त्रैमासिक समीक्षा : आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित « Khabarhub

त्रैमासिक समीक्षा : आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित


२४ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिदर (जिडिपी) तीन दशमलव चार प्रतिशतमा खुम्चिएको छ । गत असोजको  बाढीपहिरो र निर्माण क्षेत्रको नकारात्मक वृद्धिले आर्थिक वृद्धिदर सङ्कुचित भएको हो । 

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएकामा तीन दशमलव चार प्रतिशत मात्र हासिल भएको हो  । अर्थतन्त्रमा योगदान गर्ने विभिन्न १८ क्षेत्रमध्ये १७ वटाको वृद्धिदर धनात्मक छ भने निर्माण क्षेत्रको वृद्धिदर भने ऋणात्मक छ । 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत् तथा ग्याससँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै छ । यो क्षेत्र २१ दशमलव चार प्रतिशतले बढेको छ । यातायात तथा गोदाम क्षेत्र छ दशमलव सात प्रतिशत योगदान रहेको छ ।

पहिलो त्रैमासमा आवास तथा भोजन सेवा क्षेत्र छ दशमलव तीन, वित्तीय तथा बीमा क्षेत्र पाँच दशमलव सात, प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर पाँच दशमलव चार र पेशागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।

चालु आवको प्रथम त्रैमासिकमा निर्माणजन्य वस्तुको आयातमा आएको गिरावटका कारण निर्माण क्षेत्र झिनो अङ्कले सङ्कुचनमा रहेको अनुमान छ । निर्माण क्षेत्र शून्य दशमलव तीन प्रतिशतले नकारात्मक रहेको छ ।

अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर तीन प्रतिशत हुने अनुमान छ । धानलगायतका वर्खे बालीको उत्पादनमा वृद्धि हुनुका साथै तरकारी तथा नगदेबाली र पशुपक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको जनाइएको छ । 

समयमा मलको उपलब्धता, उन्नत बीउको प्रयोग, तथा यथेष्ट मनसुनी वर्षाका कारण कृषिजन्य उत्पादनमा वृद्धि हुने अपेक्षा गरिए पनि बाढी र पहिरोका कारण कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन नसकेको हो ।

अर्थतन्त्रको दोस्रो ठुलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्र पहिलो त्रैमासमा शून्य दशमलव पाँच प्रतिशतले मात्र वृद्धि हुने  अनुमान छ । कृषि तथा व्यापारजन्य वस्तुको स्वदेशी उत्पादनमा भएको सामान्य वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको सामान्य वृद्धिका कारणले गर्दा व्यापार क्षेत्रको वृद्धि धनात्मक दिशा उन्मुख भएको कार्यालयले जनाएको छ ।

समीक्षा अवधिमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर दुई दशमलव तीन, शिक्षा क्षेत्र शून्य दशमलव चार, स्वास्थ्य क्षेत्र चार दशमलव एक र घरजग्गा कारोबार क्षेत्र तीन दशमलव एक प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

‘अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि, विद्युत् उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कूल मूल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेका छन् । यसका अतिरिक्त यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको हो’, कार्यालयले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ३ : १२ बजे

मतदातालाई निर्वाचन आयोगको आह्वान- निर्धक्क भएर मतदानमा सहभागी भइदिनुस्

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री

दिनभित्र स्पष्टीकरण बुझाउने गरी छुटे सिरहा-३ का उम्मेदवार अशेश्वर

काठमाडौं– मौन अवधिमा शंकास्पद वस्तुसहित पक्राउ परेका जनता समाजवादी पार्टी

जैमिनीमा कृषि संकलन केन्द्र निर्माण

गलकोट – स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने उद्देश्यले जैमिनी नगरपालिका-३ दमेकमा

गस्तीमा सेनाको हेलिकप्टरले नपुग्दा अन्य कम्पनीको प्रयोग गरिने

काठमाडौं– सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि हेलिकप्टर गस्ती गर्दा सेनाको हेलिकप्टरले