव्यमा सूचीकृत गरेका कारण अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आकर्षण बढेको हो ।
मनाङदेखि थोराङ्ला हुँदै मुस्ताङ भ्रमण गरेर फर्किएकी काठमाडौंकी जुली श्रेष्ठले मनमोहक हिमशृङ्खला, विविधतायुक्त भूगोल, संस्कृति, रहनहसन, धार्मिक तथा वस्तुकला अवलोकन गर्न पाउँदा रमाइलो महसुस भएको अनुभव सुनाए । यात्रामा अन्नपूर्ण प्रथम द्वितीय र चौथो धौलागिरिको साथै माछापुछ्रे, मनास्लु गङ्गपूर्ण तिलिचो चुचुरो अन्य हिमाल देख्न सकिन्छ ।
‘तिलिचो यात्रा हुँदै थोरङ्ला पास गरेर मुक्तिनाथ झर्नु साहसिक यात्रा हो’, श्रेष्ठले भने, ‘अन्नपूर्ण सर्किटमा थोरङला सबैभन्दा उच्च स्थान भएकाले जोखिमपूर्ण पनि छ ।’ चामेदेखि पाँच दिनको यात्रा गरेर थोराङ्ला हुँदै मुस्ताङको मुक्तिनाथ झर्न सकिन्छ । लामो अवधिको पदयात्रा गर्न चाहनेले लमजुङको बेशीसहरदेखि नै यात्रा सुरु गर्न सक्छन् ।
धेरैजसो पदयात्रीहरु गाडीबाट चामे पुगेर त्यहाँदेखि हिँड्ने गर्छन् । चामेबाट अपर पिसाङ र मनाङमा बास बस्ने गर्छन् । यहाँ बास बरेर पदयात्रीहरुले शरीरलाई त्यहाँको वातावरणसँग अनुकूलता मिलाउन सकिन्छ ।
माथिल्लो मनाङदेखि करिब चार घण्टाको पैदलयात्रा गरेर चार हजार ३६ मिटर उचाइको याकखर्क पुगिन्छ । छिनछिनमा बादल र घाम लाग्ने याकखर्कमा चौरीगाईको खर्क छन् । यहाँ इन्टरनेट सुविधा भएका होटल र लज पनि छन् ।
याकखर्कदेखि सात दशमलब तीन किलोमिटर यात्रा गरेपछि समुन्द्री सतहदेखि चार हजार चार सय ५० मिटर उचाइमा रहेको थोराङ्ला फेदीमा पुगिन्छ । थोराङ्ला फेदीदेखि चारदेखि पाँच घण्टा यात्रा गरेपछि चार हजार आठ सय छ मिटर उचाइको थोराङ्ला हाइक्यापमा पुगिन्छ ।
होटलहरुको सुविधा भएको हाइक्यापमा बास बसेका पर्यटकहरु बिहान उज्यालो नहुँदै थोराङ्लातर्फको यात्रामा निस्कन्छन् । दिउँसो हावाहुरी चल्ने र मौसम खराब हुने भएकाले बिहानै थोराङ्ला पुग्नका लागि रातिनै यात्रा गर्नुपर्ने पथप्रर्दशक सन्देश अधिकारीले बताए ।
हाइक्याम्पदेखि थोराङ्ला हुँदै करिब १३ घण्टाको यात्रा गरेपछि तीन हजार सात सय ६२ मिटर उचाइमा अवस्थित मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुक्तिनाथमा पुगिन्छ ।
सन् १९७० मा पदयात्राका लागि खुल्ला गरिएको थोराङ्लामा पछिल्लो समय विदेशीसँगै नेपाली पर्यटकहरु पनि आकर्षित भएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०८०–८१ मा १३ हजार नौ सय १० जना विदेशी पर्यटकले थोराङ्ला पास गरेर मनाङ हुँदै मुस्ताङ आएका थिए । उक्त आर्थिक वर्षको साउनदेखि असोजसम्म दुई हजार दुई सय ४२ जनाले थोराङ्ला पार गरेका थिए ।
चालु आर्थिक वर्षको असोज तेस्रो हप्तासम्म थोराङ्ला पार गरेर मुस्ताङ आउने पर्यटकको सङ्ख्या एक हजार सात सय ८१ जना रहेको एक्याप जोमसोमका प्रमुख रेग्मीले बताए ।
अन्य ठाउँमा सडकका कारण पदमार्गहरु विस्थापित भएपनि थोराङ्लामा सडक पुग्ने सम्भावना नरहेकाले यसको दीर्घकालीन पर्यटकीय सम्भावना रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङको भनाइ छ ।
उनले गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले थोराङ्लादेखि मुक्तिनाथ झर्ने मुस्ताङ तर्फको पदमार्ग स्तरोन्नति गरिरहेको बताए ।
प्रतिक्रिया